१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ फाल्गुण २५ बुधबार १३:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा विद्यार्थी मृत्यु प्रकरण :  पाउदीदेखि सिउँडीबारसम्म निषेधाज्ञा जारी, डुम्रे - बेंसीसहर सडक अवरुद्ध

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २५ बुधबार १३:११:००

जिल्ला प्रशासन कार्यालय लमजुङले निषेधाज्ञा जारी गरेको छ। लमजुङ प्रवेश  सीमा क्षेत्र पाउदीदेखि सिउँडीबारसम्म निषेधाज्ञा जारी गरेको हो। लमजुङको सुन्दरबजार  नगरपालिका– ९ फ्युचरस्टार  आवासीय  माध्यमिक विद्यालयको कक्षा १०  मा अध्ययनरत वर्ष १८ को  सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदिमा डुबेर मृत्यु भएको  थियो।  

विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका– ९, बाइसजाँगरका स्थानीय बासिन्दाले सडकमा टायर बालेर डुम्रे बेंसीसहर सडक अवरुद्ध गरेका छन्। पाउदीदेखि सिउँडीबारसम्म निषेधाज्ञा जारी गरेपछि स्थानीयको तनहुँको भानु– ९ मा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। प्रदर्शनले डुम्रे–बेंसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ।  

सडक अवरोधले बुधबार बिहानैदेखि यातायात ठप्प छ।  डुम्रेबाट आएका सवारीसाधन बाइसजाँगरमा रोकिएका छन्।  निषेधाज्ञा जारी गरिएको सिउँडीबार क्षेत्र  पनि ठप्प छ। 

होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन्।  उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्नसँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन्।  लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले  होस्टेल वार्डेन सरोज  ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए। 

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन्।  घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले  मंगलबार विद्यालयको दुईवटा बस,  एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड गरेको  प्रहरीले जनाएको छ।  

प्रदर्शनले उग्ररूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो।  बुधबार विद्यालय क्षेत्रमा ठूलो संख्यामा स्थानीय बासिन्दा आउने भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासन जनाएको छ।  

बुधबार बिहान ६ बजेबाट विद्यालय भएको स्थान सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।  जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै सुन्दरबजार नगरपालिका– ७ पूर्व–दक्षिणस्थित पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका– ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मूलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका– ८ स्थित सिउँडीबार चोकसमेत चार किल्लाभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।  प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ।