मुठी कस्न नजान्दा हत्केलाबाटै फुत्किएको ‘सत्ता’ अहिले कांग्रेसभित्र आपसी दोषारोपणको प्रमुख कारण बनेको छ । सरसर्ती हेर्दा त्यो हत्केला कस्नुपर्ने मुख्य जिम्मेवार कांग्रेस सभापति शेरबहादुर देउवा नै हुन् । उनको दिल–दिमागले बेलैमा बुझेर सञ्चार गर्न सकेको भए मुठी कसिन्थ्यो पनि होला । तर, देउवाको दिल–दिमागमा निकै ढिलो गरी चेत घुस्यो ।
चेत चलाययमान हुने गरी सलबलाएको मात्र के थियो, सत्ता भुर्र भइसकेको थियो । सारमा भन्दा बुढ्यौलीले थलिएका र ‘आफ्नै’ले थिचिएका देउवाका ग्रन्थीहरू लुला हुँदा कांग्रेसको हत्केलामा आइसकेको सत्ता अडिइरहन सकेन ।
माथिल्लो प्यारामा मैले सभापति देउवालाई कांग्रेस पार्टी र ग्रन्थीलाई कांग्रेसका नेताहरूको बिम्ब मात्र बनाएको हुँ । अन्यथा बुझेर कसैले पनि हौसिनुपर्ने वा कुँडिनुपर्नेछैन ।
कांग्रेसले अहिले सत्ता गुमाउनुमा अमुक व्यक्ति वा पक्षलाई मात्र दोषी किटान गर्नु पूर्ण हुँदैन । कोही कम होला, कोही ज्यादा, तर दोषी त जिम्मेवार तहमा बसेका सबै नै हुन् । यस मामिलामा कसैले पनि अमुक व्यक्ति वा पक्षलाई मात्र दागी देखाएर आफूलाई साफ–सुथरा देखाउन नखोज्दा हुन्छ । बरु आफ्नो हिस्सामा कति अंश पर्छ, लिन तत्पर रहँदा नै पार्टीलाई हित गर्ला ।
सत्ताका लागि निर्वाचनअगावै गठबन्धन ‘संस्कृति’मा समाहित हुने पार्टीको जोरजबर्जस्तीपूर्ण कार्यनीति र पार्टीभित्र व्यापक बन्दै गएको पुस्तान्तरणको विषयसँगै कांग्रेसको लय थप बिग्रिएको छ । कांग्रेसभित्र केही सामान्य लाग्ने असामान्य गतिविधिले गति समातेको छ । जसलाई आन्तरिक लोकतन्त्र, वैचारिक स्वतन्त्रता, स्वस्थ प्रतिस्पर्धा, उदारताजस्ता कैयौँ मूल्य–मान्यताको लेपन लगाएर ढाकछोपको प्रयत्न भइरहेको छ ।
लोकतन्त्र, स्वतन्त्रता, प्रतिस्पर्धा, उदारताजस्ता शब्दका आफ्नै परिधि छन् । परिधि नाघेर भएका गतिविधिले यिनको मर्म अथ्र्याउँदैनन् । मर्मविपरीतका गतिविधिको सामीप्य अरू नै शब्दावलीसँग रहन्छ र अर्थ पनि बिल्कुलै फरक हुन जान्छ । तर, सतही बुझाइ र पूर्वाग्रहले त्यस्तो देख्दैन । र, परतन्त्र, स्वच्छन्द, लडाइँ, अराजकताजस्ता फेरिएका स्वरूपलाई पनि छुट्याउन सक्दैन ।
कांग्रेस एउटा विचार हो । विचारले नै कांग्रेस जन्मिएको हो । नेता वा कुनै व्यक्तिविशेषले कांग्रेस जन्माएको–हुर्काएको बिल्कुलै होइन । कांग्रेसभित्र धेरै हदसम्म विचारकै आधारमा नेतृत्व स्थापित भएका छन् । विचारविहीनहरू कसैगरी कांग्रेस नेतृत्वमा पुगे होलान्, पुग्लान् पनि । तर, के उनीहरू शीर्ष स्थानमा रहिरहन्छन् ? मुख्य प्रश्न यही हो ।
कांग्रेस १४औँ महाधिवेशनदेखि नीतिविहीन छ । अघिल्लो वर्ष मंसिरमा भएको महाधिवेशनमा पार्टी वैधानिकताको सवाललाई कारण बनाएर नीतिको सवाल पन्छाइयो । महाधिवेशनका ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने भनियो । नीतिका सम्बन्धमा नाजवाफ भएका कांग्रेसजनको बोली भाका नाघेको आठ महिनासम्म पनि प्रस्टसँग फुकिसकेको छैन । एकाध स्वरहरू पनि सत्ता फुत्किएपछिको सन्नाटामै हराएका छन् ।
कांग्रेस संस्थापन पक्ष अहिले तुलनात्मक रूपमा रक्षात्मक अवस्थामा छ । इतरपक्ष सत्ता गुम्नुको सम्पूर्ण दोष संस्थापनमाथि थोपर्न उद्यत् छ । पार्टीभित्र एकताको भावना ह्रास हुँदै जाँदा भोग्नुपरिरहेको अहिलेको नियतिले पनि नीति निर्माणमा घचघच्याउन सकिरहेको छैन । घनीभूत छलफल गर्नुपर्ने घडीमा पनि कांग्रेस हाँक्ने भनिएका नेताहरू छिन्नभिन्न छन् । बल्लतल्ल डाकिएको केन्द्रीय समिति बैठक पनि धकेलिएको छ । जिम्मेवार भनिएका धेरै त निष्क्रिय नै बसेका छन् । थोरबहुत सक्रिय भनिएकाहरू पनि बेतालमा दौडिएका छन् । निश्चित छ, उनीहरू जहाँ पुगे पनि फेला केही पार्नेछैनन् । खाली हातै फर्कँदा ‘मैले त प्रयास गरेकै हुँ’ भन्ने पार्नु मात्र सायद उनीहरूको अहिलेको प्रयास हो ।
कांग्रेसले सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीभित्रको द्वन्द्वका कारण अहिले सत्ता मात्र गुमाएको छैन, आफ्नै नेतृत्वमा हासिल भएका विद्यमान राजनीतिक–सामाजिक र आर्थिक उपलब्धिसमेत गुम्ने खतरा पनि बढाएको छ
नेताहरू एक हुनुपर्ने वेला अनेक भएका छन् । पार्टीभित्र सहमतीय संस्कृति सकिएजस्तो देखिँदै छ । एउटाले अर्कोलाई मान्न तयारै छैन । हरेक विषयमा दृष्टि नपुग्दै पूर्वाग्रहले छेकिदिन्छ । राम्रो–नराम्रो छुट््याउन विचार–विमर्श, विश्लेषण र समीक्षासम्म पुग्नुपर्ने आवश्यकतै रहँदैन । मुद्दामा केन्द्रित भएर पार्टीभित्र संघर्ष हुने, द्वन्द्व हुने गुणबाट कांग्रेस अलग भइरहेको छ ।
पार्टीभित्र नेता को हुने र कसको वर्चस्व हुने भन्ने लडाइँ उत्कर्षमा छ । मुद्दाको लडाइँ नेताहरूको अहंकारको लडाइँमा बदलिन पुगेको छ । कांग्रेसले सबैभन्दा ठूलो दल हुँदाहुँदै पार्टीभित्रको द्वन्द्वका कारण अहिले सत्ता मात्र गुमाएको छैन, आफ्नै नेतृत्वमा हासिल भएका विद्यमान राजनीतिक–सामाजिक र आर्थिक उपलब्धिसमेत गुम्ने खतरा बढाएको छ । लोकतन्त्र र अहिलेसम्म प्राप्त उपलब्धिको रक्षार्थ भन्दै बनेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले दुवै तहको निर्वाचन गरेर राजनीतिक कोर्सलाई केही हदसम्म ट्र्याकमा त ल्यायो । तर, आफ्नै नेतृत्वमा गति दिन भने चुक्यो । परिणामस्वरूप अहिलेको गठबन्धन जन्म्यो । जुन गठबन्धनको न कुनै वैचारिक धरातल छ, न कुनै दृष्टि ।
प्रतिपक्षी नै सही, कांग्रेसको नजर अब यस बिन्दुबाट भने थप चुक्नु हुँदैन । अहिले निम्तिएको परिस्थितिअनुसार कांग्रेसले आफूलाई बदलेर अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । सत्तालाई नै सर्वोपरी ठानेर त्यसैमा मात्र केन्द्रित भइरहँदा त्यसले राजनीतिक व्यवस्थामै बदलाव ल्याउन सक्छ ।
प्रतिपक्षमा बसेर कसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्न सकिन्छ र समावेशिता, धर्मनिरपेक्षताजस्ता समतामूलक समाजका आधारहरू थप बलियो बनाउन सकिन्छ भन्नेतर्फ अब कांग्रेसको अग्रसरता रहनुपर्छ । र, पार्टीलाई एकताबद्ध गर्दै आपसी अन्तरघुलनमा नेतृत्वको प्रमुख भूमिका देखिनुपर्छ । पार्टीलाई एकाकार गराउने सबैभन्दा बढी जिम्मेवारी पार्टी सभापति देउवाकै हुन आउँछ । भारतमा उपचाररत हुँदा स्व. प्रदीप गिरिले सभापति देउवाका इतिहासका पानाहरू मसँग पनि खोतल्नुभएको थियो । मसँगको कुराकानीमा उहाँले राखेको एउटा सन्दर्भ यहाँ उल्लेख गर्न चाहन्छु ।
बिपी कोइराला निर्वासनमा रहँदा उहाँलाई भेट्न देउवा वनारस जानुभएको थियो । बिपी र देउवाबीचको भेटमा प्रदीप गिरि पनि सँगै हुनुहुँदो रहेछ । युवावयका देउवासँगको कुराकानीबाट बिपी निकै प्रभावित हुनुभएको थियो रे ! पिछडिएको क्षेत्र, समुदाय र वर्गको उत्थानका पक्षमा त्यसवेला देउवाले देखाएको जुनुनप्रति बिपी नतमस्तक हुनुभएको रहेछ । विकट कर्णाली क्षेत्रलाई काठमाडौंको विकाससँग एकाकार गर्ने देउवाको दृढ संकल्प नै बिपी प्रभावित हुनुको प्रमुखमध्येको एउटा कारण थियो रे !
देउवाले त्यतिखेरको आफ्नो संकल्पलाई आजसम्ममा कति अन्जाम दिनुभयो, त्यो बहसकै विषय होला । तर, त्यसवेला उहाँले लिएको संकल्प सामान्य पक्कै थिएन । राजनीतिक व्यवस्था बदल्दै भुइँमान्छेको जीवनस्तर आर्थिक–सामाजिक रूपमा उठान गर्ने उहाँको संकल्पको सार थियो ।
विडम्बना भनौँ वा के ? अहिले करिब आधा शताब्दीपछि पनि हामी चर्चा यिनै विषयमा केन्द्रित भएर गरिरहेका छौँ ।
समयक्रमसँगै देउवाको तात्कालीन नवीन सोच भुत्ते भइसकेको यथार्थ हो । स्वार्थको बन्धनबाट मुक्त हुन नसक्दा कोही अझै पनि ‘देउवा सोच’ तिखार्ने आत्मरतिमै छन् । कोही विगतको बहिष्कार गर्दै वर्तमान र भविष्यलाई मात्र जोडेर असन्तुलित व्याख्या गर्न तल्लीन छन् । फलतः कांग्रेसमा एउटा पक्षले असम्मानको अनुभूति गरिरहेको छ भने अर्को पक्ष फरक पुस्ताको अपमान ठानिरहेको छ । र, कांग्रेसको रुपान्तरणको सवाल यही चक्करमा घुमिरहेको छ ।
उमेरको बढत, कमजोर स्वास्थ्य र सापेक्षित नवीनीकरणको अभावजस्ता कारण सभापति देउवाले क्रमशः आफ्नो भूमिका सीमित पार्दै जानु जरुरी भइसकेको छ । सुरुवाती राजनीतिमा जस्तो सबल उहाँ पक्कै हुनुहुन्न । तर, यसको अर्थ उहाँ अब हरतरहले सक्षम रहनुभएन भन्ने चाहिँ बिल्कुलै होइन । नयाँ स्थापित हुने प्रयासलाई अनुभवले नै सार्थक बनाउने हो । त्यसैले, देउवा र पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रयासबीच तादात्म्य भयो भने कांग्रेसको अबको यात्रा अवश्य सहज र सुदृढ हुनेछ ।
पुस्तान्तरणको प्रश्नमा जसरी भविष्य उज्ज्वल देखाएर हामी आशावादी जवाफ दिन सक्छौँ, त्यसरी नै हामीले विगतबाटै निर्मित उज्ज्वल भविष्यको आधारलाई मान्यता दिन पनि कन्जुस्याइँ गर्नु हुँदैन । आफ्नै नेताहरूको योगदानको उच्चारण गर्न हिच्किचाउने र मौका पायो कि बोलीपिच्छे बदनाम गर्न तम्सिहाल्ने प्रवृत्तिले हामीलाई कतै अनुशासनहीनतातर्फ धकेलिरहेको त छैन ? रुपान्तरणसहितको पुस्तान्तरणका पक्षमा उभिएका हामीले मनन् गर्नैपर्ने भएको छ । हामीले आफ्नो सामथ्र्य र दूरदृष्टि प्रस्तुत गर्दै पार्टीभित्र पुस्तान्तरणको पक्षमा मतैक्य बनाउने हो, न कि नेतृत्वलाई अक्षम र यथास्थितिवादी साबित गरेर ! आम कांग्रेसजनको अहिलेको कामना हो, कांग्रेस संरचनासँगै कार्यशैलीमा पनि रूपान्तरण हुन सकोस् ।
(झा कांग्रेस युवानेता हुन्)