१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार o७:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

‘ज्यानमारा टिपर’ : स्कुल जान लागेका दुई बालिका सडकमै अस्ताए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार o७:२५:oo

बाबु रोहन तामाङको अवस्था चिन्ताजनक, आमा अझै बेहोस

विद्यालय पुर्‍याउन दुई छोरीसहित घरबाट निस्किएका गोकर्णेश्वर नगरपालिका–१ का ३० वर्षीय रोहन तामाङ सडक दुर्घटनामा घाइते मात्रै भएनन्, फूलजस्ता दुई छोरीसमेत गुमाउन पुगे । 

सदाझैँ रोहन बुधबार बिहानै उठे । गोकर्णस्थित ओम युथ इन्टरनेसनल स्कुलमा कक्षा ४ र एलकेजीमा अध्ययनरत दुई छोरी नौ वर्षीया श्रीया र चार वर्षीया सृष्टिलाई विद्यालय जान तयार पारे । मोटरसाइकलमा दुई छोरीलाई पछाडि राखेर बिहान ८ बजे सडकमा निस्किए । आफ्नै गतिमा गोकर्णतर्फ हुइँकिएका उनी सुन्दरीजल चोकस्थित दोबाटोमा मात्रै के पुगेका थिए, माटो लोड गरेको बा.४ख ६९६५ नम्बरको टिपर ब्याक हुँदै उनीतर्फ आयो । र, दुई नाबालकको ज्यान लिएर मात्रै सडकमा रोकियो ।  

उद्धार गर्न घटनास्थल पुगेका गोकर्णेश्वर नगरपालिका–१ का वडाध्यक्ष राम मानन्धरका अनुसार टिपर रोक्न रोहनले मोटरसाइकलको प्रेसर हर्न बजाएका थिए । ठूलो स्वरले गुहार पनि मागेका थिए । तर, टिपर  रोकिएन । पछाडितर्फ आएको टिपरले मोटरसाइकललाई सडकमै ढाल्यो । चिच्याइरहेका रोहनको दुवै खुट्टामाथि टिपर दौडियो । सँगै रहेका श्रीया र सृष्टिलाई हेर्दा–हेर्दै सडकमा धुलो बनायो । 

गोकर्णेश्वर–१ का वडाध्यक्ष मानन्धरले भने, ‘माटो लोड गरिएको टिपर अन्धाधुन्द ब्याक भयो । दुई बच्चासहित पछाडि थिए रोहन । उनले रोक्न हर्न बजाए । चिच्याए । तर, चालकले सुनेन । जबर्जस्ती टिपर ब्याक भयो । हेर्दाहेर्दै रोहनलाई किच्यो । सँगै रहेका उनका दुई छोरीलाई पनि किच्यो । दुवैको घटनास्थलमै ज्यान गयो ।’

मानन्धरका अनुसार रोहनका दुवै खुट्टा भाँचिएका छन् । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था अझै चिन्ताजनक छ । घटनाका कारण रोहनकी श्रीमतीको होस खुल्न नसकेको मानन्धरले बताए । ‘अति नै दुखद घटना भयो । रोहनको अत्तरखेलमा उपचार भइरहेको छ । उनको तिघ्रा भाँचिएको छ । होस अझै खुल्न सकेको छैन । अवस्था चिन्ताजनक नै छ । उनकी श्रीमतीको अवस्था उस्तै नाजुक छ । परिवारका सदस्यलाई सहानुभूति दिन हामी लागिपरेका छौँ,’ उनले भने ।

प्रहरीका अनुसार घटनाका कारण दिनभरजसो सुन्दरीजल क्षेत्र तनावग्रस्त बन्न पुग्यो । ४५ लाख क्षतिपूर्ति र घाइतेको उपचार गर्ने प्रतिबद्धतापछि बुधबार साँझ मात्रै तनाव सामान्य बन्न पुगेको थियो । टिपरचालकलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । दुई बालिकाको शव परिवारका सदस्यले बुझिसकेका छन् ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
कास्की/ ट्रकले स्कुटरलाई ठक्कर दिँदा भएको दुघर्टना परी पोखरामा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरचालक पोखरा महानगरपालिका–१५ बस्ने वर्ष १८ की अञ्जना पाइजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा–८ सभागृह चोकमा ना.६ख ४७२५ नम्बरको ट्रकले ग.१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते स्कुटरचालक पाइजालाई उपचारका लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको तिवारीले जानकारी दिए ।

दृर्घटनामा परी स्कुटमा सवार पोखरा–१० घले चोक बस्ने वर्ष १८ की मीना गुरुङ घाइते भएकी छिन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

ad
ad
ad
ad