![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/namuna2022-05-07-08-21-53.jpeg)
रुकुम पूर्वमा नमुना मतदान भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हुन सक्ने मत बदरलाई कम गर्ने उदेश्यले नमुना मतदान कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ को त्रिभुवन जनता मावि छिप्रिदहमा संचालन भएको नमूना मतदानमा ४० मत खसेको थियो । जसमध्येमा एउटा मत बदर भएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताए । यो कुल मतको २ दशमलव ५ प्रतिशत हो । वास्तविक मतदान जसरी हुन्छ त्यसैगरी नै नमुना मतदान सञ्चालन गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । नमुना मतदानबाट मतदाताले मत हाल्ने तरिकाका बारेमा जानकारी लिनुका साथै मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरु मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकार भएको जिल्ला निर्वाचन अधिकारी ओलीको भनाई छ ।