१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Friday, 21 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २९ मंगलबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

ग्रामीण विकासको मुख्य आधार लघुवित्त : कामु गभर्नर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o७:३५:oo

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उद्घाटन गरेकी हुन् ।  उद्घाटनपछि कायममुकायम गभर्नर डा. ढुंगानाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताइन् । लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवालाई जनाउने र यसले उनीहरूलाई स्वरोजगारका अवसरहरू विकास गर्न र विभिन्न आय–आर्जन गर्ने गतिविधि विस्तार गर्न मद्दत पुर्‍याउँछ ।’

लघुवित्तले महिलाको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । उनले भनिन्, ‘पुरुषको अनुपातमा महिलाको रोजगारीलगायत आय–आर्जन हुने क्षेत्रमा सहभागिता कम रहे तापनि लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण विपन्न वर्गका महिलालाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’ औपचारिक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरको अभावले मुलुकको आर्थिक विकासमा महिलाको सहभागितालाई सीमित बनाएको सन्दर्भमा लघुवित्त वित्तीय संस्थाहरूले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएको उनको भनाइ थियो । 

कायममुकाय गभर्नर डा. ढुंगानाले लघुवित्त वित्तीय संस्थाहरूको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या चार हजार नौ सय ८५ रहेको जानकारी दिइन् । ०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या एक लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन् । महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ ।

सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न लागिपर्नुपर्ने बताए । एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नाफा कमाउने होडमा लघुवित्त संस्थाहरू लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको सार्थकता होइन । लघुवित्त कमाउधन्दामा फस्नुभएन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२–२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले संख्यात्मक वृद्धि गर्न सदस्य खोसाखोस नगरौँ ।’

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे । ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभावी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनको भनाइ थियो । उनले लघुवित्तहरू स्वनियमनमा बस्नुपर्ने आवश्यकता आँैल्याए । उनले भने, ‘पुरानो ढर्राबाट अब चल्नुहुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्नुहुँदैन । स्वनियममा बस्न अरूले निर्देशन दिनुपर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नुपर्दैन ।’

सम्मेलन उद्घाटनमा आउने कार्यक्रम भए पनि निर्वाचन आचारसंहिताका कारण आउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको सफलताको शुभकामना पठाएका थिए । शुभकामना सन्देशमा देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तहरूले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको उल्लेख थियो । सन्देशमा स्थानीय तहका नागरिकलाई बचत र लगानीमा प्रोत्साहन गर्दै आय–आर्जनमा वृद्धि गरेर समग्रमा मुलुकको आर्थिक अवस्थालाई चलायमान गराउन लघुवित्तहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाइएको थियो । देशभर रहेका लघुवित्तहरूले स्थानीय उत्पादनलाई आधुनिकीकरण र बजारीकरण गर्नमा समेत लघुवित्तहरूको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख गरिएको थियो । 

ad
ad
ad
ad