किसानको उत्पादनको उचित मूल्य र बजार प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराही–१५ को कोठेहलमा सञ्चालनमा आएको छ, हरियो बजार । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानहरूले उत्पादन प्रशोधन गरेर बिक्री गर्ने योजनाअनुसार उक्त बजार सञ्चालनमा आएको संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले बताए । बजार सञ्चालनमा आएपछि किसानहरू खुसी छन् । ‘पहिले हामीले उत्पादन गरेको दूध बिक्दैनथ्यो, ४०–४५ रुपैयाँ लिटरमा बेच्नुपथ्र्यो,’ तुलसीपुर उपमहानगरपालिका–१६, भोजपुरका किसान कृष्णमणि शर्माले भने, ‘अहिले हरियो बजारले ६५ रुपैयाँ प्रतिलिटरमा दूध खरिद गर्छ । बजारका लागि समस्या छैन, मूल्य पनि राम्रै पाएका छौँ ।’ मह उत्पादन गर्ने किसानहरू पनि उत्तिकै खुसी छन् । तुलसीपुरस्थित न्यौपाने हनी सेन्टरले पनि हरियो बजारले महलाई बजारीकरण गरेपछि आफूलाई सहज भएको बताए ।
दूध, मह, तरकारी, खाद्यान्नलाई प्रशोधन गरेर बजारीकरण गर्ने हरियो बजारले करिब पाँच हजार किसानलाई खुसी बनाएको छ । किसानहरूले गहुँ, तोरी, धान, मकै, चना, खुर्सानी, तिल, चिउरा, भट्ट, गहत, गेडागुडी (राजमा)लगायतका दालहरू पनि ल्याउने गरेका छन् । त्यति मात्र नभई उत्पादित सिन्कामारी, अचार, सिलौटो, सिन्की, डाला, छिटुवालगायतका सामग्रीहरूलाई समेत बजारीकरण गर्ने गरिएको जाल्पाका प्रदेश प्रमुख योगीले बताए । उनका अनुसार अहिले जाल्पाका एक लाख सदस्य छन् । दाङ, प्युठान, सल्यान, रोल्पा तथा अन्य नजिकका छिमेकी जिल्लाका सदस्यहरूको उत्पादन बजारीकरण गर्ने गरेको उनले बताए । जाल्पाले किसानलाई ऋण दिने र त्यसबाट उनीहरूले उत्पादन गरेका चिजहरू बजारीकरण गर्न महिला सामुदायिक सेवा केन्द्र (हरियो बजार) सञ्चालनमा ल्याएको हो ।
०७४ सालदेखि हरियो बजार सञ्चालनमा आएको हो । ‘जाल्पाले ऋण लगानी गर्ने र किसानहरूले त्यसबाट दूध, तरकारी, महलगायत अन्य सामग्रीहरू पनि निर्माण गर्ने गरे । तर, त्यसले बजार पाउन सकेन,’ उनले भने, ‘त्यसपछि हामी आफैँले हरियो बजार सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेको चिजलाई प्रशोधन गरेर बजारसम्म लैजाने गरेका छौँ ।’ दूधबाट दही, पनिर, खुवा बनाएर बिक्री गर्ने गरिन्छ । त्यस्तै, किसानबाट खरिद गरेको तोरीबाट तेल, धानबाट चामल, गहुँको पिठो बनाएर बिक्री गर्ने गरिएको छ । जसबाट संस्थाले किसानलाई सहजतासँगै खर्च कटाएर मासिक २५ हजारको हाराहारीमा आम्दानी पनि गर्ने गरेको प्रमुख योगीले बताए । अहिले दाङको हरियो बजारमा दुई सयजनाले दूध उपलब्ध गराउने गरेका छन् । दैनिक पाँच सय लिटर दूध आफूहरूले खरिद गर्ने गरेको उनको भनाइ छ । त्यस्तै, दुई सयजना किसानले मह उत्पादन गर्ने गरेका छन् ।
घरमै पुग्छन् प्राविधिक
हरियो बजारमा प्राविधिकसहित १५ कर्मचारी छन् । उनीहरूले किसानको घरमै गएर तालिम प्रदान गर्नेदेखि फार्मको अनुगमन गर्छन् । उत्पादन भएका वस्तुहरू काठमाडौंमा पनि पुग्ने गरेका छन् । काठमाडौंका चारवटा सहकारीलाई उक्त चिजहरू उपलब्ध गराउने गरिएको छ भने अधिकांश स्थानीय बजारमै खपत भइरहेको योगीको भनाइ छ ।
तोरीको तेल, गेडागुडी, मह, बेसार, अदुवा, लसुनलगायतलाई काठमाडौंसम्म पनि पुर्याउने गरिएको छ । चालू आर्थिक ०७८/७९ मा किसानबाट दुई सय क्विन्टल तोरी, तीन सय क्विन्टल धान, २० क्विन्टल मह, पाँच क्विन्टल अन्य गेडागुडी खरिद भएको उनले बताए । जाल्पाका सदस्यहरू मात्रै नभई बाहिरबाट पनि यसरी किसानले उत्पादन भएको सामग्री हरियो बजारमा ल्याउने गरेका छन् । दाङबाट मात्रै नभई सल्यानबाट आलु, कागती, रोल्पाबाट आलु, लसुन, प्युठानबाट गेडागुडी पनि आउने गर्छ ।
प्रमुख योगीका अनुसार हरियो बजारलाई अझै व्यवस्थित बनाउनका लागि केही संरचना थप्ने तयारीसमेत रहेको छ । अब दुई हजार लिटर क्षमताको दूध प्रशोधन केन्द्र स्थापना गर्ने, पशु बिमा, कृत्रिम गर्भाधान, घाँसका बिउ उत्पादन गर्नुका साथै दूधको हब बनाउनका लागि आर्थिक सहयोग गर्ने लक्ष्य रहेकोसमेत उनले बताए ।
घोराहीका दुई ठाउँमा हरियो बजार
सुरुमा कोठेहलबाट सेवा दिएको हरियो बजारले अन्य एक ठाउँबाट पनि सेवा थप गरेको छ । घोराही–१५ कै रतनपुरबाट त्यो सेवा प्रदान गरिएको हो । अब केही समयमा दाङ जिल्लाको तुलसीपुर र भालुबाङबाट यो सेवा सुरु गर्ने लक्ष्य रहेको प्रमुख योगीको भनाइ छ । जाल्पाका हाल देशभर ९८ शाखा छन् भने त्यसमा एक लाख सदस्य आबद्ध छन् । संस्थाले बचत, ऋण, बिमा, रेमिट्यान्स र उद्यमशीलता सेवा प्रदान गर्दै आएको छ ।
हरित क्रान्तिमार्फत पर्यावरण संरक्षण गर्ने उद्देश्य छ
हरियो बजार किन स्थापना गरिएको हो ?
‘महिला उद्यमशीलतामार्फत हरित क्रान्ति’ भन्ने नाराका साथ हामीले दुई वर्षअगाडि हरियो बजार स्थापना गरेका हाैँ । यस अभियानमा कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक तालिम, बिमा, उन्नत कृषि औजारदेखि मलसम्मको पहुँच अभिवृद्धिका साथै उत्पादनलाई उचित मूल्यमा खरिद गरी बजारीकरणसम्मका व्यवस्थापनहरू पर्छन् । महिलाहरूमा उद्यमशीलता विकास गर्दै हरित क्रान्तिमार्फत पर्यावरण संरक्षणसम्मका कार्य गर्ने उद्देश्य रहेको छ ।
उद्देश्यअनुरूप संस्था चल्न सकेको छ ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ग्राहक संरक्षण सिद्धान्तलाई आत्मसात् गरी ग्राहक सदस्यहरूको आर्थिक सशक्तीकरणमा विविध कार्य गरी आएको छ । ग्राहक सदस्यहरूलाई बचत तथा ऋणमा मात्र समावेश नगराई क्रेडिट प्लस अवधारणामा रही उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएका छाँै ।
उद्यम विकास कार्यक्रममार्फत सदस्यहरूलाई मागमा आधारित तालिम, प्राविधिक सहयोग, व्यावसायिक योजना निर्माण, वित्तीय साक्षरता, परामर्श तथा सदस्यहरूलाई व्यावसायिक बनाउँदै उत्पादनलाई बजारीकरण गर्नेसम्म कार्य गरिरहेका छाैँ।
हरियो बजारले सदस्यहरूमा कस्तो प्रभाव पारेको छ ?
तालिम, प्राविधिक सहयोगमार्फत सदस्यहरूलाई गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गर्न सहयोग गरेको छ । सदस्यहरूको व्यावसायिकतामाा विकास हुँदै गएको छ । वैदेशिक रोजगारबाट युवाहरूसमेत आफ्ना गाउँघरमा बसी नयाँ व्यवसाय सुरुवात गरेका छन् । गाउँ–गाउँमा पकेट क्षेत्र निर्माण गरी उत्पादन वृद्धि गर्दै वैदेशिक आयातलाई रोक्न आवश्यक कार्य गर्नुपर्ने हालको अवस्थामा यस वित्तीय संस्थाले गरेको कार्यबाट सदस्यहरूलाई सकारात्मक प्रभाव परेको छ ।
आगामी दिनमा अन्य योजना के छन् ?
अहिले हरियो बजारले डेरी बेकरी सञ्चालन गरिरहेको छ । आगामी दिनमा वित्तीय संस्थाले हरियो बजारको कार्य क्षेत्र विस्तार गर्दै कृषिजन्य उत्पादन तथा पशुजन्य उत्पादनलाई बृहत् बनाउने । कृषक सदस्यहरूलाई प्राविधिक सेवा प्रदान गरी व्यावसायिक उत्पादन गर्न आवश्यक सहयोग गर्ने, धान, तोरी, मकै, भटमास, अन्य नगदे बालीका साथै दूध, मह आदिको पकेट क्षेत्र बनाई यस क्षेत्रका उत्पादनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य रहेको छ ।