मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ पौष १० बुधबार o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माधवसँग मिल्दै वामदेव

गौतमलाई तेस्रो वरीयताको नेता बनाउन एकीकृत समाजवादी सकारात्मक

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार o६:१८:oo

तेस्रो वरीयतासहित एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एकीकृत समाजवादी भित्रिने भएका छन् । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल छन् भने दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । गौतम एमालेको दुई कार्यकाल र एमाले–माओवादी एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उपाध्यक्ष थिए ।

एमालेबाट राजीनामा दिएर पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले एकीकृत समाजवादीसँग एकताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् । अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी समिति सदस्य लोकनाथ धमला वार्ता टोलीमा छन् ।

वार्ताका लागि एकीकृत समाजवादीको पत्रको पर्खाइमा रहेको कार्कीले बताए । ‘राजनीतिक–वैचारिक पाटोका साथै सांगठनिक विषयमा ठोस छलफल हुन बाँकी छ । सैद्धान्तिक रूपमा एकताको विषय टुंगिसक्यो । एकीकृत समाजवादीले पास गरेका सिद्धान्तहरू एकातिर छन् । हामीले बनाएको दस्ताबेज अहिलेको वस्तुवादी यथार्थमा कार्यान्वयन गर्नुपर्ने समाजवादी अवधारणा छ,’ उनले भने, ‘छलफलबाट हामी एउटा टुंगोमा पुग्छौँ । सहमति जुटेको विषयमा जुटिहाल्यो, बाँकी विषय पार्टीको सम्पत्तिको रूपमा रहन्छ । आवश्यक समय र फोरममा ती कुरा उठाउन सक्ने गरी समझदारी गर्न सकिन्छ ।’

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४४ सदस्यीय छ । अभियानमा उपाध्यक्ष सात, महासचिव एक, उपमहासचिव एक, सचिव एक, कोषाध्यक्ष एक छन् । स्थायी कमिटी १९ र केन्द्रीय कमिटी ८९ सदस्यीय छ ।

गौतमबाहेक अन्य सदस्यहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नेताहरूलाई मुख्य चिन्ता छ । ‘उहाँहरूको केन्द्रीय कमिटी विशाल छ, हाम्रो सानो छ । तर, व्यवस्थापन, जिम्मेवारी दिने सवालमा योग्यता, क्षमता, ऐतिहासिक पृष्ठभूमि सबै कुरा कसरी टुंग्याउने भन्ने विषयमा छलफल हुन बाँकी छ,’ कार्कीले भने ।

वार्ता टोली बसेर सहमति जुटाएपछि दुवै पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने र पार्टी एकता गर्ने सोच रहेको उनले बताए । गौतमसहितका नेताको पदको विषयमा ठोस कुरा भइनसकेको उनले बताए । वार्ताको क्रममा सबै विषयमा छलफल हुने उनको भनाइ छ ।

एकीकृत समाजवादीमा वामदेवसहितको कार्यविभाजन हुने चर्चा थियो । तर, वामदेवविनै कार्यविभाजन गरेर सर्कुलर भइसकेको छ । गौतमले केही समयअघि एमालेमा जाने प्रयास गरे पनि अध्यक्ष केपी ओलीले नबोलाएको गुनासो गरेका थिए । एमालेबाट राजीनामा दिएकोमा उनले पछुतोसमेत मानेका थिए । पुस पहिलो साता सम्पन्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भिœयाउने निर्णय गरेको थियो ।

निर्णयपछि माधव नेपाललगायतका नेता गौतमनिवास पुगेर छलफल गरेका थिए । त्यसयता एकीकृत समाजवादीले एकता सम्बन्धमा थप छलफल गरेको छैन । शीर्ष नेताहरूलाई जिम्मा दिइएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए । ‘हाम्रो बैठकले शीर्ष नेतालाई जिम्मा दिएको छ । शीर्ष नेताहरूले नै टुंग्याउनुहुन्छ । वार्ता समिति भनेर हामीले बनाएका छैनौँ,’ उनले भने ।

वामदेवका उतारचढाव
वामदेवको राजनीतिक यात्रा निकै उचारचढावपूर्ण छ । ‘पूर्णकालीन कार्यकर्ता भएर भूमिगत बन्न पाऊँ’ भन्दै पार्टीमा निवेदन हालेर पुष्पलाल समूहबाट भूमिगत राजनीति सुरु गरेका उनले पञ्चायतकालमा कठोर संघर्ष गरे । पुष्पलाल समूहमा विद्रोह भएर मुक्ति मोर्चा बनेपछि गौतम को–अर्डिनेसन केन्द्र (कोके)मा जोडिए । कोके माले हुँदै एमाले भयो, वामदेव पनि माले हुँदै एमाले बने । ०५१ मा एमालेले अल्पमतको सरकार चलाएका वेला उपमहासचिव बनेर उनले पार्टी हाँकेका थिए ।

वामदेवले ०५४मा एमाले विभाजन गरेर माले बनाए । ०५६ को निर्वाचनमा उनको पार्टीले एक सिट पनि जित्न सकेन । ०५८ मा एमालेमै फर्किए । एमाले र माओवादी एकताबाट बनेको नेकपा हुँदै अदालतले एकता भंग गरेपछि उनी एमालेमै फर्किए । तर, ०७८ मा एमाले फेरि पुनः विभाजन भयो । पूर्वमहासचिव माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे । वामदेवले पनि एमालेबाट राजीनामा दिएर पार्टी एकता अभियानलाई अघि बढाए । यद्यपि, उनले आफ्नो पक्षका नेताहरूलाई साथमा राख्न सकेनन् । विगतमा वामदेव पक्षका थुप्रै नेता हाल एमाले र एकीकृत समाजवादीको नेतृत्व तहमा छन् ।

हक्की, तर अस्थिर स्वभावका नेता
वामदेव हक्की स्वभावका नेता हुन् । अरूले आँट गर्न नसकेका काम र निर्णय गर्ने क्षमता उनी राख्छन् । तत्कालीन विद्रोही माओवादीसँग सहकार्य गर्ने हिम्मत वामदेवले नै गरेका थिए । जोखिम मोलेरै माओवादीसँग वार्ता गर्न वामदेव रोल्पा पुगेका थिए । एमालेले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार चलाएको वेला उपमहासचिवको हैसियतमा पार्टी हाँकेका उनले सरकारको निर्णय कार्यकर्तामार्फत जनतामा पु¥याएका थिए । पछिल्लो समय वामदेवले अस्थिर नेताको छवि बनाएका छन् । अरूको उक्साहटमा उनी फस्दै आएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।