मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख १२ सोमबार १o:३७:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एमाले खोटाङले टुंग्यायो सबै पालिकामा उम्मेदवार, सत्तागठबन्धनमा अझै बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १o:३७:oo

 नेकपा एमाले खोटाङले जिल्लाका दशवटै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखसहित वडास्तरको समेत उम्मेदवार टुंग्याएको छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश समितिले आइतबार साँझ दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको हो । जिल्लाको सबैभन्दा ठूलो तथा सबैको नजर पर्ने दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य र उपमेयरमा राजकुमारी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, हलेसी–तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको छ ।

यस्तै, साकेला गाउँपालिका प्रमुखमा गोपीकृष्ण खड्का र उपप्रमुखमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका प्रमुखमा गोमा मगर र उपप्रमुखमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका प्रमुखमा हरि पोखरेल र उपप्रमुखमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखमा लोकेन्द्र राई र उपप्रमुखमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका प्रमुखमा शंखरबहादुर राई, उपप्रमुखमा विमला राई, खोटेहाङ गाउँपालिका प्रमुखमा कविता राई र उपप्रमुखमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका प्रमुखमा कृष्णकुमार राई र उपप्रमुखमा उमा गुरुङ, ऐँसेलुखर्क गाउँपालिका प्रमुखमा गृहेन्द्रबहादुर राई र उपप्रमुखमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने टुंगाे लगाइएको एमालेले जनाएको छ ।

एमालेले आसन्न निर्वाचनमा दुई स्थानीय तहको प्रमुखमा महिलालाई अघि सारेको देखिएको छ । ०७४ को स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपप्रमुखमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपप्रमुखमा निर्वाचित गोमा मगरलाई यसपल्ट प्रमुखमा उम्मेदवार बनाएको हो। ०७४ कै निर्वाचनमा केपिलासगढी गाउँपालिका प्रमुखमा निर्वाचित भएका कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका प्रमुखमा निर्वाचित शंखरबहादुर राई, उपप्रमुखमा निर्वाचित विमला राई तथा ऐँसेलुखर्क गाउँपालिका उपप्रमुखमा निर्वाचित पुष्पकला भुजेलले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाएका छन् ।

०७४ मा दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको प्रमुखमा निर्वाचित दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राई, खोटेहाङ गाउँपालिका प्रमुखमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका प्रमुखमा निर्वाचित लीलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपप्रमुखमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपप्रमुखमा निर्वाचित हीरादेवी वन चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।  

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको उपप्रमुखमा सिफारिस भएकी विणादेवी राई पुनः दोस्रो कार्यकालका लागि सोही पदमा नदोहोरिने बताएपछि उनको ठाउँमा राजकुमारी राईलाई ल्याइएको एमाले अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको एमालेले दिउँसो ३ बजे जिल्लाभर एकैसाथ उम्मेदवारी दर्ता गर्ने बताएको छ । 

उता, स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवार टुंगाे लगाउन सकेका छैनन् । चुनावी तालमेलमा सत्तागठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपाल आबद्ध छन् । सत्तागठबन्धनमा आकांक्षी बढी भएकाले उम्मेदवार छनोटमा ढिलाइ भएको छलफलमा सहभागी माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए । यद्यपि, आज निर्वाचन आयोगले दिएको समयभित्र सबै उम्मेदवार टुंग्याएर संयुक्त रूपमा उम्मेदवारी दर्ता गर्ने सत्तागठबन्धनले जनाएको छ । 

आगामी निर्वाचनमा खोटाङका दशवटै स्थानीय तहका गरी एक लाख ४३ हजार सात सय ५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार सात सय ४६ र पुरुष ७५ हजार ६ सयजना मतदाताले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकृत राजेश गौतमले जानकारी दिए ।