लमजुङमा भवन शिलान्यास गरेको १५ महिनासम्म आधारभुत अस्पताल निर्माणको काम केही निर्माणाधिन छन् भने केही डिपिआर र टेन्डरकै चरणमा अल्झिएको छ । लमजुङका ७ वटा स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरिएको छ । जिल्लाको मध्यनेपाल ,सुन्दरबजार, राइनास नगरपालिका, दूधपोखरी, दोर्दी र क्व्होलासोंथर गाउँपालिकामा १५/१५ शैया र मर्स्याङ्दी गाउँपालिकामा १० शैयाको आधारभुत अस्पताल निर्माण गरीनेछ ।
जिल्लाका ७ वटै स्थानीय तहमध्ये ५ वटामा आधारभुत अस्पताल निर्माणको प्रक्रिया डिपीसी भई निर्माणाधिन अवस्थामा छन् भने दुई वटा अझै अलमलमै छन् । जिल्लाको सुन्दरबजार नगरपालिकामा ३ चन्द्रेश्वरमा अस्पताल निर्माण प्रक्रिया सुरु भएसँगै डिपीसी सकिएको छ । यस्तै राइनास नगरपालिका ४ अल्काटारको चक्रतिर्थधाममा निर्माण गरीने अस्पतालको काम धमाधम भइरहेको छ । मध्यनेपाल नगरपालिका ३ सुर्यपालमा आधारभुत अस्पताल निर्माणको काम एक महिना अघिबाट सुरु भएको नगरपालिकाले जनाएको छ ।
हाल अस्पतालको डिपीसी लगायतको काम भइरहेको छ । दोर्दी गाउँपालिकाको डिपिआर भएर टेन्डर प्रक्रिया सकिएपनि असार १ मा दोर्दीखोलामा आएको बाढीले अस्पताल निर्माण गर्ने जग्गा कटान गरेसँगै अस्पताल निर्माणको काम अलमलमै छ । दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले दोर्दीखोलामा आएको बाढीले जग्गा कटान गरेपछी अस्पताल निर्माणको काम अन्योलमै रहेको बताए ।
यस्तै क्व्होलासोंथर गाउँपालिका ९ साल्मेभन्ञ्याङ गिलुङमा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको भवन निर्माणकार्य डिपिआर र टेन्डर सम्पन्न भई निर्माण प्रक्रियाको चरणमा छ । मर्स्याङ्दी गाउँपालिका ७ ङादीको भुलभुले स्वास्थ्य चौकीमा १० शैयाको अस्पतालको भवननिर्माण कार्य सुरु भएको छ । हाल अस्पतालको डिपिसी भइरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
जिल्लाको विकट दुधपोखरी गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्ण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका २ विचौरस्थित अल्काचौरमा १५ शैयाको अस्पताल निमार्ण प्रक्रिया दुई साता अघि सुरु भएको हो । स्थानीय सरकार संचालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल निमार्ण कार्यलाई तिव्रता दिएको गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङले बताइन् ।
यता हिमाली जिल्ला मनाङको नासों गाउँपालिकामा ५ शैयाको आधारभुत अस्पताल निर्माणको लागी डिपिआर र टेन्डर भएपनि बाढीले जग्गा बगाएसँगै अस्पताल निर्माणकार्य अलमलमै रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले देशभर मंसीर १५ गते ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको थियो ।
यसअघि रहेको स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालको रुपमा स्तरउन्नति थालिएको हो । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ ।