मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख २ शुक्रबार १०:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, पर्यटन व्यवसायी उत्साहित

Read Time : > 1 मिनेट
२०७९ बैशाख २ शुक्रबार १०:२४:००

कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको छ । अन्नपूर्ण पदमार्गमा आन्तरिक र बाह्य पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाले दुई वर्षसम्म सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशीसँगै आन्तरिक पर्यटक बढ्न थालेको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाकी होटेल व्यवसायी पारू गुरुङले बताइन् । उनी भन्छिन्, ‘पदमार्गमा आन्तरिक र बाह्य पर्यटक आउन थालेसँगै खुसी लागेको छ । अब थला परेको व्यवसायमा केही राहत हुनेछ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल पदमार्गबाट दैनिक डेढ सय पर्यटक मनाङ पुग्ने गरेका छन् । 

मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य र आन्तरिक पर्यटकको आगमन बढेको बताए । पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय पुरानै लयमा फर्कने गुरुङको अपेक्षा छ । पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । पदमार्गमा भने विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांक छ । 

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिनहरू पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । 

२०२१ मा दुई हजार तीन सय ७३ पर्यटक पदमार्गमा भित्रिए
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा एक वर्षमा दुई हजार तीन सय ७३ विदेशी पर्यटक घुम्न आएका छन् । कोरोनाका कारण २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक पदमार्गमा आए पनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो संख्या बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका अनुसार सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म एक वर्षको अवधिमा दुई हजार तीन सय ७३ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुम्न आएका छन्, जुन २०२० को भन्दा तीन सय ९७ ले बढी हो । पदमार्गमा सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक पदमार्गमा भित्रिएका थिए ।