नवलपुरको कावासोती–३ मा बन्ने नमुना सदरमुकाम निर्माणस्थलका ६ सय ४२ वटा ठुला रुख काट्न मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले नमुना सदरमुकाम निर्माणस्थलका रुख काटन स्वीकृति दिने निर्णय गरेको हो ।
नवलपुरका क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले मंगलबारको मन्त्रीपरिषद बैठकले रुख हटाउन अनुमति दिएकोले अब नमुना सदरमुकाम निर्माणको काम सुरु हुने बताए । भवन निर्माणको जिम्मा पाएको रौतहटको चौधरी कन्स्ट्रक्सनको टोली भवन निर्माणस्थलमा आइपुगे पनि रुख कटानको आदेश नआउँदा निर्माण सुरु हुन सकेको थिएन ।
कावासोती नगरपालिका– ३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको १८६ बिघामा नमुना सदरमुकाम निर्माणका लागि काम थालिएको हो । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत पाँच वटा कार्यालय सर्ने गरी तीनवटा भवन निर्माणको ठेक्का लागेको छ। नमुना सदरमुकाम निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थ मन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट भवन निर्माणको काम अघि बढाउने गरी सघन शहरी तथा भवन निर्माण आयोजनाले काम सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जिल्ला प्रशासन कार्यालयसहित तीनवटा एकीकृत भवन निर्माण सुरु हुने बताए । बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र जिल्ला प्रशासन कार्यालयसहितका तीनवटा भवन निर्माण सक्ने गरी काम अघि बढाइनेछ । दुई एकीकृत सेवा कार्यालयमा तत्कालका लागि चारवटा कार्यालय रहन सक्ने जनाइएको छ । सरकारले हालै सुनिश्चित गरेको ५० करोडबाट जिल्ला प्रशासन कार्यालयसहित तीनवटा कार्यालय बनाइनेछ ।
७ वैशाख ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नमुना सदरमुकाम निर्माणको शिलान्यास गरेका थिए । यहाँ संघीय सरकार र प्रदेश सरकार मातहतका ४० भन्दा बढी कार्यालय स्थापना हुने छन्। नमुना सदरमुकाम भवन निर्माण नहुँदा नवलपुरमा रहेका सरकारी कार्यालयहरूले वार्षिक एक करोडभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएका छन् । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन अधिकृत वसन्त केशव अधिकारीले अब मन्त्रीपरिषदको निर्णय लिखित रुपमा प्राप्त हुनासाथ रुख कटान अघि बढ्ने बताए ।