रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भlड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला लाग्ने गरेको छ । हप्ता दिन अघिदेखि सुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए । ‘रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिर आसपासका होटेल तथा रेस्टुरेन्टहरू भरिभराउ भएका छन्,’ उनले भने, ‘आगामी दिनमा दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि सुविधासम्पन्न धर्मशाला निर्माण गरेर राख्ने योजना बनाइएको छ ।’
नेपाल आयल निगमको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमबाट हलेसीमा धर्मशाला निर्माणको काम भइरहेको छ । पार्किङ स्थलसहितको धर्मशाला निर्माण सम्पन्न भएपछि हलेसी आउने सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसमेत सोही धर्मशालामा राखिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडकखण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारीसाधन लिएर हलेसी आउने गरेका हुन् । हलेसीमा लाग्ने १५ दिने मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी विकल श्रेष्ठले बताए । ‘हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ,’ उनले भने, ‘मेलामा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न तथा पूजाआजा गर्ने स्थानमा हुने अव्यवस्थित भिडभाडलाई व्यवस्थित गर्न जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको हो ।’
धार्मिक तथा पर्यटकीय महत्व
त्रिधार्मिक धाम हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू रहेका छन् । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ । घनाजंगलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायत अवसरमा ठूलो मेला लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोसीस्थित हर्कपुर र दूधकोसीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै मधेससँग जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाक्लो भिड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसिक्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसिक्यामेरा जडान गरिएको हो ।