मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २६ बिहीबार १७:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आधारभूत अस्पताल शिलान्यास : रसुवामा कतै निर्माण सुरु, कतै जग्गा प्राप्तिमै समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १७:३४:oo

रसुवामा तीनमध्ये दुई स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ। २०७७ मंसिर १५ मा केपी ओली नेतृत्वको सरकारले देशभर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो। दुई वर्षमा निर्माण सक्ने लक्ष्यसहित शिलान्यास गरिए पनि १६ महिना बितेपछि बल्ल जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकामा निर्माण कार्य सुरु भएको छ।

आमाछोदिङमाे गाउँपालिकामा भने अझै जग्गा अभावमा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन। पाँच शय्याको अस्पताल निर्माणका लागि जग्गा प्राप्तिमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर जिसीले बताए। ‘गत वर्ष डिपिआरका लागि ७० लाख बजेट आएको थियो। जग्गा नहुँदा डिपिआरको काम अघि बढ्न सकेको थिएन। अस्पताल निर्माणका लागि जग्गा अभाव हुँदा काम अघि बढ्न सकेन,’ उनले भने, ‘अहिले डिपिआरको काम सुरु गरेका छौँ तर जग्गा प्राप्तिमा समस्या भइरहेको छ।’

कालिका गाउँपालिकाको जिबजिबे स्वास्थ्य चौकीलाई १५ शय्या बनाउने गरी निर्माणको काम सुरु भएको छ। जिबजिबे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी उत्सव पौडेलका अनुसार स्वास्थ्य चौकीको जीर्ण भवन भत्काई निर्माणको काम सुरु गरिएको छ।  अस्पताल निर्माणका लागि १४ करोड ५८ लाख बजेट बिनियोजन भएकोमा ८ करोड ५८ लाखको गौरी पार्वती के एन केभी- रमिता जेभीसँग ठेक्का सम्झौता भएको पौडेलले बताए।

त्यसैगरी, नौकुण्ड गाउँपालिकामा ५ शय्याको अस्पताल निर्माणको काम सुरु भएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अणप्रसाद पौडेलले बताए। स्वास्थ्य चौकी टिएलसी भवनमा सञ्चालन गरिएको उनले बताए। ‘गत वर्ष जग्गा प्राप्तिमा समस्या हुँदा आधारभूत अस्पताल निर्माणको काम अघि बढ्न सकेको थिएन। यो वर्ष अस्पताल निर्माणका लागि ठेक्का प्रक्रियामा गई निर्माणको काम अघि बढिसकेको छ,’ उनले भने, ‘अहिले वाल लगाउने, खार्नेलगायतको काम सुरु भएको छ।’ अस्पताल निर्माणका लागि ७ करोड ११ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए।