कांग्रेसले अझै ‘गठबन्धन’लाई बोकेर हिँड्नु कांग्रेस र देश दुवैका लागि कत्ति पनि हितकर हुँदैन
स्थानीय तह निर्वाचनका लागि कांग्रेसले पनि चुनावलक्षित पाइला अघि बढाइसकेको छ । तर, मुकाममा पुग्ने पाइला के–कसरी अघि बढाउने भन्नेमा कांग्रेस प्रस्ट हुन बाँकी छ । सिंगल भिड्ने कि सहयोगीसहित भन्नेमा द्विविधामै छ कांग्रेस । जोसँग सम्भावित चुनावी तालमेलको चर्चा छ, उनीहरूका जारी राजनीतिक गतिविधि विश्वासयोग्य छैनन्, सर्त र माग न्यायोचित छैनन् । मुख्य कुरा त विचारै नमिल्ने भएकाले तालमेल कहिले बेमेलमा परिणत हुन्छ, यकिन छैन ।
राजनीतिक प्रणालीमाथि नै धाबा बोल्दै अघि बढेको अघिल्लो स्वेच्छाचारी सरकारलाई लगाम लगाएर काबुमा राख्न सहकार्य गरेका दलहरूबारे सोच्नुपर्ने व्यावहारिक पक्ष कांग्रेससामु छ । तर, यसमा आफ्नै पार्टीप्रतिको धर्म निर्वाहको सवाल पनि महत्वपूर्ण छ । सम्भव भएसम्म व्यवहार र धर्मबीच सन्तुलन मिलाएर अघि बढ्नु मुनासिब हुन्छ । होइन, सन्तुलन बिग्रिएर भोलि दुर्घटना हुने र ‘गठबन्धन’को भारीले आफैँ थिचिने अवस्था आउँछ भने कांग्रेसको पहिलो रोजाइ आफ्नो धर्म निर्वाह नै हुन्छ । तालमेलप्रतिको खुलापन कांग्रेसको कमजोरी होइन, सदासयता हो ।
कुनै कामका लागि एक भएर मिल्ने काम वा स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ हो ‘गठबन्धन’ । देशभन्दा बढी आफूलाई केन्द्रमा राख्ने दम्भी शासकलाई हटाएर शासन व्यवस्था जोगाउने तत्कालीन स्वार्थ पूरा भइसकेको छ । अब फरक विचार र दर्शन भएका दलहरू फरक–फरक बाटो हिँड्न स्वतन्त्र छन् । विशेषावस्थामा बनेको ‘गठबन्धन’लाई सामान्यावस्थामा निरन्तरता दिइरहनु जरुरी हुँदैन । कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको बुझाइ पनि यही हो । अहिले खासगरी सत्ताघटक तीन दल माओवादी केन्द्र, जसपा र नेकपा समाजवादीले स्वार्थी र अवसरवादी व्यवहार देखाइरहेका छन् । कांग्रेससँग मिलेर जानुपर्छ भन्ने उनीहरूको छटपटी सतहमै देखिन्छ । तर, भित्रभित्रै कांग्रेसभन्दा बाहिर गएर पो फाइदाजनक तालमेल गर्न सकिन्छ कि भन्ने गतिविधि पनि सँगसँगै अघि बढेको छ । यस्तो गतिविधि केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको छ ।
जसलाई संविधानदेखि शासन व्यवस्थासम्म ध्वस्त बनाउन थाल्यो भनेर दोषी करार गरियो, उसैसँग तालमेलको प्रपञ्च हुँदै छ । केन्द्रीय नेताहरू एमालेसँग तालमेलको सम्भावना जीवितै रहेको भन्दै कांग्रेसलाई धम्क्याइरहँदा जिल्ला र पालिका तहमा ‘तिम्रो त्यो पालिका, मेरो यो पालिका’ भनेर भागबन्डा चलिरहेको छ । यस्ता गतिविधि देखिरहँदा उनीहरू सकेसम्म भोलि जता आफूलाई फाइदा हुन्छ, त्यतै ढल्किने हुन् भन्ने बुझ्न गाह्रो छैन । पिँधविनाको लोटाजस्तो ढलमलाइ जान्दाजान्दै तालमेल किन भन्ने प्रश्न कांग्रेसका लागि उत्तिकै मननीय छ । कमजोर आधारमा बन्ने तालमेलमा उभिएर कांग्रेस फैलिने सम्भावना त अहिलेसम्म देखिएको छैन, यस्तै हो भने बरु उल्टो खुम्चिने अवस्था भने नआउला भन्न सकिन्न ।
राणाशासन अन्त्यदेखि गणतन्त्रको स्थापनासम्मका उपलब्धि संविधानमार्फत संस्थागत गर्न नेतृत्व गरेको कांग्रेस आफैँ पछाडि परेको अवस्था छ । प्रारम्भिक चरणमै सत्ता तिकडमबाजहरूको कब्जामा पुगेपछि संविधान कार्यान्वयनमा गतिरोध आयो । संघीय गणतन्त्रात्मक व्यवस्थामाथि नै चटक हुन थाल्यो । फलतः हामीले थालेको शासन प्रणाली उच्चतम अभ्यास गर्नै नपाई बदनाम हुन पुग्यो । त्यसैले अहिले कांग्रेसको मुख्य कार्यभार भनेको विद्यमान व्यवस्थाको रक्षा नै हो । यो व्यवस्थाप्रति जनताको विश्वासमा बढोत्तरी गर्नु हो । व्यवस्थाविरोधी प्रतिगामीलाई परास्त गर्नु हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई लागेको हुन सक्छ, कम्युनिस्ट–कम्युनिस्ट मिलिदिए भने त ? चिन्ता उत्पन्न हुनु अनौठो होइन । सँगसँगै देउवामा संशय र चिन्ता उत्पन्न हुनुको अर्थ यो पनि हो कि उनीहरू विश्वासलायक छैनन् । परिपक्व नेता देउवाले नै उनीहरूलाई हामीले भन्दा बढी नै बुझेका छन् । तिनका गतिविधि नियालिरहेका नागरिकले पनि बुझेका छन् । प्रस्टै छ, उनीहरू जोकसैसँग पनि बिक्री हुन तयार छन्, कुरा मूल्य कसले बढी दिन्छ भन्ने मात्रै हो । भलै उनीहरूको एकल भाउ ओरालो लागेर ‘खोटा सिक्का’ हुने चरणमा पुगेको किन नहोस् । आफूलाई सत्तामा चढाउनेहरूप्रति एक किसिमको दयाभाव देखिनु अस्वाभाविक होइन । तर, त्यही दयाभावले आफैँलाई हानि पुर्याउन सक्छ भन्ने बुझ्दाबुझ्दै टाँसिइरहनु पनि स्वाभाविक हुँदैन । अहिले देशैभर कांग्रेसप्रति जनविश्वास बढेको छ । कांग्रेस नेता, कार्यकर्ता पनि बडो उत्साही देखिन्छन् । अधिकांशको चाहना कांग्रेस एक्लै निर्वाचनमा जाओस् भन्ने छ । कुनै ठाउँ ‘गठबन्धन’का दलहरू नमिल्दा गुम्ने अवस्था आउँछ भने त्यस्तो ठाउँमा स्थानीयस्तरमै समझदारी गरेर तालमेल गर्न सकिने आम कांग्रेसजनको बुझाइ हो । निर्वाचन रणनीति र उम्मेदवार चयनमा चुकेन भने कांग्रेसको जित धेरै पर छैन ।
एमाले नेतृत्वको बर्बराहट हेर्दा उसले आफ्नो हार सन्निकट देखिसकेको बुझिन्छ । हारको आभास भएरै हो, आफूलाई शक्तिकेन्द्र दाबी गर्ने एमाले अहिले भर्तीकेन्द्र बनेको छ । विचार, सिद्धान्त, मूल्य, मान्यता, जायज, नाजायजले एमालेको नजरमा कुनै माने राख्दैन । निर्वाचन जितिन्छ भने सबथोकमा सम्झौता गर्न ऊ तयार छ । उसमा ‘निर्वाचन दृष्टिदोष’ छ । उसले जे हेर्न चाहेको छ, त्योबाहेक देख्दै देख्दैन । दृष्टिदोषबाट मुक्त नभई हेर्न चाहेको परिणामसम्म पुगिँदैन भन्ने उसले चटक्कै बिर्सिएको छ ।
कहिले मतपत्रको रङ त कहिले चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहितासँग एमाले तर्सिरहेको छ । ओली हचुवाका भरमा भनिदिन्छन्– निर्वाचन सार्ने ‘कलात्मक षड्यन्त्र’ भइरहेको छ । कार्यकर्तालाई उत्तेजित पार्दै निर्देशन दिन्छन्– मतपेटिका फेरिन सक्छ, सजग हुनू । यस्तैयस्तै अफवाह फैलाएर एमालेले आफू मात्र निर्वाचनको हिमायती भएको भाष्य निर्माण गर्न खोजिरहेको छ । अरू निर्वाचनमा जान डराएका छन् भन्ने प्रपोगान्डा फ्याँकिरहेको छ । आफू मात्र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको जस्तो भान पार्न खोज्दै छ । ताकि भोलि हार भयो भने भन्न पाइयोस्– हामीले त पहिल्यै भनेका थियौँ नि !
३० वैशाखले स्वाहा पार्ने हो कि भन्ने चिन्ताले तालमेलको दौडधुप गरिरहेका दलहरूको छटपटाहट पनि उग्रै छ । एमालेका नेताहरूसँग माओवादी, नेकपा समाजवादी र जनता समाजवादीका नेताहरूको हिमचिम बढेको छ । बार्गेनिङ उता पनि चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त ओलीलाई फेरि प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको स्विकारिसकेका छन् । राजनीतिमा असम्भव केही छैन भन्ने हिजोआज बाक्लिएको उनको उद्गार कांग्रेस तर्साउने र एमाले फुक्र्याउने चाल हो भन्ने सहजै बुझिन्छ । अतः कांग्रेसले अझै ‘गठबन्धन’लाई बोकेर हिँड्नु कांग्रेस र देश दुवैका लागि कत्ति पनि हितकर हुँदैन ।