१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिकाको १५ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २ शुक्रबार o७:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिडको समयमा पत्रकारहरूले खेलेको भूमिका उल्लेखनीय : सञ्चारमन्त्री

नयाँ पत्रिका १६ वर्षमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार o७:२८:oo

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको समयमा नेपाली पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । नयाँ पत्रिका दैनिकको १५औँ वार्षिकोत्सवमा बिहीबार उनले कोभिडले अन्य क्षेत्रसँगै मिडिया क्षेत्रमा ठूलो असर गरे पनि नेपाली पत्रकारहरूले उल्लेखनीय भूमिका खेलेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले पत्रकारिता जगत्मा नयाँ पत्रिका जबर्जस्त स्थापित नाम भएको बताए । ‘पत्रकारिताका चुनौतीहरूलाई पहिचान गर्दै त्यसलाई अवसरका रूपमा परिणत गर्न प्रेरणादायी संस्थाका रूपमा नयाँ पत्रिका विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने । 

समृद्धिको आधार जलविद्युत् र पूर्वाधार भएको भन्दै कार्कीले अबको ध्यान त्यतैतिर आकर्षित हुनुपर्ने विचार व्यक्त गरे । छिमेकी मुलुक भारतसँग ठूलो व्यापार घाटा रहेकोमा चिन्ता व्यक्त गर्दै उनले त्यसको न्यूनीकरणका लागि पनि जलस्रोतको उपयोग तथा विद्युत् विकासतर्फ लाग्नुपर्ने बताए । यद्यपि, आगामी दिनमा उत्पादित बिजुलीको व्यवस्थापन भने निकै चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।

‘जसरी निजी क्षेत्र उत्साहित भएर विद्युत्मा लगानी गरिरहेको छ, यसले दुई वर्षपछि अर्बौंको घाटा व्यहोर्नुपर्ने, विद्युत् खेर जाने स्थिति सिर्जना हुँदै छ । तर, हालै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सम्झौताले तीन सय २५ मेगावाट विद्युत् भारतीय बजारमा पठाउने बाटो खुलेको छ,’ उनले भने, ‘हामीले ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर भारत र बंगलादेशको बजारमा पठाउन सके मात्र पनि एक खर्ब रुपैयाँ आम्दानी गर्न सक्छौँ ।’ 

मन्त्री कार्कीले अब ध्वंसात्मक गतिविधि त्यागेर विगतका आन्दोलनले स्थापित गरेका राजनीतिक पद्धति र अधिकार संरक्षण गर्नतिर लाग्नुपर्ने बताए । वर्तमान सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई सम्बर्द्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘पत्रकारको हकहित र समस्याको समाधानका लागि यो सरकार सधैँ तत्पर छ,’ उनले भने, ‘हामी दक्षिण एसियामै खुला समाज, सबल अर्थतन्त्र भएको, समृद्ध प्रेस स्वतन्त्रता भएको देशका रूपमा नेपाललाई स्थापित गर्नका लागि अगाडि बढौँ ।’ 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अंकले १५ कम भए पनि नयाँ पत्रिका त्योभन्दा कम्तीमा पनि १० वर्ष बढी अनुभवले खारिएको बताए । ‘पत्रिका जन्मिँदै फरक ट्रेन्ड स्थापित गरौँ भन्ने मान्यता थियो । र, त्यही बाटोमा हिँडिरहेको छ,’ उनले भने, ‘नयाँ पत्रिकाले जुन ट्रेन्ड सेटरको लक्ष्य लिएर त्यही बाटोमा हिँड्यो, त्यसलाई निरन्तरता दिन र बलियो बनाउन सके नयाँ पत्रिका साँच्चै नयाँ पत्रिका हुन्छ ।’ 

अध्यक्ष बस्नेतले कोभिडको महामारीले थिचिएको प्रिन्ट मिडियालाई बचाउन सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे । ‘पत्रकार बलियो र सक्षम नभईकन प्रेस स्वतन्त्रता बलियो हुँदैन,’ उनले भने । पत्रकारितामा नीतिगत र कानुनी समन्वयका लागि प्रेस काउन्सिल पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कतिपय नीतिगत र कानुनी प्रबन्धको अभावका कारण पत्रकारिताले धेरै समस्या झेल्दै आएको औँल्याए । पत्रकारिताका व्यावसायिक मुद्दा कमजोर भएको भन्दै त्यसको पुनस्र्थापनामा लाग्नुपर्ने उनले बताए । सात–आठ महिनासम्म पनि तलब नपाउने स्थितिबाट नेपाली पत्रकारिता क्षेत्र गुज्रिरहेको भन्दै श्रम अधिकारका पक्षमा आवाज उठाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । ‘सञ्चार क्षेत्र बच्ने र श्रम अधिकारको पनि सम्मान र रक्षा हुने किसिमको समन्वयात्मक बाटो खोज्न सकेनौँ भने नेपाली सञ्चार भोलिका दिनमा अझ बढी समस्यामा पर्नेछ,’ उनले भने । 

सञ्चार क्षेत्रका समस्याबारे बहस, छलफल र समाधानमुखी प्रयासमा संघसंस्था, सरकार र सञ्चार गृहहरूको पर्याप्त ध्यान नपुगेको उनले बताए । ‘नेपाली सञ्चार क्षेत्रको समग्र पुनर्संरचना गर्न, बचाउन, अझ व्यावसायिक र व्यवस्थित बनाउन बृहत् छलफल, बहस र इच्छाशक्तिको आवश्यकता छ, सरकारले यसमा गम्भीर ध्यान पुर्‍याओस्,’ उनले भने । 

त्यस्तै, नयाँ प्रकाशन प्रालिका अध्यक्ष, प्रबन्ध निर्देशक तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले कोभिड महामारीको दुई वर्ष लामो संकटमा पनि पत्रिका निरन्तर प्रकाशन गर्नु चुनौतीपूर्ण भएको बताए । ‘हामी दुई वर्ष ठूलो संकटबाट गुज्रेर आयौँ । तैपनि, कहिल्यै हार खाएनौँ,’ देवकोटाले भने । उनले नयाँ पत्रिकाको सम्पादकीय टिम र कर्मचारीको मिहिनेतको प्रशंसा गरे ।
 

ad
ad
ad
ad