हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा सुरु भएको छ । तल्लो डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा फोर जी इन्टरनेट सेवा सुरु भएको हो । दुई वर्ष अघिसम्म राम्रोसँग टेलिफोन सेवाले काम नगर्दा सास्ती खेप्दै आएका मुड्केचुलाका स्थानीयले अब भरपर्दो फोनसेवासँगै फोर जी इन्टरनेटको पनि मज्जा लिन थालेका छन् ।
फोन गर्नकै लागि अग्ला डाँडाकाँडा र रूख चढ्नुपर्ने मुड्केचुलामा स्थानीय सरकार, जनप्रतिनिधि र युवा समाजसेवीहरूको संयुक्त प्रयासबाट नेपाल टेलिकमले फोर जी सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि फोर जी सेवा विस्तार भएको छ । विकट गाउँबस्तीमै गुणस्तरीय इन्टरनेटको पहुँच भएपछि स्थानीयहरू खुसीले दंग भएको गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए । सबैको सामूहिक प्रयासबाट फोर जी सेवा जोड्न सफल भएको उनको भनाइ छ ।