१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Saturday, 28 September, 2024
कमल खत्री म्याग्दी
२o७८ फाल्गुण २६ बिहीबार १७:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र, निर्माण कम्पनीलाई ताकेता गर्न ध्यानाकर्षण

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १७:५६:oo

म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो।

निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ। आयोजनाको थप भएको समयमा समेत काम नगरी निर्माण कम्पनीले काम छाडेपछि बिहीबार नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ। माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाको बारेमा ध्यानाकर्षण गराएका हुन्।

ध्यानकर्षण-पत्र बुझाउँदै माओवादी केन्द्र रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले सडक कालोपत्रे योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएको बताए। योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयमा चिन्ता बढेको भन्दै उनले निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन कार्यालयलाई आग्रह गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसँग आवश्यक सोधपुछ गरी अलपत्र योजनालाई गति दिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले कुनै पनि कम्पनीलाई योजना बीचैमा अलपत्र छाडेर हिँड्ने छुट नहुने स्पष्ट पारे। निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजना सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म आधाको हाराहारीमा मात्रै भौतिक प्रगति गरेको छ। अन्तिमपटकका लागि थप भएको समयसीमासमेत सकिन एक महिना मात्रै बाँकी छ।

गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्रयाकमा पहिरोले क्षति पुर्याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजना थियो। तर, निर्माण कम्पनीले बीचमै काम छाडेपछि यस क्षेत्रका स्थानीय रुष्ट बनेका छन्। सुरुवातमा निर्माण कार्यको जिम्मा लिने रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्षसमेत रहेका जीवनकुमार मल्ल  र मुख्य ठेकेदार रत्न खड्काबीच लेनदेनमा समस्या देखिएपछि आफूहरूले कार्यक्षेत्रमा काम काम रोकेर हिँड्नुपरेको निर्माण कम्पनीका प्राविधिकहरू बताउँछन्। कम्पनीले कार्यक्षेत्रमा काम गर्ने मजदुरहरूको पारिश्रमिक र सामान ल्याएको खर्चसमेत तिर्न बाँकी छ।

भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ। एक दशकअघि ट्रयाक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा सास्ती हुँदै आएको छ।