
भूमण्डलीकरणका कारण आज विश्वको परिदृश्यमा व्यापक परिवर्तन भएको छ । जसका कारण विकाससँगै विनाश पनि विभिन्न प्रकृतिमा देखा पर्न थालेको छ । मानिसको चाहना असीमित भएका कारण सकारात्मक र नकारात्मक भावना पनि बढ्दै छन् । विश्वभरि विभिन्न स्वरूप र प्रवृत्तिमा आपराधिक घटना पनि बढिरहेका छन् । आगामी दिनको युद्ध परम्परागत हुनेछैन । त्यो युद्ध बढी खतरनाक र दूरगामी असर छाडेर जाने देखिन्छ । जुन युद्ध साइबर युद्ध नै हुनेछ ।
बदलिँदो स्वरूपका कारण साइबर स्पेसमा आपराधिक गतिविधि नवीन रूपमा प्रस्तुत हुने क्रम बढेको पाइन्छ ।
साइबर स्पेसमा अपराध जुन गतिबाट बढ्छ, उसै गतिबाट सुरक्षा संयन्त्र र कानुनी प्रक्रिया पनि परिमार्जित हुँदै जान्छ । त्यसैले, अबको साइबर दुनियाँमा शान्ति र सुरक्षाका लागि एउटा टास्क फोर्सको जरुरी देखिन्छ । तर, त्यसका लागि आवश्यक पर्ने सुरक्षा र प्राविधिक क्षमता कानुनको दायराभित्रै सीमित भएको देखिन्छ । अहिले तपाईंको साथमा भएको १० हजारको मोबाइल र ५० रुपैयाँको रिचार्ज कार्डले विश्वको कुनै न कुनै स्थानबाट कुनै प्रकारको धार्मिक, साम्प्रदायिक, राजनीतिक वा वित्तीय अपराधको धमाका विश्वसामु क्षणभरमा प्रस्तुत गर्न सक्छ । भारतजस्तो देशका प्रधानमन्त्रीको ट्विटर ह्याक गरेर ह्याकर्सले ट्विट गर्न सक्छन् भने अन्य देश र त्यहाँका नेता तथा मन्त्रीको ट्विट ह्याक गर्नु कुन आश्चर्य भयो र ? भारतका प्रधानमन्त्रीको ट्विट ह्याक गर्दै भारतले आधिकारिक रूपमा बिटक्वाइनको स्वीकृति दिएको र सो बिटक्वाइन खरिद गरी देशका सबै नागरिकलाई बाँड्दै छ भनी ट्विट गरिएको प्रसंगलाई के भन्ने घटना वा दुर्घटना ? यसप्रकारका घटनालाई हल्का रूपमा नलिई गहन रूपमा विचार विमर्श गर्नु अत्यावश्यक देखिन्छ ।
त्यस्तै, केही वर्षपहिले यस प्रकारको ट्विट अमेरिकाका तत्कालीन राष्ट्रपतिको ट्विटर ह्यान्डलबाट पनि सार्वजनिक भएको थियो । त्यसपछि अमेरिकी जनताले विटक्वाइन खरिद गरेका थिए । तर, भारतका प्रधानमन्त्री मोदीको फेक ट्विटले बिटक्वाइनको खरिद हुन भने पाएन । जसका कारण भारतका जनता बढी परिवर्तित र प्रगतिशील रहेछन् भन्ने उदाहरण सत्य साबित भयो, तर अमेरिकाजस्तो देशका नागरिकले भने सो फेक
ट्विटपछि बिटक्वाइन खरिद गरेका थिए । क्रिप्टो इन्टेलिजेन्स कम्पनीको हालैको रिपोर्टअनुसार क्रिप्टो करेन्सीको चोरी ह्याकिङ एवम् छलकपटका कारण सन् २००० मा ५७ प्रतिशत झरेर १.९ बिलियन डलर पुगेको थियो । त्यसका कारण बजारको प्रविधि अथवा सुरक्षा विशेषज्ञले सुरक्षा प्रणालीलाई मजबुत गर्ने अनेकौँ कोसिस गरेका थिए ।
जसमा केही प्रतिशत सफलता पनि हात लागेको थियो । तर, आज विकेन्द्रित वित्त क्षेत्रमा अपराधको यो ग्राफ अनेक रूपमा बदलिएर मौद्रिक असुरक्षा बढ्दै गएको छ । क्रिप्टो बजारमा अपराधीले ४.५ बिलियन डलरको कमाइ गरेका थिए । यदि २०२० देखि २०२१ सम्म क्रिप्टोको बजारको भूमण्डलीकृत अपराधीकरणको परिदृश्य हेर्ने हो भने छलकपटमा क्रिप्टोकरेन्सी अब्बल दर्जाको आपराधिक क्षेत्र बन्न पुगेको देखिन्छ । जसको नियन्त्रण गर्नका लागि सुरक्षा निकायको संयन्त्र पनि अक्षम बनेको देखिन्छ । साइबर स्पेसले एउटा यस्तो फौज तयार गरेको छ, जसले दुनियाँको कुनै पनि साइबर स्पेसमा अघोषित युद्धका माध्यमबाट सूचना संयन्त्रको कमजोरी पत्ता लगाई त्यसबाट फाइदा लिएर लुटतन्त्रको साम्राज्य खडा गरेको देखिन्छ । आज दुनियाँसामु जुन साइबर टास्क फोर्स छ, उसमा कानुनी रक्षात्मक परिपक्वता भए पनि साइबर परिपक्वता भने नभएको देखिन्छ ।
साइबर स्पेसमा अपराध जुन गतिबाट परिवर्तित भएको छ, त्यही गतिमा सुरक्षा संयन्त्र मजबुत रहेको देखिन्न । त्यसमा कानुनी प्रक्रिया पनि बहुत झन्झटिलो देखिन्छ । यही रपm्तारमा साइबर अपराधको दुनियाँ अगाडि बढेमा आज साइबर दुनियाँमा शान्ति र सुरक्षा कमजोर हुनेछ र एउटा यस्तो टास्क फोर्सको जरुरत पर्छ, जसको प्राविधिक क्षमता कानुनी दायराभन्दा माथि हुनुपर्छ । बितेको दुई वर्षमा विश्वव्यापी रूपमा साइबर वा क्रिप्टो चोरीका कारण लगभग १२९ मिलियन डलर विकेन्द्रीकृत वित्त बन्न पुगेको थियो । साइबर सुरक्षा विश्लेषक बेन वेस्टका अनुसार दुनियाँमा क्रिप्टोकरेन्सीको बदलिँदो स्वरूपका कारण साइबरस्पेसमा आपराधिक गतिविधिलाई नवीन रूपमा सहज बनाइदिएको छ । क्रिप्टो करेन्सीको हिस्सा सानो भए पनि परम्परागत सुरक्षा प्रणालीलाई यसले नयाँ तरिकाबाट सोच्न बाध्य बनाएको छ । यी घटनाले साइबर अपराधलाई नयाँ ब्ल्याक होलतिर धकेलेको देखिन्छ ।
जसको परिणाम प्रतिकूल हुने ठहर छ । विकसित र परिपक्व राष्ट्रले केही समयमा त्यसलाई व्यवस्थापन गर्न वा त्यसमाथि निगरानी राख्न सफल हुन्छन्, तर कमजोर प्रविधि र जनशक्ति भएको मुलुकमा त्यो घटना त्यसै कैयन् दिनसम्म कायम रहन पुग्छ । साइबर स्पेसको दुनियाँ राम्रो र खतरनाक दुवै छ । हामी नवीन युद्ध क्षेत्रमा प्रवेश गरेका छौँ, अबको युद्ध बम, बारुद, तोप र हतियारको होइन, अबको युद्ध त माउस, मेसिन र मेन्टलको हुनेछ । त्यसबाट कसरी बच्ने हो, त्यसबारे प्रविधि र भविष्यले नै निर्धारण गर्छ ।