मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Tuesday, 24 December, 2024
डा. जितु उपाध्याय/कमल सुवेदी
२o७९ बैशाख ८ बिहीबार o९:१o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्थानीय निर्वाचनमा युवा हस्तक्षेप

अग्रलेख

Read Time : > 5 मिनेट
डा. जितु उपाध्याय/कमल सुवेदी
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार o९:१o:oo

मुलुकलाई सही दिशानिर्देश गर्न र समृद्धिको सपना साकार पार्न स्थानीय तहमा युवा नेतृत्व आवश्यक छ

नेपालको संविधान, २०७२ लागू भएपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन प्रणाली आरम्भ भएको छ । स्थानीय सरकारका रूपमा ६ महानगरपालिका, १३ उपनगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तह अस्तित्वमा छन् । जसमध्ये ६ हजार ५५४ वडाहरूमा एकैसाथ ३० वैशाखमा निर्वाचन हुँदै छ । स्थानीय तहमा अध्यक्ष, मेयर र उपाध्यक्ष, उपमेयर रहने व्यवस्था गरिएको छ । अध्यक्ष, मेयर र उपाध्यक्ष, उपमेयरमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने संवैद्यानिक व्यवस्था छ ।

यसबाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ, जसमा एक वडाध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । चार सदस्यमध्ये अनिवार्य रूपमा दुई महिला हुनुपर्छ । सम्पूर्ण पदको अवधि पाँच वर्ष हुनेछ । ०७४ मा भएको निर्वाचनबाट ३५ हजार ४१ जनप्रतिनिधि चयन भएकामा २१ देखि ४० वर्ष उमेर समूहका १३ हजार आठ सय ९३ अर्थात् ३९.६५ प्रतिशत थिए । निर्वाचन आयोगका अनुसार, सो निर्वाचनमा एक लाख ४८ हजार तीन सय ६२ उम्मेदवारमध्ये युवा उम्मेदवारको संख्या ५७ हजार ७०१ थियो । नेपालमा कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या ओगटेका युवा राष्ट्र निर्माणका बलिया खम्बा हुन् । यिनलाई यथोचित स्थान दिन सकिएन भने राष्ट्र पूर्ण रूपमा असफल हुन्छ । त्यसैले, युवा नेतृत्व आजको आवश्यकता र समयको माग हो । 

विगतका चुनावमा युवाको भूमिका केवल पार्टीका उम्मेदवार जिताउने मात्र थियो । तर, अहिले युवाहरूले आफूलाई जबर्जस्त रूपमा उभ्याएका छन् । पार्टी नेतृत्वलाई चुनौती दिएका छन् । यो आफैँमा शुभसंकेत हो । 

नेपाल विश्व युवा सूचकांकको ७७औँ स्थानमा पर्छ । विकासका विभिन्न मुद्दामा युवाको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । यद्यपि, युवाप्रधान मुलुकमा युवालाई नेतृत्वको अवसरबाट वञ्चित गरिँदै आएको छ । युवाको सक्रिय प्रतिनिधित्व, सहभागिता र परिचालनले राजनीतिमा चलायमान र रूपान्तरणको मार्ग लक्षित गर्छ । स्थानीय तहको कार्यभार प्रदेश तथा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने संवैधानिक एवं कानुनी प्रावधान छैन । एक प्रकारले स्थानीय सरकार चुस्त छ, जनप्रतिनिधिलाई फेरबदल गर्ने वयवस्था छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा जन–निर्वाचित पदाधिकारीबाहेक अन्य कुनै तवरले स्थानीय सरकार सञ्चालन गर्न सकिँदैन । त्यसैले पनि स्थानीय सरकारमा राम्रो नेतृत्व भयो भने परिवर्तनको अनुभूति जनताले सजिलै गर्न सक्छन् । विकास र समृद्धिको यात्राको सुरुवात गर्न सकिन्छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा नमुना कार्य गर्न सक्छ । अधिकार र जिम्मेवारीको हिसाबले स्थानीय सरकारको उपादेयता बढी छ । स्थानीय निकाय साधनस्रोत सम्पन्न पनि छन् । उपलब्ध स्रोतसाधनको समुचित परिचालन गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न पनि स्थानीय तहले भूमिका निर्वाह गर्न सक्छन् । 

युवा नेतृत्वका कार्यभार दीर्घकालीन योजनाका साथै सामाजिक र आर्थिक हिसाबले निकै ठूलो अर्थ राख्ने कार्य गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता, बालमैत्री, युवामैत्री, अपांगमैत्री संरचनाको व्यवस्था, वृद्धवृद्धाका लागि दिवासेवा केन्द्र, व्यवस्थित आवास, ग्रिन सिटी, खेल मैदान, स्थानीय क्लबलाई चलायमान गराउनेजस्ता कार्य प्राथमिकतामा राख्नुपर्छ । त्यसैगरी, युवा रोजगार बैंक, युवा तथा लैंगिक उत्तरदायी बजेट, युवा उद्यमशीलता र रोजगारीलाई उच्च प्राथमिकता दिनुपर्छ । युवालाई केन्द्रमा राखेर योजना बनाई विकासको मूल प्रवाहमा उनीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउन सकियो भने मुलुक सही दिशामा अघि बढ्छ । युवालाई गाउँमै सम्भावना देखाउन सके मात्र वैदेशिक रोजगारीको परनिर्भरता कम गर्न सकिन्छ । युवाशक्तिलाई मुलुकबाहिर राखेर समृद्धिको सपना देख्नु दिवास्वप्न हो । ‘हाम्रो गाउँ हामी बनाऔँ’ भन्ने महाअभियान सुरु गर्नुपर्छ । युवा नेतृत्व आजको आवश्यकता हो । हरेक राजनीतिक परिवर्तनको अग्रमोर्चामा उभिने युवा त्यसपछिको प्रतिफलको मुख्य हिस्सा बन्न सकेका छैनन् ।

अहिलेको राजनीतिक नेतृत्वले युवालाई सजिलै जिम्मेवारी हस्तान्तरण गर्नेवाला छैन । अतः युवाले पनि नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्न अब ढिला गर्नु हुँदैन । ०७४ को निर्वाचनमा पनि झन्डै ५२ प्रतिशत युवा मतदाता थिए । यसपटक पनि लाखौँको संख्यामा युवाले पहिलोपटक भोट हाल्दै छन् । नयाँ मतदाता जतातिर ढल्किन्छन्, सोही समूहले चुनाव जित्नेमा दुईमत छैन । अहिले पार्टीहरू निर्वाचन घोषणापत्र निर्माणमा व्यस्त छन् । कतिले चाहिँ सार्वजनिक नै गरिसकेका पनि छन् । युवाका मुद्दा सबै दलले आआफ्नो घोषणापत्रमा अवश्यै समावेश गर्नेछन् । दलहरूको घोषणापत्र नै नपढी मत दिने परिपाटी यसपटक परिवर्तन गर्न जरुरी छ । हरेक पार्टीको घोषणापत्र पढ्नु, आफ्नो उपस्थिति खोज्नु र हाम्रो होइन, राम्रो उम्मेदवार रोज्नु र तीमध्ये पनि युवा उम्मेदवारलाई भोट दिनु आजको मुख्य आवश्यकता हो । जसको सवाल उसको नेतृत्व । असल नेतृत्व छनोट गर्न सकियो भने मात्र असल समाज निर्माण गर्न सकिन्छ । जे रोप्यो त्यही फल्ने हो । हाम्रो भाग्य र भविष्यको फैसला हामी आफैँले गर्ने हो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । 

युवा उम्मेदवारीको चर्चा 
अटेरी आन्दोलन भन्ने नारासहित लेखक गणेश पौडेलले पोखरा महानगरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन् । र्‍यापर बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरी प्रचार–प्रसारमा छन् । त्यसैगरी डा. प्रकाश भट्टराईले सुन्दर हरैचा नगरपालिका, मोरङको मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन् । राजन कोइरालाले नागार्जुन नगरपालिका काठमाडौँमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन् भने नितु खड्काले बाग्लुङ र सुमन खरेल बुढानिलकण्ठको मेयरमा उठ्ने घोषणा गरेका छन् । देशभरि सयौँ युवाले स्वतन्त्र उम्मेदवार दिँदै छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । प्रमुख ठूला पार्टीका युवा अम्बिका चलाउने, उमा थापा, रजनी थापा, दीपा बोहराजस्ता धेरै युवाले स्थानीय प्रमुखमा दाबी गरिरहेका छन् । उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । राजनीतिक पार्टीभित्रै पनि धेरै युवाले स्थानीय चुनावमा आआफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । अझ रोचक पक्ष त के छ भने गत स्थानीय सरकारमा उपप्रमुख भएकामध्ये धेरै महिलाको अहिले प्रमुखमा दाबी छ । तथ्यांक विश्लेषण गर्दा स्थानीय चुनावमा नयाँ उम्मेदवार र नयाँ विचारलाई समर्थन गरेको पाइन्छ । जनता आफ्नो प्रतिनिधि छनोट गर्न स्वतन्त्र छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो ।

नयाँ संविधान जारी भएपछिको यो दोस्रो चुनाव हो । पहिलो चुनावमा स्थानीय तहको कार्यक्षेत्र, साधन र स्रोतबारे धेरैलाई जानकारी थिएन । वास्तवमा स्थानीय सरकारको कार्यक्षेत्र साधन र स्रोत हेर्ने हो भने केन्द्रीय सरकार जस्तै शक्तिशाली छ । स्थानीय तहको चुनावको आकर्षण छ । स्वतन्त्र मात्र नभएर पार्टीभित्र पनि युवाहरूले दलगत रूपमै पनि स्थानीय तहमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् । विगतका चुनावमा युवाको भूमिका केवल पार्टीका उम्मेदवार जिताउने मात्र थियो । तर, अहिले युवाहरूले आफूलाई जबर्जस्त रूपमा उभ्याएका छन् । पार्टी नेतृत्वलाई चुनौती दिएका छन् । यो आफैँमा शुभसंकेत हो । आफ्नो पालो कहिले आउला भनेर बस्ने हो भने कहिल्यै नेतृत्वमा पुग्न सकिँदैन । पार्टीमा आफ्नो भूमिका खोजौँ, आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरौँ । घोषणापत्र मात्र होइन, आफ्नो एक्सन प्लान बनाऔँ । स्थानीय सरकारसँग केकस्ता स्रोतसाधन छन्, पहिचान गरौँ, जनताका आवश्यकताको प्राथमिकता निर्धारण गरौँ । आन्तरिक र बाह्य स्रोत संकलन कसरी गर्ने रणनीति बनाऔँ । स्रोतको परिचालन र बाँडफाँडमा समन्यायिक सिद्धान्तको प्रयोग गरौँ । अपनत्व, ममत्व र स्वामित्व लिने वातावरण सिर्जना गर्न सके आसन्न निर्वाचन आफ्नो पक्षमा पार्न सकिन्छ । यो सुनौलो मौकालाई युवा उम्मेदवार र मतदाता दुबैले बुझ्न जरुरी छ । 

शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारजस्ता क्षेत्र स्थानीय तहका जनतासँग जोडिने क्षेत्र हुन् । नेपालमा पछिल्लो समयमा युवामा देशप्रति भन्दा पनि अवसरका लागि बिदेसिने टे«न्ड बढ्दो छ । राजनीतिको कुरा गर्दा त सीमित युवामा मात्र राजनीतिप्रति लगाव छ । यसरी युवाको राजनीतिप्रति विकर्षणले न त लोकतन्त्र बलियो हुन्छ, न त देशले असल नेता जन्माउनै सक्छ । यदि मुलुकको भविष्य उज्ज्वल बनाउने हो भने नेतृत्व सही छनोट गर्नुपर्छ । संसारका विकसित देशको उदाहरण हेर्ने हो भने त्यस देशको नेतृत्व कस्तो छ, त्यसमा देशको विकास निर्भर हुन्छ । हाम्रो देशमा नेता धेरै जन्मिए, तर राजनेताको उदय भएन । अब युवाको पालो स्पष्ट भिजन, दृढ अठोटसाथ राजनीतिमा आउने हो भने मुलुक परिवर्तन सम्भव छ । आफ्नो अमूल्य मतको सदुपयोग गरौँ । असल राजनीतिक संस्कारको सुरुवात गरौँ । हाम्रोलाई होइन, राम्रोलाई नेतृत्वमा पुर्‍याउन भूमिका खेलौँ । 

युवालाई परिवर्तनको संवाहक भन्ने गरिन्छ । प्रत्येक राजनीतिक परिवर्तनका प्रमुख ‘पिलर’ युवा हुन् । युवाले राजनीतिक परिवर्तनमा ‘फ्रन्टलाइनर’ हुने र नेतृत्वको अवसरमा वञ्चित हुने परम्पराको अन्त्य हुनुपर्छ । जसरी महिलाको हकमा संविधानमै स्थानीय तहमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ, त्यसैगरी युवाको प्रतिनिधित्व पनि सुनिश्चित गर्न आवश्यक छ । जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु उपयुक्त हुन्छ । 

युवा नेतृत्वमा हुनुपर्ने एजेन्डा 
स्मार्ट सिटी होइन, स्मार्ट सर्भिस, बालमैत्री, अपांगमैत्री, वृद्धमैत्री, युवामैत्री, महिलामैत्रीलगायत सम्पूर्ण नागरिकमैत्री पालिका बनाउन युवा नेतृत्व प्रतिबद्ध हुनुपर्छ । युवालाई उत्पादनसँग जोड्ने योजना, पालिकाभित्र आत्मनिर्भर कृषि र पशुजन्य उत्पादन, करको दर होइन, दायरा बढाउने योजना, ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड दिनु युवा नेतृत्वको दायित्व हो । शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउने, सामुदायिक पुस्तकालय बनाउने, प्रविधिमैत्री स्मार्ट पालिका निर्माण गर्ने, सुशासन तथा इगभरनेन्स अवलम्बन गर्ने, वातावरण संरक्षण र दिगो विकासमा सहयोग पुग्ने योजना र त्यसको कार्यान्वयनको स्पष्ट खाका हुनु जरुरी छ । 

निष्कर्ष
युवा वर्तमानका साझेदार शक्ति हुन् । यिनको समुचित प्रयोग र परिचालन गर्न सके देश समृद्ध बन्छ । लोकतन्त्रको संस्थागत विकासका लागि पनि युवा नेतृत्व र सहभागिता आवश्यक छ । गाउँ–गाउँमा सिंहदरबार घरघरमा सरकारको अनुभूति हुने वातावरण सिर्जना गर्नुपर्छ । हाम्रो सहभागिता हाम्रो नेतृत्व हाम्रो पुस्ताका लागि निकै महत्वपूर्ण छ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? हाम्रो पुस्ताका लागि हामीले खबरदारी गर्न जरुरी छ । मुलुकलाई सही दिशानिर्देश गर्न र समृद्धिको सपना साकार पार्न युवा नेतृत्व आवश्यक छ । स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न हामी सबैले आआफ्ना क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गरौँ । समृद्धिका लागि हातेमालो गरौँ । 

(डा. उपाध्याय युवा वैज्ञानिक र सुवेदी अध्येता हुन्)