१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण २३ सोमबार ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

न्यादीको विद्युत् परीक्षण सम्पन्न भएको दुई महिनासम्म राष्ट्रिय प्रणालीमा जोडिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार ११:५६:oo

लमजुङमा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत् खेर गएको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् खेर गएको हो ।  आयोजनाको विद्युत् उपकरण तथा संरचनाको परीक्षण भएको दुई महिना बित्दासमेत विद्युत् उत्पादन सुरु हुन सकेको छैन ।

सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले  आयोजनाको विद्युत् खेर गएको प्रवर्द्धक न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएपछि दुई महिनादेखि आयोजनाको विद्युत् खेर गइरहेको बताए । माथिल्लो मर्स्याङ्दी  ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसकी बिजुली खेर गएको हो । नेपाल विद्युत् प्राधिकरणले न्यादीको विद्युत् जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मर्स्याङ्दी  ‘ए’को प्रवर्द्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी  करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता छ । 

प्राधिकरणसँग सम्झौता गरिए पनि प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा वैकल्पिक विद्युत् जडानस्थल खोज्नुपरेको हो । आयोजनाका सबै उपकरणको परीक्षण भइसकेको न्यादीले खुदी सबस्टेसनको ६ किमि प्रसारण लाइन यसअघि नै बनाइसकेको छ  भने मर्स्याङ्दी– ३ खुदी सबस्टेसनबाट मर्स्याङ्दी–  ८ लाम्पाटासम्म थप तीन किलाेिमटर प्रसारण लाइन निर्माण गरिसकेको छ । 

आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले–मर्स्याङ्दी  लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ । बुटवल पावर कम्पनी (बिपिसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । 

०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ ।

 नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।