१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Monday, 01 July, 2024
२o७८ चैत ७ सोमबार ११:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सबै वडा जोड्ने ७७ किलोमिटरको मालिका रिङरोड निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार ११:४३:oo

मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्रसँग सबै वडा जोड्ने गरेर मालिका रिङरोड निर्माण गरेको छ । निर्वाचित भएको पहिलो वर्षमै गाउँपालिकाको गौरवको योजनाको रूपमा मालिका रिङरोडको काम सुरु भएकाे थियो । मालिका रिङरोडको नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उद्घाटन गरे । उनले कुनै समय सडक नभएका कारण लठ्ठीको भरमा दुई–तीन दिन लगाएर पुग्ने विकट गाउँहरू स्थानीय तहसँगै नजिक भएकोमा खुसी व्यक्त गरे । 

चुनावी वाचा पूरा 

बर्सातमा भूगोलले समस्या भए पनि हिउँदमा लगभग मालिकाका सबै वडामा बस पुग्छन् । गाउँपालिकाले प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने गरेर ७७.२ किलोमिटर सडक निर्माण गरिएको मालिका गाउँपालिकाका प्रमुख रितबहादुर थापाले जानकारी दिए ।

आफूहरू निर्वाचित भएको पाँच वर्षभित्र गुल्मीको विकट भनेर चिनिने मालिकाका सबै वडामा सडकको पहुँच पुर्‍याएर चुनावी वाचा पूरा गरिएको गाउँपालिका प्रमुख थापाले बताए । उनले पालिकामा पुँजीगत बजेट निकै कम हुँदा पनि क्रमागत रूपमा प्रत्येक वर्ष बजेट विनियोजना गरेर मालिका रिङरोड निर्माणको काम गरिएको बताए । ‘सडकको ट्रयाक खोल्ने एउटा उपलब्धि हो । बिस्तारै स्तराेन्नति र पक्की गर्ने हो,’ थापाले भने, ‘मालिका वडासँग मात्रै नभएर तम्घाससँग पनि नजिक भएको छ ।’

झन्डै चार करोड खर्च

मालिका रिङरोडका लागि करिब चार करोड रकम खर्च भएको छ । स्थानीय तहपछिको विभिन्न वर्षहरूमा गरेर तीन करोड ८३ लाख खर्च भएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । मालिका गाउँपालिका– ४ को अर्खाबाङ हुँदै तिरतिरे, सिमलटारी, अर्जै बोम, नेटा, लिलिङ, भिमगिठे, पाटाखर्क, दर्लिङ, गङगरेदेखि पुनः अर्खाबाङसम्म मालिका रिङरोडले जोडेको प्रवक्ता गिरीले बताए ।

मालिका गाउँपालिका मदन भण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएको गिरीले बताए । उनले रिङरोडबाहेक मदन भण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएका सडकहरूको स्तरवृद्धि र ग्राभेलको काम भइरहेकाले बाह्रै महिना सहज रूपमा यातयात सञ्चालन हुने बताए । 
 
 

ad
ad
ad
ad