नेपालमा निर्वासित भुटानी शरणार्थी अगुवा, भुटानी सेनाका पूर्वअधिकृत तथा लेखक/विश्लेषक एनबी गिरीको मंगलबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका गिरीको उपचारका क्रममा निधन भएको उनका आफन्त पत्रकार अरुणदेव जोशीले जानकारी दिए।
जनरव फिराद, जस्टिस टू जस्टिस भुटान, जर्नी टू भुटान फर जस्टिसलगायतका पुस्तकका लेखकसमेत रहेका गिरीले भुटानभित्र प्रजातन्त्रका पक्षमा र भुटानी शरणार्थीको स्वदेश फिर्तीका पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए। उनी नेपालका राजनीतिक तथा बौद्धिक समुदायमाझ परिचित थिए।
निर्वासित भुटान नेसनल डेमोक्रेटिक पार्टीका कार्यबाहक सभापति डा. डिएनएस ढकाल, भुटानी आन्दोलनका अभियन्ता राम कार्की, विश्वनाथ क्षेत्री, हरि बगाले, नारद अधिकारी, डिपी काफ्ले, टोम अधिकारी, भक्त घिमिरे, जोगेन गजमेर, रूपनारायण पोखरेल, ओम अधिकारी, डिबी राईलगायतले गिरीको निधनप्रति दुःख व्यक्त गर्दै समुदायले महत्वपूर्ण व्यक्ति गुमाएको प्रतिक्रिया दिएका छन्।
भुटानको साम्ची जिल्लास्थित सिब्सु बेलबोटेका स्थायी बासिन्दा रहेका गिरी भुटानले नेपालीभाषीमाथि जातीय सफाया सुरु गर्दा सन् १९९० को दशकमा शाही भुटानी सेनामा कार्यरत थिए। उनी सेनामा बहालवाला रहेकै वेला गिरफ्तार भएका थिए। नेपालीभाषी भएकै कारण प्रतिशोधमा पक्राउ परेका उनी छुटेपछि देश छाडेर नेपालमा बसोबास गर्दै आएका थिए।
उनले यही वर्ष २५ साउनमा काठमाडौंमा भुटानी शरणार्थी मुद्दामा बुद्धिजीवीहरूको बैठक राखेर शरणार्थीको फिर्ताका विषयमा छलफल गराएका थिए। पत्रकार जोशीका अनुसार गिरीको पार्थिव शरीर चाबहिलस्थित ओम अस्पतालमा राखिएको छ। उनका छोरा अमेरिकाबाट आएपछि गिरीको अन्तिम संस्कार गरिने जोशीले जानकारी दिए।