तीन वर्ष सात महिनाको कार्यकालपछि आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान विश्वासको मत प्राप्त गर्न नसकेर सत्ताबाट बाहिरिएका छन् । सोमबारका दिन सम्भवतः संसद्बाट विपक्षी नेता सहबाज सरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्नेछन् । पश्चिममा अफगानिस्तान, उत्तरपूर्वमा चीन र पूर्वमा भारत रहेको २२ करोडभन्दा बढी जनसंख्या भएको पाकिस्तान रणनीतिक महŒव भएको मुलुक हो ।
सन् २०१८ मा सत्तासीन भएसँगै प्रधानमन्त्री खान अमेरिकाविरोधीका रूपमा चिनिँदै थिए भने चीनसँग नजिक हुँदै थिए । र, हालै युक्रेनमा आक्रमण भएकै दिन अर्थात् २४ फेब्रुअरीका दिन रुस भ्रमण गरेका खानले आफू रुसनजिक भएको पनि संकेत गरेका थिए । पाकिस्तानमा अर्थतन्त्रलाई गम्भीर असर गर्ने गरी भएको उथलपुथलले पाकिस्तानसँग निकट मुलुकलाई निम्न प्रभाव पार्नेछ ।
अफगानिस्तान : केही वर्षयता पाकिस्तानको सैन्य गुप्तचर निकाय र इस्लामिक सैन्यवादी तालिबानबीच सम्बन्ध चिसिएको छ । अहिले तालिबानले अफगान सत्ताको बागडोर समालेदेखि अफगानिस्तान मुद्राको कमी र अन्तर्राष्ट्रिय अलगावका कारण गम्भीर आर्थिक एवं मानवीय संकट व्यहोरिरहेको छ । यस अवस्थामा कतारलाई अफगानिस्तानको सबैभन्दा ठूलो साझेदार मान्न सकिन्छ । ‘हामी (अमेरिका) लाई तालिबानसँग जोडिन पाकिस्तानको आवश्यकता नै छैन र कतारले अहिले निश्चित रूपमा पाकिस्तानको भूमिका खेलिरहेको छ,’ इन्डो–प्यासेफिक सेक्युरिटी प्रोग्रामकी निर्देशक लिसा कुर्टिसले सेन्टर फर न्यू अमेरिकन सेक्युरिटी थिंक–ट्यांकमा बताएकी छिन् ।
तालिबान र पाकिस्तानी सेनाबीचको तनावमा बढोत्तरी भएको छ, नतिजा सीमा क्षेत्रमा कैयौँ सेना मारिएका छन् । पाकिस्तान तालिबानले उग्रवादी समूहलाई थप परास्त गरोस् भन्ने चाहन्छ र तालिबानले पाकिस्तानमा हिंसा बढाउनेछ भनेर पनि चिन्तित छ । र, यो देखिन थालिसकेको छ ।
चीन : इमरान खानले निरन्तर रूपमा पाकिस्तान एवं विश्वमै चीनको सकारात्मक भूमिकालाई जोड दिँदै आएका थिए । यसैबीच ६० अर्ब डलर लागतको चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) को अवधारणा पाकिस्तानका दुई स्थापित दलले अघि सारेका र लागू गरेका हुन् । र, यी दुवै दल नयाँ बन्ने सरकारमा सत्ता साझेदार हुनेछन् । सम्भावित उत्तराधिकारी सहबाज तीनपटक प्रधानमन्त्री भएका नवाज सरिफका कान्छा भाइ हुन्, जो पन्जाबका पूर्वी प्रान्तका नेताका हैसियतले चीनसँग प्रत्यक्ष सम्झौता गर्छन् । र, सहबाजले जमिनी राजनीतिक खिचातानीलाई पन्छाएर ठूला पूर्वाधारका योजना हासिल गर्ने छविको निर्माण गरेका छन्, जुन बेइजिङले खोजेको जस्तै हुनेछ ।
भारत : आणविक अस्त्रधारी यी दुई छिमेकीले सन् १९४७ को स्वतन्त्रतापछि तीन युद्ध लडिसकेका छन् । जसमा, दुई युद्ध मुसलमान बाहुल्य भएको विवादित भूमि कस्मिरलाई लिएर भएका छन् ।
अफगानिस्तानमा झैँ पाकिस्तानी सेनाले संवेदनशील क्षेत्रका नीतिमा नियन्त्रण राख्छ र व्यावहारिक सीमा क्षेत्रमा हुने तनाव सन् २०२१ मा सबैभन्दा कम भएको छ र यसको श्रेय युद्धविरामलाई जान्छ । यद्यपि, यी प्रतिद्वन्दीबीच वर्षौंदेखि औपचारिक कूटनीतिक वार्ता हुन सकेको छैन, जसमा विविध मुद्दा रहेका छन् । र, भारतका मुसलमान अल्पसंख्यकमाथि भइरहेका आक्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई लिएर इमरान खानले गरेको चर्को आलोचना वार्तामा अवरोध ल्याउने मुद्दाभित्र पर्छ ।
भारत–पाकिस्तान मामिला हेर्ने भारतका राजनीतिक टिप्पणीकार करन थापरका अनुसार पाकिस्तानी सेनाले नयाँ बन्ने सरकारलाई कस्मिर मामिलामा सफल युद्धविरामको स्थिति निर्माण गर्न दबाब दिन सक्छ ।
पाकिस्तानका शक्तिशाली सेना प्रमुख जेनरल कामर जावेद बाज्वाले हालै यदि भारत सहमत हुने हो भने आफ्नो मुलुक कस्मिर मामिलामा अगाडि बढ्न तयार रहेको बताएका छन् । सरिफ परिवार पछिल्ला केही वर्षमा भारतप्रति शान्तिपूर्ण रबैया अपनाउने विषयमा अग्रपंक्तिमा छ ।
अमेरिका : अमेरिका आधारित दक्षिण एसियाविज्ञ पाकिस्तानमा आमअशान्ति वा भारतसँग बढ्दो तनावको अवस्था निम्तिँदैन भने पाकिस्तानमा विकास भइरहेको राजनीतिक संकट राष्ट्रपति जो बाइडेनका लागि प्राथमिकताको विषय होइन भन्ने बताउँछन् किनभने बाइडेन अहिले युक्रेनमा भइरहेको युद्धमा जेलिएका छन् । ‘हाम्रा थुप्रै अरू प्राथमिकता छन्,’ दक्षिण एसिया मामिला हेर्ने पूर्व–सहायक विदेशमन्त्री एवं सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज थिंक ट्यांकका वरिष्ठ अधिकारी रोबिन राफेल बताउँछन् ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्की दक्षिण एसिया मामिला हेर्ने वरिष्ठ निर्देशकसमेत रहेकी लिसा कुर्टिसले ‘अमेरिकाको चासो रहेको अफगानिस्तान, भारत र आणविक हतियारसम्बन्धी नीति सेनाले हेर्ने भएकाले पाकिस्तानका आन्तरिक राजनीतिक विकास मूलतः अमेरिकाका लागि असान्दर्भिक हुन्छ’ भनेर टिप्पणी गरेकी थिइन् । उनले इमरान खानको मस्को भ्रमण पाकिस्तान–अमेरिकी सम्बन्धका सन्दर्भमा एक ठूलो ‘प्रलय’ भएको र इस्लामाबादमा बन्ने नयाँ सरकारले ‘केही मात्रामा’ सम्बन्धलाई सुधार्ने बताएकी छिन् ।
मस्को भ्रमण गरेका कारण वासिंगटनले आफूलाई हटाउन खोजेको भन्दै इमरान खानले हालको राजनीतिक संकटका लागि अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् । रोयटर्सबाट