१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
ममता थापा
२o८१ जेठ ८ मंगलबार o७:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बलात्कारविरुद्ध खोइ कडा कानुन ?

Read Time : > 2 मिनेट
ममता थापा
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:४१:oo

लेटाङ घटनाको कुरा गर्दै छैनँ म । गर्नु पनि किन ? कुनै राजनीतिक दल, न्यायिक क्षेत्र या कुनै संघ–संगठनमा आबद्ध छैनँ म । एउटा भुइँमान्छेको आवाज भुइँमै हराउँछ यहाँ । त्यसैले, वाक्–स्वतन्त्रतालाई चहिने जति प्रयोग गर्न नि वाक्क लाग्छ । सुरुमै लेटाङको कुरा गर्दिनँ भने पनि सो अपराधलाई बेवास्ता गर्न खोजेको होइन । घटना अति निन्दनीय छ, पीडादायी छ । पीडकप्रति जति आक्रोशित भए पनि कमै हुन्छ । पीडितप्रति सहानुभूतिको सागर पनि थोपो लाग्छ, यस्ता घटनामा । तर, यस्ता घटना थाहा पाउँदा विगतमा जति आक्रोशित हुन्थेँ, त्यो हुन छोडिसकेँ म । किनकि, मेरो आक्रोशले केही हुनु र हुटिट्याउँले आकाश थाम्नु उस्तै–उस्तै लाग्छ आजकाल । बरु गर्नुपर्नेजति चिन्ता हामी सबैको अभिभावकत्व ग्रहण गरेको सरकारले पक्कै गरेको होला । उसले भनिसकेको छ– दोषीलाई कडाभन्दा कडा कारबाही गर्छौं । कडा मात्र होइन, कडाभन्दा पनि कडा ! 

उसले विगतमा पनि यस्तै भनेथ्यो, यसैगरी भनेथ्यो । कडाभन्दा पनि कडा ! किनकि, यस्ता घटना विगतमा पनि हुन्थे । तर, दुःखद, आज पनि भइरहेका छन् । अझ तथ्यांक नै हेर्ने हो भने हिजोभन्दा आज बढिरहेका छन् । खोइ त सरकार, तिम्रो ‘कडाभन्दा पनि कडा’ कारबाहीले पनि बलात्कारी डराउँदैन त ! हरेकचोटि सरकारले हदैसम्म कारबाहीको आश्वासन दिँदा हामी भुइँमान्छेमा झिनो आशा पलाउँछ, फलानाको सरकार छ, न केही भइ पो हाल्छ कि भनेर ।

किनकि, जसको हातमा सिंगो मुलुक छ, उसैका कुरा नपत्याऊँ पनि कसरी ? तर, हरेकचोटि पलाएका आशाहरू तिनैका स्वार्थका बुटमुनि किचिमिची भएका छन् । अनि पीडकतर्फ सोझिने गरेको त्यो आवेगको भेल हिजोआज स्वार्थका बुट बजार्दै हिँड्नेहरूतिर बग्न थालेको छ । किनकि, बलात्कारजस्तो अत्यन्तै घिनलाग्दो अपराधविरुद्ध कठोर बन्न उनीहरू थरथर भइरहेका छन् । बलात्कारीलाई फाँसी दिनुपर्छ, उनीहरू यस्ता सजिलै उम्किन सक्ने कानुनदेखि डराउन छोडिसके भन्दा कानुन बनाउनेहरूका हात लगलग काँपिरहेका छन् । 

कुनै पनि व्यक्ति अपराधविरुद्ध बोल्न डराउनुको पछाडि पनि कारण हुन्छन् । कि त उसले घटनाविरुद्ध बोल्दा असुरक्षित महसुस गरेर हुन सक्छ, कि त आफू या आफ्नाहरू अपराधमा संलग्न भएकाले हुन सक्छ । चौबीसै घन्टा सुरक्षाकर्मीको घेराबन्दीमा हुने ‘सरकारहरू’लाई बलात्कारीको डर पक्कै छैन होला । मलाई जहाँसम्म लाग्छ, बलात्कारीका त्यस्ता कुनै संघसंस्था या युनियन केही छैनन्, जसबाट शासनसत्तामा भएकालाई डेग चलाउन सकून् । त्यसैले पहिलो कारण असम्भव ठान्छु म । दोस्रो कारण सम्भव हुनु भनेको हाम्रा नेता, मन्त्री या जिम्मेवार निकायमा बसेकाहरूको आचरणमाथि प्रश्न उठाउनु हो । जुन दुस्साहस एउटा भुइँमान्छेले गर्न सक्दैन ।

कानुन कडा भयो भने फितलो कानुनको खिल्ली उडाउँदै अपराधमा संलग्न हुनेहरू अपराध कर्मअघि  कमसेकम सोच्नसम्म बाध्य हुनेछन्, मरिन्छ भन्ने डरले पनि हच्किनेछन्

म मेरा अभिभावकमाथि यस्ता अनैतिक आरोप लगाउन असमर्थ छु । फेरि समस्या कहाँ छ त ? किन बलात्कारीलाई फाँसीमा झुन्ड्याउनुपर्छ भन्दा उनीहरू थरथराउँछन् ? बलात्कारीलाई बाँच्नै नदिने व्यवस्था ल्याऔँ न भन्दा उनीहरू किन हडबडाउँदै हुँदैन भन्दै छन् त ? भर्खरै फुल्न खोज्दै गरेका कोपिलालाई निमोठनामोठ पारेर छोड्नेहरूलाई हामी यही समाजमा बाँच्न दिइरहने ? समाजका क्यान्सरलाई मलजल गरिरहने ? विद्यालय गएकी बालिका बलात्कृत भएर फर्किंदा के उसमाथि अपराध गर्नेको सजाय दुई महिना जेल हालेर माफ हुन्छ ?

बलात्कार मात्र नभई हत्यासम्म गर्ने नरभक्षीको सजाय कुन हदसम्म थुनेर अनि कतिवटा पैसाको बिटोले पूर्ति गर्न सक्छ ? यदि त्यसो हो भने अपराधीलाई जेलमै कोचेर हाम्रा निर्मलाहरू, अनि हाम्रा भागरथीहरू फिर्ता ल्याऔँ न त । पीडकलाई काखी च्याप्दै, पीडितलाई झनै ठूलो मानसिक आघात दिने संस्कार यही समाजमा छ । समाजको तिरस्कार सहँदै कुण्ठित भएर मुस्किलले बाँचिरहेकी बलात्कृत महिलाका लागि दसौँ वर्षपछि नै सही, एउटा अपराधी छुटेर उसैका अघि छाती फुलाउँदै हिँड्दा त्यो पीडितमाथिकै उपहास होइन र ? त्यसको क्षतिपूर्ति दिने त कुनै प्रावधान छैन हामीसँग । अनि यस्तो दोषीलाई सजाय दिनुभन्दा पनि पीडितलाई झन् पीडा दिने कानुन फेर्न हामी किन हिचकिचाउँछौँ ? 

यसको कारण कतै आफ्ना नजिकका मान्छे पनि सजायका भागीदार हुन्छन् कि भनेर हुन सक्छ । एउटा बलात्कारी पिता, दाजु, भाइ, मामा, काका केही हुन सक्दैन, ऊ सिर्फ बलात्कारी मात्र हो, समाजको विकार हो । जसलाई नमिल्काए उसका कारण समाज डुङ्डुङ्ती गनाउनेवाला छ, बसिनसक्नु हुनेवाला छ । जसरी आफ्नै शरीरमा आएको घाउलाई माया गरियो भने क्यान्सर हुन सक्छ, त्यसरी नै एउटा बलात्कारीप्रतिको सहानुभूति घातक मात्र हुन्छ । अनि अपराधीको घानमा निर्दोष पनि पर्लान् नि भन्ने सबाल जोडदार रूपमा आउने गरेको छ । कसैले कसैलाई यो बलात्कारी हो भन्दैमा सजाय दिइहाल्ने हो र ? घटनामा कारबाही गर्नुअघि अनुसन्धान हुन्छ, प्रमाण खोजिन्छन् । निष्पक्ष रूपमा सबै पुष्टि भएपछि बल्ल सजाय पाउने न हो । 

बलात्कारीलाई फाँसी दिँदैमा समस्या हल भइहाल्छ त ? कानुन कडा भयो भने फितलो कानुनको खिल्ली उडाउँदै अपराधमा संलग्न हुनेहरूले यस्ता निच हर्कत देखाउनुअघि कमसेकम सोच्नसम्म बाध्य हुनेछन्, मरिन्छ भन्ने डरले पनि हच्किनेछन् । हामी छोरीचेलीहरू धेरै हदसम्म सुरक्षित हुनेछौँ । 
(थापा पत्रकारिता अध्ययनरत छिन्)

ad
ad