विश्वभरि कोभिड महामारी कम हुँदै गएसँगै विदेशी पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरी २०२२ मा विभिन्न मुलुकबाट १९ हजार सात सय ६६ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो ।
कोभिड महामारीका कारण फेब्रुअरी २०२१ मा विभिन्न मुलुकबाट नौ हजार एक सय ४६ पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ । महामारी सुरु हुनुअघि फेब्रुअरी २०१९ मा एक लाख दुई हजार चार सय २३ र फेब्रुअरी २०२० मा ९८ हजार एक सय ९० पर्यटक नेपाल आएका थिए । तर, पछिल्लो समय महामारी कम हुँदै गएपछि पर्यटक आगमन पनि बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । जनवरी २०२२ मा १६ हजार नौ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । जनवरीको तुलनामा फेब्रुअरीमा नेपाल आउने पर्यटक करिब तीन हजारले बढेको छ ।
नेपालमा चैत ०७६ (मार्च २०२०) देखि फैलिन थालेको कोभिड महामारीले पर्यटन क्षेत्र ठप्प थियो । बीचमा पर्यटक आगमन बढ्न थाले पनि कोभिडको दोस्रो लहर, निषेधाज्ञा, सीमित उडान, विभिन्न मुलुकले ट्राभलमा गरेको कडाइलगायत कारणहरूले पर्यटक आगमन पुनः ठप्प भएको थियो । २०२१ सेप्टेम्बर–अक्टोबरदेखि पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय सिजन सुरु भएकाले पर्यटक आगमन बढ्दै जाने बोर्डका निर्देशक लामिछानेले बताए । ‘महामारीको सन्त्रास पनि कम हुँदै गइरहेको छ, विश्वभरिबाट घुमफिरमा निस्कने पर्यटक पनि बढ्न थालेका छन् ।’
कुन मुलुकबाट कति ?
फेब्रुअरी २०२२ मा नेपाल भित्रिएका कुल पर्यटकमध्ये सात हजार दुई सय ६२ पर्यटक सार्क मुलुकबाट आएका छन्, यो कुल संख्याको ३६.७४ प्रतिशत हुन आउँछ । अन्य एसियाली मुलुकबाट नौ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, युरोपका १६ मुलुकबाट चार हजार आठ सय १३ पर्यटक आएका छन् भने अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार ७३ तथा क्यानडा र अमेरिकाबाट दुई हजार ५१ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।
फेब्रुअरीमा सबैभन्दा बढी पर्यटक आउनेमा भारत पहिलो र अमेरिका दोस्रोमा रहेका छन् । भारतबाट पाँच हजार नौ सय ९८ पर्यटक आउँदा अमेरिकाबाट तीन हजार एक सय ९५ पर्यटक आएका छन् । यस्तै, युकेबाट दुई हजार दुई सय १७, अस्ट्रेलियाबाट एक हजार ५२, बंगलादेशबाट आठ सय ८८, जर्मनीबाट ६ सय ४२ आएको बोर्डको तथ्यांक छ ।