मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २५ आइतबार o९:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका उम्मेदवारका घोषणापत्रमा फोहोर व्यवस्थापनका मुद्दा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार o९:२६:oo

काठमाडौंका उम्मेदवारका यस्ता छन् प्रतिबद्धता

कांग्रेस
काठमाडौं र ललितपुर महानगरपालिकामा क्रियाशील मुख्य दलका घोषणापत्रमा फोहोरमैला व्यवस्थापनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । काठमाडौं महानगरमा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह छिन् । उनले आफ्नो सात संकल्पमध्ये तेस्रो बुँदामा स्वच्छ, सफा र दिगो पर्यावरण शीर्षकमा काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने उल्लेख गरेकी छन् । जसमा पिउनयोग्य पानी, श्वास फेर्नयोग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उल्लेख गरेकी छन् । 

१. काठमाडौं महानगरलाई फोहोरविहीन नगरपालिका बनाउनेछु ।

२. पिउनयोग्य पानीको व्यवस्था गर्नेछु । 

३. सार्वजनिक, खुला स्थानको विस्तार गर्ने । 

४. पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण गर्न

एमाले
एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो चुनावी घोषणापत्रमा फोहोरमैला व्यवस्थापन तथा वातावरणीय प्रवद्र्धन शीर्षकमा फोहोर व्यवस्थापनबारे उल्लेख गरेका छन् । उनले यसबारे विभिन्न नारा नै तय गरेका छन् ।

१. काठमाडौंको फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रसँग परियोजना विकास सम्झौता गरी आगामी आर्थिक वर्षको सुरुदेखि यस परियोजनालाई कार्यान्वयनमा लगिनेछ । फोहोरमैलाबाट ऊर्जा उत्पादन गरी काठमाडौंको फोहोरमैला दीर्घकालीन रूपमा समाधान गरिनेछ । 

२. घरधुरीस्तरमै फोहोरमैला वर्गीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । 

३. काठमाडौं उपत्यकाको सहरी पारिस्थितिकीय प्रणाली तथा जैविक विविधिताको संरक्षण संवद्र्धनमा अध्ययन, अनुसन्धान तथा कार्यक्रम सञ्चालन गरिनेछ । जलवायु परिवर्तनले गर्ने असरप्रति जनचेतना अभिवृद्धि गरिनेछ । 

४. काठमाडौंलाई खाद्य हरित सहरको रूपमा विकास गरिनेछ । यसका लागि सार्वजनिक स्थल, पार्क, सडक किनारको जग्गा व्यापक प्रयोग गरिनेछ । सामुदायिक विद्यालयमा हरित विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ । 

५. बढी घुइँचो हुने सार्वजनिक स्थलमा आवश्यकताअनुसार सुविधासम्पन्न र वातावरणमैत्री ६० वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ । 

६. स्वच्छ हावा स्वस्थ जीवनलाई साकार पार्न, हरियाली प्रवद्र्धनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्न अन्तर्राष्ट्रिय संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

७. ब्याट्रीयुक्त विद्युतीय यातायातको प्रवर्द्धन गरिनेछ । 

विवेकशील साझा
विवेकशील साझाबाट मेयरकी उम्मेदार समीक्षा बाँस्कोटाले आफ्नो प्रतिबद्धतापत्रको छैटौँ नम्बरमा सफा र व्यवस्थित काठमाडौं शीर्षकमा १० बुँदे प्रतिज्ञा उल्लेख गरेकी छन् । जसमा पहिलो तीन बुँदामा फोहोरमैला व्यवस्थापन गर्न गरिने कार्य उल्लेख छ ।

१. काठमाडौं उपत्यकामा विकराल बनेको वायु प्रदूषण नियन्त्रण गरी महानगरवासीको स्वास्थ्यमा सुधार ल्याउन महानगरले नेपाल सरकारद्वारा स्वीकृत काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ कार्यान्वयन गर्न योजना बनाई काम अगाडि बढाइनेछ । 

२. कुहिने र नकुहिने फोहोरलाई घरघरबाटै अलग–अलग दिन संकलन गरी कुहिने फोहोरबाट जैविक मल बनाइनेछ र नकुहिने फोहोरलाई सम्भव भएसम्म पुनः प्रयोग गरिनेछ । उक्त कार्यका लागि निजी क्षेत्रसँग सहकार्य गरिनेछ । 

३. पुनः प्रयोग गर्न नमिल्ने फोहोरलाई मात्र ल्यान्डफिल्ड साइटको स्थायी समाधान उच्च प्राथमिकताका साथ गरिनेछ ।

बालेन शाह
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्रको नवौँ बुँदामा फोहोर व्यवस्थापनबारे उल्लेख गरेका छन् । 

१. अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरिनेछ । 

२. काठमाडौं महानगरनजिकै इन्सिनरेटर जडान गरी उच्चस्तरीय प्रविधिले फोहोर व्यवस्थापन गरिनेछ । 

३. अर्गानिक फोहोरलाई प्रांगारिक मलमा परिणत गरी नजिकको कृषिप्रधान जिल्लाहरूमा बिक्री गरिनेछ । 

४. काठमाडौं महानगरिपालिकाभित्रको सडकमा कालोपत्रे गर्दा प्लास्टिकजन्य फोहोरसँग आस्फल्ट मिसाएर गरिनेछ । 

५. कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमताअनुसार व्यवस्थापन गरिनेछ ।

ललितपुरका उम्मेदवारका यस्ता छन् फोहोर व्यवस्थापनका प्रतिबद्धता

ललितपुर महानगरपालिकामा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँचदलीय गठबन्धन बनेको छ । गठबन्धनबाट मेयरका उम्मेदवार छन्, चिरिबाबु महर्जन । उनले आफ्नो घोषणापत्रको फोहोर व्यवस्थापन शीर्षकमा नौ बुँदा उल्लेख गरेका छन् । यही शीर्षकमा साँघुरा गल्लीभित्र रहेका घरमा हुन सक्ने आगलागीजस्ता विपद्को पूर्वतयारी गर्दै पोर्टेबल दमकलको व्यवस्था गर्नेसमेत उल्लेख गरिएको छ । 

१. फोहोर व्यवस्थापनका लागि फोहोर कम उत्पादन गर्ने, पुनः प्रयोग गर्ने र पुनः प्रयोग गर्ने अर्थात् थ्री आरलाई अभियानका रूपमा सञ्चालन गर्नेछौँ ।
२. प्लास्टिकको झोलामुक्त सहर निर्माणका लागि महानगरपालिकाभित्र भएका महिला समूहद्वारा उत्पादित कागज र कपडाको झोला प्रयोगलाई प्रोत्साहित गर्नेछौँ । 
३. अस्पताल, विद्यालय र सार्वजनिक स्थानमा प्लास्टिकको झोला प्रयोगलाई निषेध गर्नेछौँ । 
४. पर्यावरण जोगाउन नागरिक र समुदायस्तरमा चेतनामूलक अभियान सञ्चालन गर्नेछौँ ।
५. सार्वजनिक स्थानमा आमा समूह, महिला समूहलाई वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नेछौँ । 
६. महानगरभित्र रहेका सामुदायिक र निजी विद्यालयले विद्यालयवरपर रहेका खुला स्थानमा वर्षको दुईपटक वृक्षारोपण र सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनेछौँ । 
७. पेट्रोल र डिजेलको धुवाँले फैलाउने प्रदूषण नियन्त्रणका लागि विद्युतीय बसहरूलाई महानगर भित्र्याउन सरोकारवाला संघसंस्थाहरूसँग सहकार्य गर्नेछौँ । 

- एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलको गठबन्धनको साझा उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले आफ्नो प्रतिबद्धतापत्रमा नि:शुल्क फोहोर संकलन, निजी, समुदाय एवं पालिका साझेदारी फोहोरबाट मोहोर कार्यक्रम सञ्चालन, फोहोर वर्गीकरण नीतिमा कडाइ गरिने उल्लेख गरेका छन् ।