थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ छनोट खेलको त्रिभुवन आर्मी क्लबका सुशील थापाले यचटुओका रविन थापालाई ५–० अंकका आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । सोही तौल समूहमा बक्समान्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकका आधारमा सेमिफाइनलमा पराजित गरे । वैल्टर वेट ६३ किलो तौल समूहमा नेपाल प्रहरीका भूपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
थापाले थानकोटका मनीष श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेशकुमार भोलानलाई पराजित गरेका थिए । छनोट खेलकै महिलातर्फ वैन्टम वेट ५४ किलोग्राम तौल समूहमा मीनु गुरुङले बाँकेका माया क्षेत्रीलाई हराउँदै फाइनलको स्थान सुरक्षित गरिन् । उनले स्वर्ण पदकका लागि एपिएफकी सन्जुमाया थिङविरुद्ध खेल्नेछिन् ।
सन्जुले थानकोटका सुशीला भोलानलाई अंकका आधारमा सेमिफाइनलमा हराएकी थिइन् । महिलातर्फकै फेदर वेट ५७ किलो तौल समूहमा बक्समान्डुका हेमा राईले झापाका सुस्मिता राईलाई पराजित गर्दै फाइनलको स्थान पक्का पारिन् । फस्ट अल नेपाल स्कुल पुरुष तथा महिला बक्सिङ प्रतियोगिताको ३५ किलो पुरुषतर्फको सेमिफाइनलमा नक्सालका सक्षम लामाले बक्समान्डुको प्रवेश उपाध्यायालाई अंकका आधारमा पराजित गरेका छन् । सोही तौल समूहमा मकवानपुरका अरुण सापकोटाले बक्समान्डु बीका दीपक बोहरालाई एबिडीका आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ३७ किलो तौल समूहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी पहिलो भएका छन् । ४० किलो तौल समूहमा थानकोटका प्रकट महर्जनले बोसीगाउँका रितेश महर्जनलाई फाइनलमा हराए । ४३ किलो तौल समूहमा अल्फा बक्सिङ दाङका सोनम पुनमगरले अछामका प्रवीण टमटालाई उपाधि भिडन्तमा हराए । पुरुष ४६ किलो तौल समूहमा कास्कीका निसान गुरुङले दमकका योगेश लिम्बूलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।
पुरुष ४९ किलो तौल समूहमा भक्तपुरका नवीन खडकाले कास्कीका आकाश बोहरालाई अंकका आधारमा पराजित गरी फाइनलमा मकवानपुरका सिलेन वाइबाविरुद्धको भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकका आधारमा पराजित गरेका थिए ।