१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
ममता थापा
२o८१ बैशाख १८ मंगलबार o७:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

शैक्षिक संस्थाभित्र मौलाउँदो अराजकता

Read Time : > 2 मिनेट
ममता थापा
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२३:oo

कक्षाकोठाभित्रै आफ्ना शिक्षकहरू कुटिँदा पनि नबोल्ने विद्यार्थी संगठनकै मौन समर्थनका कारण शैक्षिक संस्थाभित्र राजनीतिक अराजकता मौलाइरहेको छ


काठमाडौंमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा ६ पुसमा स्नातक तहको प्रथम वर्षको प्रयोगात्मकतर्फको आन्तरिक परीक्षामा चिट चोर्न नपाएको झोकमा दोस्रो वर्षका एक छात्रले स्टिलको जगले हानेर प्राध्यापकलाई घाइते बनाए । कक्षाकोठाभित्रै विद्यार्थीबाट प्राध्यापक कुटिएपछि त्रिवि प्राध्यापक संघ, रत्नराज्यलक्ष्मी क्याम्पस एकाइले सुरक्षाको सुनिश्चितता नभएसम्म प्राध्यापनलाई निरन्तरता दिन नसकिने विज्ञप्ति निकाल्यो । परिणामतः दुई दिन क्याम्पसको पठनपाठन प्रभावित भयो । क्याम्पसले घटनामा संलग्न विद्यार्थीलाई निष्कासन गरेपछि स्थिति सामान्य बन्दै छ । 

यस्ता निन्दनीय घटनाको विरोध गर्नुसम्म जरुरी ठान्दैैनन् विद्यार्थी संगठनहरू । यस्ता घटनामा विरोध नगर्नु भनेको उनीहरूको मौन सहमति हो । यस्ता अराजक गतिविधिमा संलग्न विद्यार्थीलाई कुनै पनि विद्यार्थी संगठनले चिन्दैनन् । आफ्ना गुरुहरू नै कुटिएपछि आत्मालोचनासहित संगठन सुधारमा लाग्नुको साटो उनीहरू यस्ता घटना ढाकछोप गर्नेतिर लागेका देखिन्छन् । यो विकृत राजनीतिको दुष्परिणाम हो । 

विगतमा पनि कुटिन्थे शिक्षक : विगतमा घटेका यस्ता दुःखद घटनाको फेहरिस्त लामो छ । कहिले कम नम्बर दिएको निहुँमा त कहिले चिट चोर्न नदिएको निहुँमा शिक्षकले विद्यार्थीको कुटाइ खाइरहेकै हुन्छन् । ०७६ मंसिर ९ गते त्रिचन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिए । सोही साल असोज २० गते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने विद्यार्थीको रड प्रहारबाट गम्भीर घाइत भए । तैपनि, आजसम्म कसैले पनि यस्ता घटनाको रोकथामप्रति कुनै गम्भीर पहल गरेको देखिन्न । 
चिट चोर्नै नमिल्ने बनाउन सकिँदैन ? : युवाहरू ऊर्जावान् हुन्छन् । उनीहरूले जस्तो शिक्षा पाउँछन्, त्यसैअनुरूप आफ्नो ऊर्जा खर्चिन्छन् । सानैदेखि ढुंगा हान्ने, टायर बाल्ने, भिन्न विचार हुनेहरूमाथि सांघातिक आक्रमण गर्नेजस्ता कुसंस्कारबीच हुर्किएको विद्यार्थी भविष्यमा कस्तो नागरिक बन्ला ? मुलुकको राजनीतिक भविष्य आफूले मात्र उज्ज्वल बनाउन सक्ने गफ दिँदै हिँड्ने राजनीतिक दलका नेताहरू नै यस्ता प्रवृत्तिका लागि मुख्य जिम्मेवार छन् । त्यही विगतबाट आएका अधिकांश शीर्ष नेताहरूले संस्कारयुक्त राजनीतिको ढोङ गर्न सुहाउँदैन । अर्कातर्फ हाम्रो प्राज्ञिक तह पनि स्वार्थको मैलोमा लिप्त छ । शैक्षिक संस्थामा राजनीति प्रवेश निषेध हुनुपर्नेमा विद्यार्थी र शिक्षक नै दलगत टेको समाउँदै ‘माथि’ उक्लिने ठाउँ र मौकाको खोजीमा देखिनु शैक्षिक संस्थामा यस्ता दुर्भाग्यपूर्ण अराजक घटना दोहोरिइरहनुको मूल कारण हो । 

भनिन्छ, शिक्षण यस्तो पेसा हो, जसले बाँकी सबै पेसालाई जन्म दिन्छ । तर, हाम्रो सन्दर्भमा न शिक्षकहरू विद्यार्थीको भविष्यलाई लिएर चिन्तित छन्, न त विद्यार्थी नै डामाडोल शैक्षिक प्रणालीमाथि प्रश्न उठाउँछन् । ‘शिक्षक कुटिनु सरासर गलत हो । विद्यार्थीले चोर्नै नमिल्ने प्रश्न बनाउनेतिर हामीले काम गर्न नसक्नुका परिणाम हुन् यस्ता घटना ।’ शिक्षाविद् विद्यानाथ कोइरालाको तर्क छ । आजका विद्यार्थीहरू विद्यार्थीजस्ता देखिन छाडेको उनी बताउँछन् । मैले के सिक्ने, कति सिक्ने र कसरी सिक्ने भन्नेतिर भन्दा पनि राजनीतितिर बढी चासो हुनुले क्याम्पसहरू विद्यार्थीका नाममा राजनीतिक कार्यकर्ताले भरिएको कोइराला बताउँछन् । 

छैन सहिष्णुता : विविधतायुक्त हाम्रो समाजको विशेष पहिचान छ । हामी सहिष्णु छौँ भन्नुमा भिन्नै गर्वानुभूति हुन्छ । तर, पछिल्लो समयमा सहिष्णुताको दायरा खुम्चिसकेको छ । विशेषगरी युवापुस्तामा सहनशीलता भेट्नै मुस्किल छ । प्रविधिको विकास सँगसँगै छिट्टै नतिजा खोज्ने बानीले हो या पश्चिमाहरूले अपानाउँदै आएको ‘जिरो टोलरेन्सको’ हावाले हो, शीघ्र प्रतिक्रिया जनाइहाल्ने बानीले पनि यस्ता घटनालाई मलजल गर्न सघाउ पु¥याइरहेका छन् ।

शौक्षिक क्षेत्रमा परेका भ्वाङ कहिले टालिने ? : शिक्षामा आमूल परिवर्तन गर्छु भन्नेहरू, नेतृत्वदायी भूमिकामा धेरैपटक पुगे । तर, हाम्रो परम्परागत शैलीमै अल्झिरहेको शिक्षण प्रणालीलाई सुधार्ने आँट कसैमा देखिएन । शिक्षक आफ्नै व्यक्तिगत स्वार्थको बढी फिक्री गर्दै पढाउने जागिर खाइरहेका छन् । विद्यार्थीहरू उद्देश्यहीन जत्थामा परिणत हुँदै छन् । विद्यार्थीमा राजनीतिक चेत हुनु राम्रो हो । देशका भविष्यहरूले समाज चिन्न जरुरी छ । मुलुक हिँडिरहेको दिशा थाहा पाइरहनु नागरिकको कर्तव्य पनि हो । तर, विद्या आर्जन गर्ने स्थलमा राजनीतिले राज गर्नु गलत हो ।

विद्यार्थीलाई राजनीतिमा संलग्न गराउन शैक्षिक संस्थाबाहेकका स्थलमा त्यस्ता संगठन बनाउन सकिन्छ । क्याम्पसपरिसरभित्र मारपिट चल्नु निन्दनीय छ । यसले हामीपछिको पुस्ताले के र कस्तो पाठ सिक्छ भन्ने कुरालाई पनि मनन गर्न आवश्यक छ । ज्ञान आर्जन गर्ने स्थलमा त आफ्ना विमतिलाई अझ बौद्धिक ढंगले राख्न सकिन्छ । विचार विमर्श गर्ने प्रशस्तै स्पेस हामीमाझ छ । त्यसैले, अब फेरि कुनै शैक्षिक संस्थामा कुनै शिक्षक, प्राध्यापक कुटिएको समाचार कहिल्यै सुन्न र सुनाउन नपरोस् । (थापा पत्रकारिता अध्ययनरत छिन्)

ad
ad