राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक, लेकसाइडलगायत क्षेत्रमा दुई महिनादेखि जारी निषेधित क्षेत्र हटाउन जिल्ला प्रशासन समक्ष माग गरेको छ । इसायी धर्मालम्बीहरुको विशेष पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने पर्यटकलाई प्रशासनले लगाएको निषेधित क्षेत्रका कारण समस्या भएकाले रास्वापाले हटाउन माग गरेको हो ।
पार्टी सभापति रवि लामिछानेलाई गत २ कार्तिकमा काठमाडौंबाट पक्राउ गरी ३ कार्तिकमा पोखरा पुर्याएकै दिन जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोकसहितका क्षेत्रलाई निषेधित घोषणा गरेको थियो । निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको सडकमा सवारी आवागमन समेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित बनिरहेको छ ।
यस्तै लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सवसहितका कार्यक्रमहरूलाई समेत मध्येनजर गरि पर्यटन सम्वद्ध संघ संस्थाहरुले निषेधित क्षेत्र हटाउन पहलका लागि यस पार्टीलाई आग्रह गरेको मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ । सभापति लामिछानेविरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्णरुपमा सघाउने पार्टी सचिवालयको निर्णयका आधारमा जारी निषेधित क्षेत्र हटाउनका माग गरिएको छ ।