‘मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो ।
हाय हाय रगतके मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो ।’
होलीका अवसरमा बिहीबार बाग्लुङ बजारमा गाइएको यो ऐतिहासिक फागुगीतमा युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान केन्द्रित थियो। मादल बजाउँदै पुराना पुस्ता गाउँदै होली खेल्दै थिए भने नयाँ पुस्ता साथमा साथ दिँदै थिए। सडकमा युवायुवती ‘ह्यापी होली’ भन्दै डिजेमा नाचिरहेका थिए। तर, बाग्लुङको नारायणचोकमा यहाँका मगर समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाएका छन्। नेवार समुदायमा सामूहिक भोजसहित माथि भनिएको गीत गाएर फागु खेल्ने चलन छ। बिहीबार फागु पर्वमा नेवार र अन्य समुदायका व्यक्तिहरूसमेत उपस्थित भई फागु मनाएका हुन्।
पुरानो ‘फागुगीत’ गाउँदा युवायुवती आश्चर्यमा
विगतका दुई वर्ष कोरोना कहरका कारण मनाउन नपाएको फागु नेवार समुदायले यस वर्ष पुरानो गीत गाउँदै उत्साहका साथ मनाएका छन्। पाकादेखि युवा पुस्तासम्मले तीन सय वर्ष पुरानो फागुगीत गाउँदा छुट्टै रौनकता छाएको थियो। फागुगीत सुन्न र नाच हेर्नका लागि युवायुवतीको भिड लागेको थियो।
परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंका खल’को आयोजनामा बाग्लुङ बजारमा सो गीत गाइएको नेपाल भाषा मंका खल बाग्लुङका अध्यक्ष मुकेश राजभण्डारीले बताए। होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागुगीत’ गाउँदा युवायुवती आश्चर्यमा परेका देखिन्थे। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा समेत लिपिबद्ध छ।
‘फागुगीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्र जो आए पनि फागुको मजा लिन्छौँ, फागुको राग लिन्छौँ, गाउँछौँ, भनिएको छ,’ मंका खल बाग्लुङका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भने। उनका अनुसार गीतमा महिला–पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका माया पिरतीलगायतका भाव समावेश छ। ‘हामीले संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागुगीत गाउँदै आएका हौँ,’ छोटाले भने, ‘मनको भावनालाई वसन्त राग शैलीमा रंग्याउने गीत नै फागुगीत हो।’ केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको भन्दै यहाँकाे नेवार समुदाय चिन्तित छ।
मौलिक संस्कृतिको जगेर्नामा मंका खल
फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जगेर्नाका लागि नेपाल भाषा मंका खल बाग्लुङ जुटेको छ। ‘पुरानो संस्कृतिलाई हामी हराउन दिँदैनौँ,’ मंका खल बाग्लुङका अध्यक्ष राजभण्डारीले भने, ‘यसैले हाम्रा मौलिक संस्कृति जगेर्नाका लागि पहल थालेका छौँ। यहाँ धेरै पुराना संस्कृति छन्। यिनको नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि हामीले पहल थालेका हौँ।’ आफ्नो मौलिकता जोगाउनु हामी सबैको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष राजभण्डारीले मंका खल यहाँका अन्य स्थानीय संस्कृतिको संरक्षणमा पनि जुटेको बताए।