
भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विस्तृत कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवालाई विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नेदेखि वनारसमा सात घण्टा व्यतीत गरेर स्वदेश फर्किनेसम्मको कार्यक्रम सार्वजनिक भएको हो । नेपाल सरकारले भने प्रधानमन्त्रीको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री देउवा भारतीय समयअनुसार शुक्रबार दिउँसो २ः५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । उनलाई मन्त्री वा राज्यमन्त्री कुन तहका नेताले स्वागत गर्ने भने उल्लेख छैन ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न साढे ४ बजे विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार ११ः१० बजे हैदराबाद हाउसमा सुरु हुनेछ ।
सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन् ।
द्विपक्षीय औपचारिक वार्तापछि सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर जयनगर रेल्वे शुभारम्भ गर्नेछन् भने भारतको सहयोगमा नेपालमा भूकम्पपछि निर्माण भएका स्वास्थ्य चौकीहरूका उद्घाटन गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
शनिबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार विदेश भ्रमणमा निस्कने भएका कारण कार्यबाहक राष्ट्रपतिका रूपमा उपराष्ट्रपति नायडुसँग प्रधानमन्त्री देउवाको शिष्टाचार भेट तय भएको छ ।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट वनारस (वाराणसी) पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् भने नेपाली धर्मशालाको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा बनारसबाट अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।