इनारमा हामफाल्दा दाङमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– २ रामपुर निमोरियानिवासी ३४ वर्षीय होमनारायण चौधरी रहेका छन्।
आइतबार बिहान साढे ८ बजेतिर चौधरी इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर इनारबाट शव निकाल्ने काम भइरहेको नेपाली सेना रणसिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए। इनारमा करिब २५ फिट पानी भएकाले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए।
चौधरीको गाउँकै एक महिलासँग शारीरिक सम्बन्ध रहेको हल्लापछि गाउँमा बैठक बोलाइएको थियो। त्यसबाट बच्नका लागि उनले इनारमा हामफालेको हुन सक्ने प्रहरीको अनुमान छ।