राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २५ गते राजधानीको खुलामञ्चमा आमसभा गर्ने भएको छ । देशभर ठूला, मझौला र साना सभाहरू गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
आमसभालाई व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । राजनीतिक दलहरूले स्थानीय तहको चुनावकेन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।
आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरू चुनावकेन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ ।