साताको दोस्रा कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से सोमबार १.५५ अंकले बढेर दुई हजार ५४४.९३ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३३ तथा फ्लोट इन्डेक्स ०.२५ अंकले घटेको छ।
आज कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर दुई अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँमा किनबेच भएको छ। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ।
बैंकिङ उपसमूह ६.४०, होटेल तथा टुरिजम १४.१८, उत्पादन तथा प्रशोधन ८७.६३, निर्जीवन बिमा ९.८८ र अन्य समूहको उपसूचक ३५.५० अंकले बढेको छ। यस्तै माइक्रोफाइनान्स ४.५७, ट्रेडिङ १५.७४, जीवन बिमा १५०.३२, जलविद्युत् ३१.९९, वित्त २८.२४ र विकास बैंक समूहको उपसूचक २१.४६ अंकले घटेको छ।
आज कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने पाँचथर पावर कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ।