१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नवराज मैनाली काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वन्यजन्तुसम्बन्धी गम्भीर अपराधका अभियुक्त धरौटीमा छुटे 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo

वर्षाैंको मिहिनेतपछि पक्राउ गरी १५ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा दायर अभियुक्त अदालतको आदेशमा छुटेपछि अनुसन्धान अधिकारीहरू असन्तुष्ट 

हात्तीको दाह्रा चोरीसिकारीजस्तो वन्यजन्तुसम्बन्धी गम्भीर प्रकृतिको अपराधमा संलग्न अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । १५ वर्षसम्म कैद सजाय हुने मागदाबी रहेको मुद्दाका तीन अभिुक्तलाई जिल्ला अदालत काठमाडौंले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो । यस्तो मुद्दाका अभियुक्तलाई विगतमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदै आएको थियो । 

डेढ महिनाअघि काठमाडौंमा हात्तीको दाह्रासहित पक्राउ परेका रमेश सुवेदी, भक्तिबहादुर लिम्बु र अशोक कार्कीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश चाणकमणि अर्यालले यस्तो आदेश दिएका हुन् । अदालतको यस्तो आदेशप्रति सरकारी वकिल, डिभिजनल वन कार्यालयका अधिकारी तथा प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । तीन वर्षभन्दा धेरै कैद सजाय माग भएका गम्भीर प्रकृतिका मुद्दाका प्रतिवादीलाई सामान्यतया अदालतले थुनामा पठाउने गरेको छ । अझ वन्यजन्तुसम्बन्धी अपराधका अभियुक्तको हकमा त सधैँ पुर्पक्षमा पठाउने गरिएको छ । 

गत २७ फागुनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महाराजगन्जको होटेल ओदानबाट हात्तीको दाह्रासहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यसमा सातजनाको गिरोह रहेको पत्ता लाग्यो । जसअनुसार उनीहरूमाथि विस्तृत अनुसन्धान गरी डिभिजनल वन कार्यालय, काठमाडौंले १२ वैशाखमा १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना सजायको माग गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले सुवेदी र लिम्बुलाई १०–१० लाख तथा कार्कीलाई सात लाख रुपैयाँ धरौटी माग गरेको हो । लिम्बू र कार्की बिहीबार नै धरौटी राखेर छुटेका छन् भने सुवेदी धरौटी राख्न नसक्दा थुनामा छन् । 

पक्राउ परेको हात्तीको दाह्रा सक्कली नै भएको र उनीहरूले वन कार्यालयदेखि अदालतसम्म साबिती बयान मात्र दिएका थिएनन्, गिरोहका अन्य सदस्यको बारेमा समेत खुलाएका थिए । तर पनि अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि अनुसन्धानमा आबद्ध अधिकारीहरू असन्तुष्ट बनेका छन् । पक्राउ परेका लिम्बु झापाबाट हात्तीको दाह्राको कारोबारका लागि काठमाडौं आएका थिए । पेसाले शिक्षक रहेका सुवेदीले काठमाडौंमा बिक्री गराउने भूमिका खेलेका थिए । कार्की भने गिरोहका सहयोगी तथा चालकको भूमिकामा थिए । तीनैजना एकैपटक होटेलमा पक्राउ परेका हुन् । कार्कीले भने आफ्नो गाडी भाडामा प्रयोग भएको र कारोबारबारे केही जानकारी नभएको बताएका छन् । अन्य दुईले भने आर्थिक प्रलोभनमा आफूहरू कारोबारमा लागेको बताएका थिए ।

उनीहरूले बयानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिको एक होटेलमा चन्द्र भट्टराई र राजन लिम्बुले आफूहरूलाई सो दाह्रा दिएको खुलाएका थिए । भट्टराई र लिम्बु उनीहरू पक्राउ परेलगत्तै फरार भएका थिए । फरार प्रतिवादीका रूपमा उनीहरूविरुद्ध समेत मुद्दा दायर गरेको छ । अनुसन्धान सुरु भएलगत्तै उनीहरू फरार हुनुले पनि उनीहरू पेसेवर आपराधिक समूहका व्यक्ति भएको प्रहरी निष्कर्ष छ ।

झापामा मारिएका दुई हात्तीमा सोही गिरोह संलग्न रहेको अनुमान
वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) अनुसारको सजायको माग गरी सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सो दफाअनुसार अभियुक्तलाई १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो । ‘गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा र गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने–दिने तथा गैँडाको खाग, कस्तुरीको बिना, हिउँ चितुवाको छाला, त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ दफामा उल्लेख छ । 

यो दफाअनुसार संरक्षित वन्यजन्तुको आखेटोपहारको कारोबार गर्नेहरूविरुद्ध यसअघि दायर मुद्दामा सबैजसोमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको, तर यसपटक धरौटीमा छाड्ने आदेश भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार गुप्ताले बताए । ‘पक्राउ परेका दुई अभियुक्तले आर्थिक प्रलोभनमा परेर आफूहरूले हात्तीको दाह्राको कारोबारमा लागेको भनेर स्विकारेका थिए,’ उनले भने, ‘उनीहरूले गिरोहका अन्य व्यक्तिबारे समेत खुलाएको अवस्था छ, तर पनि के आधारमा धरौटीमा छाड्ने आदेश भयो, बुझ्दै छौँ ।’ 

सो समूहले हात्ती मारेको हुन सक्ने प्रहरी अनुमान छ । ०७४ मा झापाको पाँचपोखरी सामुदायिक वनमा केही समयको अन्तरमा दुईवटा हात्ती मारेर दाह्रा निकालिएको थियो । जुन घटनाको निरन्तर अनुसन्धान गर्ने क्रममा सिआइबीले सो टोलीलाई पक्राउ गरेको हो । ‘हामीले भारतीय पक्षसँग समेत यो घटनाको अनुसन्धानमा बारम्बार सहकार्य गरेका थियौँ,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘त्यतिवेला हात्ती मार्ने गिरोह यही हो भन्ने हाम्रो निष्कर्ष भएकाले निकै गहन रूपमा अनुसन्धान गरेका थियौँ ।’ तर, यस्तो गम्भीर मुद्दाका अभियुक्त धरौटीमा छुटेपछि गिरोहका अन्य सदस्यलाई समेत भाग्न सहज हुने र उनीहरू फेरि यस्तै अपराधमा लाग्न सक्ने प्रहरी चिन्ता छ । महँगो हुने भएकाले हात्तीको दाह्राको अन्तर्राष्ट्रिय रूपमा अत्यधिक माग हुने गरेको छ । यस्तो अपराधमा अन्तरदेशीय आपराधिक गिरोह संलग्न रहँदै आएको विगतका अनुसन्धानले देखाएको छ । प्रहरीले निकै मिहिनेतपछि एउटा गिरोहलाई पक्राउ गरेपछि उनीहरू सहजै छुट्न सफल भएका छन् ।

ad
ad