१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ बैशाख २७ मंगलबार १०:२४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

१६ जीवन बिमा र १५ निर्जीवन बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने प्रावधान ल्याएपछि कम्पनीहरूमाथि दबाब ल तोकेको पुँजी पुर्‍याउन बिमा कम्पनीहरूलाई कठिन

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ बैशाख २७ मंगलबार १०:२४:००

बिमा समितिले तोकेको पुँजी वृद्धि गर्न नेपालमा सञ्चालित अधिकांश जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूलाई कठिन देखिएको छ । सोही कारण समितिले कम्पनीहरूलाई पुँजी वृद्धिका लागि मर्जरमा जान पहिलो प्राथमिकता दिएको छ । समितिका अनुसार दोस्रो विकल्पका रूपमा लगानीकर्ता आफैँले क्यापिटल इन्जेक्ट गर्न सक्नेछन् । नेपालमा बिमा कम्पनीहरूको संख्या धेरै भएपछि मर्जरमा जान समितिले आग्रह गरेको छ । मर्जर निर्देशिकामार्फत विभिन्न छुटको समेत व्यवस्था गरेको छ । यद्यपि, मर्जरमा जान कम्पनीहरूले त्यति उत्साह देखाएका छैनन् । 

 १६ जीवन बिमा कम्पनीलाई पुँजी वृद्धिको सकस 
नेपालमा सञ्चालित नयाँ जीवन बिमा कम्पनीलाई पुँजी वृद्धिको सकस परेको छ । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने प्रावधान ल्याएपछि कम्पनीहरूलाई दबाब परेको हो । समितिले ०७९ असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । अहिले जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब पुँजी तोकिएको छ । 

नयाँ कम्पनीहरूले यसअघिको व्यवस्थाअनुसार दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने लक्ष्य राखेका थिए । सोही कारण पब्लिक सेयर निष्कासन नगरेका केही कम्पनीहरूको दुई अर्ब चुक्ता पुँजी पनि पुगेको छैन । नयाँ कम्पनीहरूमध्ये युनियन लाइफ इन्स्योरेन्सको दुई अर्ब १५ करोड र ज्योति लाइफ इन्स्योरेन्सको दुई अर्ब २० करोड, रिलायन्स कम्पनीको दुई अर्ब १० करोड पुँजी रहेको छ ।

बिमा समितिको चालू आर्थिक वर्ष ०७८/७९ को दोस्रो त्रैमासिक विवरणअनुसार राष्ट्रिय बिमा संस्थानको १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । समितिले तोकेको पुँजी कायम गर्न सो कम्पनीले चार अर्ब ८२ करोड रुपैयाँ अपुग छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको एक अर्ब ४० करोड चुक्ता पुँजी छ । यो कम्पनीको पुँजीमा तीन अर्ब ६० करोड रुपैयाँ अपुग छ । सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ, महालक्ष्मी जीवन बिमाको पनि एक अर्ब ४० करोड चुक्ता पुँजी छ । सिटिजन्स लाइफ इन्स्योेरेन्सको भने एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी छ । समितिका अनुसार दुई अर्ब हाराहारीमा पुँजी रहेका कम्पनीहरूलाई मर्जरको दबाब छ । 

त्यस्तै, पुराना जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले तोकिएको पुँजी कायम गरिसकेको छ । कम्पनीको सात अर्ब १९ करोड पुँजी रहेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको भने तीन अर्ब ३९ करोड रुपैयाँ पुँजी छ । यो कम्पनीको पुँजी समितिले तोकिएको नजिक रहेकाले कम्पनीले क्यापिटल इन्जेक्ट गर्न सक्ने देखिएको छ । त्यस्तै विदेशी कम्पनी मेट लाइफले पनि क्यापिटल इन्जेक्ट गरेर पुँजी वृद्धि गर्ने जनाएको छ । तर, लाइफ इन्स्योरेन्स कर्पोरेसनको दुई अर्ब २१ करोड, सूर्या लाइफ इन्स्योरेन्सको दुई अर्ब ५५ करोड, प्राइम लाइफ इन्स्योरेन्सको दुई अर्ब ७७ करोड चुक्ता पुँजी रहेको छ । तसर्थ, यी कम्पनीहरूलाई मर्जरका लागि दबाब छ । 

 २० निर्जीवनमध्ये १५ लाई दबाब
 २० वटा निर्जीवन बिमा कम्पनीमध्ये १५ वटा कम्पनीलाई मर्जरको दबाब रहेको छ ।  ओरियन्टल र नेसनल इन्स्योरेन्स विदेशी कम्पनीका शाखा कार्यालय हुन् । तसर्थ, यी कम्पनीहरूलाई समितिले असाइन क्यापिटल तोकेको छ । त्यस्तै, हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरका लागि पहिलो चरणको सहमति भएको छ । कम्पनीहरूले बिमा समितिबाट पनि अनुमति पाइसकेका छन् । शिखर इन्स्योरेन्सले पनि तोकिएको पुँजी कायम गरिसकेको छ । बाँकी १५ कम्पनीहरूको पुँजी ज्यादै कम भएकाले मर्जरको विकल्प नरहेको देखिन्छ ।

 निर्जीवन बिमा कम्पनीतर्फ राष्ट्रिय बिमा कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, अजोड, सानिमा इन्स्योरेन्सलाई मर्जरको प्रेसर छ । यी कम्पनीमध्ये राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा कम २६ करोड ६६ लाख चुक्ता पुँजी रहेको छ । समितिले तोकेको पुँजी कायम गर्न दुई अर्ब २५ करोड रुपैयाँ थप गर्नुपर्नेछ । सानिमा, अजोड र जनरल इन्स्योरेन्स कम्पनीको भने एक–एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । यी कम्पनीहरूले एक अर्ब ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । 

युनाइटेड इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँ पुँजी कायम छ । प्रिमियर इन्स्योरेन्सको एक अर्ब सात करोड, नेको इन्स्योरेन्सको एक अर्ब ५२ करोड, सगरमाथाको एक अर्ब ११ करोड, आइएमई जनरल इन्स्योरेन्सको एक अर्ब १५ करोड, प्रभु जनरल कम्पनीको एक अर्ब १६ करोड, प्रुडेन्सियलको एक अर्ब १० करोड, लुम्बिनीको एक अर्ब १९ करोड, एनएलजीको एक अर्ब २० करोड, सिद्धार्थको एक अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

 हकप्रद सेयर वितरणमा रोक, समय थप नगरिने
बिमा समितिले तोकेको चुक्ता पुँजी कायम गर्न शतप्रतिशत हकप्रद वितरण गर्न प्रतिबन्ध लगाएको छ । अब पुँजी वृद्धिका लागि समय पनि थप नहुने समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार कम्पनीहरूले तोकिएको समयमा नै पुँजी वृद्धि गर्नुपर्नेछ । समितिले दिएको निर्देशनअनुसार कम्पनीहरूले पुँजी वृद्धि योजना बुझाइसकेका छन् । अधिकांश कम्पनीले हकप्रद र बोनस सेयरलाई प्राथमिकता दिएका छन् । पौडेलका अनुसार जीवनमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले तोकिएको चुक्ता पुँजी कायम गरिसकेका छन् ।

 बिमा समितिको लक्ष्यअनुरूप हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले मर्जरका लागि सहमति गरेका छन् । गत शुक्रबार नै समितिबाट स्वीकृतिसमेत पाइसकेका छन् । नेपालमा बिमा कम्पनीहरूबीच मर्जर गर्ने यो पहिलो हो । बिमा समितिको तथ्यांकअनुसार एभरेस्ट इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी छ भने हिमालयन जनरल इन्स्योरेन्सको एक अर्ब १० करोड छ । मर्जरपछि कम्पनीको पुँजी दुई अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । अर्थात्, समितिले तोकेको पुँजी अझै पुग्नेछैन । मर्जरपछि कम्पनीका चार सय कर्मचारी र ६० भन्दा बढी शाखा कार्यालय हुनेछन् ।