मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ चैत १ मंगलबार o८:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाई मरेको शोकमा किरिया !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार o८:३१:oo

आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु  नौलो कुरा होइन । तर, चितवनको भरतपुरस्थित बागीश्वरी आश्रमका एक योगी  गाई मरेको भन्दै किरिया बसेका छन् ।  भरतपुर महानगरपालिका– १ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ  किरिया बसेका हुन् ।  गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । 

उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी  विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने, ‘गौशालामा पालिएका गाई आफ्नो मातासमान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको  छ । गाईको सेवामा नै जीवन बिताउनेछु ।’ 

योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब दुई सयको हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए ।  गाईले दूध दिने वेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।

आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीन रूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिए । उनका अनुसार रु. एक करोडको अक्षय कोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षय कोषको लक्ष्यअनुरूप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् ।