१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २८ सोमबार o७:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल बने एकीकृत समाजवादीका चुनावी कमान्डर

गठबन्धनमा आफ्नो भागमा परेकाबाहेक अन्य सिटमा उम्मेदवारी नदिने निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o७:१८:oo

आसन्न स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई नै प्रमुख कमान्डर बनाएको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।  नेपालको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको एकीकृत समाजवादीले जनाएको छ । निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू छन् । त्यस्तै, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारीहरूसमेत सदस्य रहेका छन् ।

महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरिएको छ ।सचिवालय बैठकले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गर्ने स्थानीय निर्वाचन घोषणापत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको छ । 

 उम्मेदवार चयनको प्रक्रिया
एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा उम्मेदवार चयनको प्रक्रियाबारे पनि निर्णय लिएको छ । वडा सदस्यको उम्मेदवारको निर्णय पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीबाट, वडा अध्यक्षका लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट निर्णय हुनेछ । यसबाहेक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताइएको छ । कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी पैmसला गर्नेछ । 

 कहिलेसम्म टुंगिन्छन् उम्मेदवार
सचिवालय बैठकले उम्मेदवार छनोट गर्ने समयतालिका पनि सार्वजानिक गरेको छ । वैशाख ८ भित्र उम्मेदवारको टुंगो लगाउने एकीकृत समाजवादीको योजना छ । वडा कमिटीले यही ३० चैतभित्र उम्मेदवार सिफारिस गर्नेछ, पालिका कमिटीले आगामी २ वैशाखभित्र निर्णय र सिफारिस गरिसक्ने बताइएको छ । जिल्ला कमिटीले ४ वैशाखभित्र, प्रदेश कमिटीले ६ वैशाखभित्र, केन्द्रीय कमिटीले ८ वैशाखभित्र निर्णय गरिसक्ने कार्यतालिक छ । एकीकृत समाजवादीले गठबन्धनमा आफ्नो भागमा परेकाबाहेक अन्य ठाउँमा उम्मेदवारी नदिने पनि स्पष्ट गरेको छ । ‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिनेछ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहनेछैनन्,’ निर्णयमा छ ।