मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २७ शुक्रबार १३:५३:oo
Read Time : > 2 मिनेट
विश्व डिजिटल संस्करण

पन्जाबमा आम आदमी पार्टीले जित्नुका पाँच कारण 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १३:५३:oo

पन्जाब विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले स्पष्ट बहुमत ल्याएको छ । प्रदेशको कुल एक सय १७ सिट मध्ये आपले ९२ सिटका साथ ऐतिहासिक जित दर्ता गरेको छ । कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने भारतीय जनता पार्टीे मात्र दुई सिटमा खुम्चिएको छ । आम आदमी पार्टीको यो ऐतिहासिक जितको पछाडि केही कारणहरू यहाँ चर्चा गरिएको छ । 

भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउनु 
आम आदमी पार्टीले यसपटक स्पष्ट रूपमा भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्‍याे । सन् २०२२ को सुरुवातदेखि नै पन्जाबमा आपबाट मुख्यमन्त्रीको उम्मेदवार को हुन्छ भन्ने विषयमा बहस सिर्जना भएको थियो । यसभन्दा अगाडि २०१७ को पन्जाब विधानसभा चुनावमा पनि मुख्यमन्त्री पदको उम्मेदवारका बारेमा त्यस्तै बहस भएको थियो । पन्जाबमा त्यतिवेला आपका आधाजति उम्मेदवार अन्य पार्टी परित्याग गरेर आपमा सामेल भएका थिए । यसैकारणले दिल्ली र पन्जावबीच द्वन्द्वको स्थिति थियो । 
तर, यसपटकको विधानसभा निर्वाचमा आम आदमी पार्टीले भगवन्त मानलाई समयमै मुख्यमन्त्री पदको उम्मेदवारका रूपमा अगाडि सार्‍याे । यसका लागि पार्टीले आफ्ना कार्यकर्ताबीच ‘जनमतसंग्रह’ पनि गरेको थियो । 

पर्दापछाडिका खेलाडी 
पन्जाब चुनावलाई नजिकबाट हेरिरहेका राजनीतिक विश्लेषक सागर बिश्रोईका अनुसार पन्जाबमा आम आदमी पार्टीकाे विजयमा रणनीतिकार सन्दीप पाठकको अहं भूमिका छ । ‘आइआइटी’मा पढेका पाठकले भारतमा प्रख्याति कमाएका राजनीतिक रणनीतिकार प्रशान्त किशोरसँग पनि काम गरिसकेका छन् । आप सूत्रका अनुसार पार्टीको ‘हाइकमान्ड’को निर्णयलाई कार्यान्वयनको पछाडि पाठकको हात छ । आपका राज्यसभा सांसद सञ्जय सिंहले बताएअनुसार २०१७ को विधानसभा चुनावमा आपको अभियान निकै राम्रो थियो । त्यसैकारणले पार्टीले अधिकांश सिटमा विजय हासिल गर्ने अनुमान गरिएको थियो । तर, चुनावी अभियान समाप्त हुनेवेलासम्म आइपुग्दा उक्त अभियान बिथोलिएको थियो । 

तर, यसपटकको चुनावमा त्यस्तो अवस्था आएन । पाठक नेतृत्वको पाँचजनाको टिम सामाजिक सञ्जालबाट टाढै बस्यो । उक्त टिमले पन्जाबलाई पाँचवटा क्षेत्रमा बाँड्यो र एक व्यक्तिलाई एक क्षेत्रको जिम्मेवारी दिइयो । हरेक क्षेत्रको पूर्ण अध्ययन गरेर उनीहरूले चुनावका लागि उपुयक्त उम्मेदवार चुन्नमा सहयोग गरे । साथै कुन उम्मेदवारलाई टिकट दिँदा कस्तो प्रकारको नतिजा निस्कन्छ भन्ने पनि पत्ता लागाए र समयमै पार्टीले यसको हल पनि निकाल्यो । 

यसप्रकारको व्यवस्थापनबाट पार्टीलाई धेरै हदसम्म सहयोग मिल्यो । पाठकले यसअघि २०२० को दिल्ली विधानसभा चुनावमा पनि आम आपको चुनावी अभियान व्यवस्थापन गरेका थिए जसमा आम आदमी पार्टी विजयी भएको थियो । 

परिवर्तनका लागि भोट 
आम आदमी पार्टीले आफ्नो अभियानमा सुरुवातदेखि नै पन्जाबमा २० वर्षदेखि जनताले बिजेपी तथा कांग्रेसको शासन देखेको र यसपालि नयाँ पार्टीलाई भोट गर्नुपर्छ भन्ने भाष्य निर्माण गरेको थियो । साथै, पार्टीले आफ्नो पार्टीको शिक्षा, स्वास्थ्य, रोजगारको मोडल भनिने दिल्ली मोडललाई विशेष महत्व दियो । यसका अलावा तीन सय युनिट बिजुली निःशुल्क, १८ वर्षमाथिका महिलालाई महिनाको हजार रुपैयाँ प्रदान गर्नेजस्ता संकल्प गर्‍याे । किसान आन्दोलनका कारण कृषिसँग जोडिएका समस्या पनि चर्चामा रह्यो र यसलाई लिएर पुरानो सरकारको असफलताबारे पनि निकै चर्चा र बहस भयो । 

मालवाको चुनावी अभियान 
मालवा पन्जाबको सबैभन्दा ठूलो क्षेत्र हो । प्रदेशको एक सय १७ विधानसभा सिटमध्ये ६९ सिट यस क्षेत्रमा पर्दछन् । २०१७ को चुनावमा पार्टीले जम्मा २० सिट जितेको थियो जसमा १८ सिट मालवा क्षेत्रबाट थियो । किसान आन्दोलनको मुख्य केन्द्र पनि यही क्षेत्र थियो । पार्टीले यसपटक मालवामा बढी ध्यान केन्द्रित गर्‍याे । मालवालाई तीन क्षेत्रमा बाँडेर जोडदार अभियान सञ्चालन गर्‍याे । यस क्षेत्रमा पार्टीले ६० भन्दा बढी सिटमा जित हासिल गरेको छ । 

कांग्रेसको आन्तरिक कलह 
आम आदमी पार्टीले लोकप्रियता कमाउँदै गर्दा पन्जाब कांग्रेसमा अस्थिरताको समाचारहरू आइरहेका थिए । कांग्रेसले क्याप्टेन अमरिन्दर सिंहलाई मुख्यमन्त्रीबाट हटायो र नवजोतसिंह सिद्धुलाई पन्जाबको इन्चार्ज बनायो । यो निर्णयलाई लिएर कांग्रेस नेताहरूको असन्तुष्टि सार्वजनिक भइरहेको थियो । परिणामस्वरूप कांग्रेसभित्र विभाजन भएको र चुनाव जितेको अवस्थामा पार्टीभित्रको कलहले सुशासनलाई अस्थिर बनाउँछ भन्ने बुझाइ आमजनतामा व्याप्त भयो । यसको प्रत्यक्ष फाइदा पनि आम आदमी पार्टीलाई नै हुन पुग्यो । 
बिबिसी हिन्दीबाट