गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् । चालु वर्ष हालसम्म आत्महत्या गर्नेको संख्या ३५ रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । यी मध्ये पुरुष २० जना छन् भने महिला १० जना र बालिका पाँच जना छन् ।
चालु वर्षको साउन देखि फागुन १२ गते सम्म १८ देखि २५ वर्षका ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांक छ । ३६ देखि ४५ वर्ष उमेरका सात जना छन् भने १८ वर्ष मुनिका पाँच जना छन् । बालवालिकामा पनि आत्महत्याको दर बढ्दो छ । बुधबार गोरखा नगरपालिका ३ मा १३ वर्षीया बालिकाले आत्महत्या गरिन् । यस्तै घटना गत वर्ष गोरखामा पाँचवटा भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा १८ वर्ष मुनिका नौ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सबैभन्दा धेरै आत्महत्या गोरखा नगरपालिका भित्र ११ जनाले गरेका छन् भने पालुङटार नगरपालिकामा सात जना, भिमसेन थापा गाउँपालिकामा सात जना, सिरानचोमा चार जना, बारपाक सुलिकोट, आरुघाट र अजिरकोटमा दुई÷दुई जनाले आत्महत्या गरेका उनले बताए ।
गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा भने आर्थिक वर्ष २०७५/७६ यता आत्महत्याको कुनै घटना प्रहरीकहाँ दर्ता भएको छैन । गत वर्ष चुमनुब्री बाहेक सबै पालिकामा आत्महत्याको घटना घटेको थियो । २०७७/७८ मा पालुङटार नगरपालिका क्षेत्र भित्र २२ जनाले अत्महत्या गरेको प्रहरीले जनाएको छ । ४६ वर्षदेखि माथिका १० जना र २६ देखि ३५ वर्षका दुई जना रहेका छन् । गत वर्ष ७९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यी मध्ये ४५ जना पुरुष थिए । २०७६/७७ मा पनि यो संख्या ७३ थियो भने पुरुषको संख्या ३५ थियो ।
आत्महत्याको मूख्य कारण गरिबी, कमजोर आर्थिक स्तर र मानसिक विचलन धेरै देखिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी बताउँछन् । ‘चाहना पुरा नभए, पढाईको असफलता, साथीभाईको देखासिखी अनुसार आफुलाई तुलना गर्ने गरेर, बयस्क उमेरको बिभिन्न नाता संम्बन्धलाई लिएर आत्महत्या तर्फ प्रेरित भएकाहरु देखिन्छन्’ प्रहरी निरीक्षक अधिकारीले भने।
यसलाई न्यूनिकरण गर्न प्रहरीले गर्दै आएको चेतनामुलक कार्यक्रम कोभिडका कारण संचालन हुन सकेको छैन । विद्यालय, क्याम्पस र समुदायमा पुगेर प्रहरीले चेतनामुलक कार्यक्रम गर्दै आएको थियो । ‘कुन स्थानीय तहमा धेरै घटना भएको छ र कुन समुदायमा भएको छ त्यो हेरेर नियन्त्रण गर्ने कार्यक्रम चलाउनुपर्छ’ प्रहरी निरीक्षक अधिकारीले भने ‘सबैको सहयोग बिना प्रहरी एक्लैले यो निरुत्साहीत गर्ने खालका कार्यक्रम चलाउन सक्दैन ।’ आत्महत्या रोक्न सचेतना र आबेग नियन्त्रण, काउन्सिलिङ नै पहिलो उपचार रहेको उनी बताउँछन् ।