पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने बताइरहँदा रुसले भने त्यसको खण्डन गर्दै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको दाबी गर्दै आएको थियो । तर, समस्या समाधानका लागि कूटनीतिक रूपमा भएका सबै प्रयास असफल भए । पश्चिमा राष्ट्रहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएपछि रुसले बिहीबार बिहान युक्रेनमाथि आक्रमण थालेको छ ।
युक्रेनका परराष्ट्रमन्त्री दिमित्री कुलेबाले पुर्वी युक्रेनमा मात्र नभएर चारैतिरबाट रुसले आक्रमण गर्न सुरु गरेको बताएका छन् । उनले रुससँग युक्रेन नडराउने र युक्रेनका नागरिकले ‘युक्रेनको भूमिमा उभिएर देशको रक्षा गर्ने’ बताएका छन् । युक्रेनमाथिको आक्रमणलाई रुसले युद्ध नभई ‘विशेष सैन्य कारबाही’ भएको प्रतिक्रिया दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा ‘मार्सल ल’ जारी गर्दै १८ वर्षभन्दा माथिका नागरिकलाई रुसी सेनाविरुद्ध उत्रन अपिल गरेका छन् । देशका लागि लड्न चाहनेहरूलाई हतियार प्रदान गरिने पनि जेलेन्स्कीले बताएका छन् ।
युक्रेनले संयुक्त राष्ट्रसंघसमक्ष जतिसक्दो छिटो युद्ध रोक्नका आग्रह पनि गरेको छ । रुसी सेनाले बेलारुसको भूमिबाट पनि युक्रेनमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । तर, त्यसलाई बेलारुसका नेता अलेक्जेन्डर लुकासन्कोले खण्डन गरेका छन् । ‘यस कारबाहीमा बेलारुसको सेना सहभागी भएको छैन,’ रुसको मित्र राष्ट्र बेलारुसका नेता लुकासन्कोले भनेका छन् ।
यस आक्रमणलाई लिएर अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले भने रुसले युक्रेनमाथि आक्रमण गर्नुको ‘मूल्य चुकाउनुपर्ने’ बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणलाई ‘अनुचित र निराधार’ भएको बताएका छन् । ‘यस आक्रमणका कारण हुने मानवीय क्षति र विनासका लागि रुस मात्र जिम्मेवार हुनेछ । अमेरिका र यसका सहयोगी तथा साझेदारहरूले एकीकृत रूपमा निर्णायक जवाफ दिनेछौँ। विश्वले रुसलाई जवाफदेही गराउनेछ,’ बाइडेनले जारी गरेको वक्तव्यमा भनिएको छ ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले ‘कुनै पनि तवरबाट न्यायोचित नहुने गरी अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन’ भएको प्रतिक्रिया दिएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ‘एक्काइसौँ शताब्दीकै सबैभन्दा खराब युद्ध हुन सक्ने’ र त्यसको प्रभाव युक्रेन र रुसमा मात्र नभई सारा विश्वलाई पर्ने बताएका छन् । उनले रुसी राष्ट्रपति पुटिनलाई सेना फिर्ता गर्न पनि आग्रह गरेका छन् ।
युरोपेली युनियनले रुसको आक्रमण निराधार र अनुचित भएको बताएको छ । इयुकी अधिकारी उर्सुला भोन डेर लेयनले रसियाले आक्रमणको जिम्मेवारी लिनुपर्ने बताएकी छिन् । ‘युक्रेनका निर्दोष महिला पुरुष तथा बालबालिकाले यस्तो अनुचित घटना भोग्नुपरेको यो कहालीलाग्दो समयमा हामी युक्रेनको पक्षमा छौँ,’ लेयनले भनेकी छिन् ।
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रसियाले सार्वभौम र स्वतन्त्र राष्ट्रविरुद्ध आक्रमणको बाटो रोजेको बताउँदै भनेका छन्, ‘यो आक्रमणले अनगिन्ती नागरिकको ज्यान जोखिममा पारेको छ । यो अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन तथा युरो–एटलान्टिक सुरक्षाको लागि गम्भीर खतरा हो ।’
चीनले भने रुसको कदमलाई ‘आक्रमण’ भन्न अस्वीकार गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यङले पत्रकारहरूले पश्चिमा मिडियाले प्रयोग गरे जसरी ‘आक्रमण’ शब्द प्रयोग गरेर प्रश्न गरेको बताउँदै भने, चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ । स्थिति नियन्त्रणबाहिर हुन नदिन हामी सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्छौँ ।’
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोप महादेशका लागि ‘महाविपत्ति’ भएको प्रतिक्रिया दिएका छन् ।
फिनल्याडले युक्रेनी शरणार्थीहरूलाई आश्रय दिने बताएको छ । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन र राष्ट्रपति साउली निनित्सोले रसियाको आक्रमणको घोर निन्दा गरेका छन् । राष्ट्रपति निनित्सोले भनेका छन्, ‘विनाकुनै चेतावनी आजको बिहानले हामी सबैलाई झड्का दिएको छ । युक्रेनी जनताप्रति सहानुभूति ।’
टर्कीका राष्ट्रपति रेकेप तइप एर्दोगनले रसियाको आक्रमणलाई ‘शान्तिप्रति ठूलो झड्का’ भनेका छन् । ‘यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ । यसले यस क्षेत्रको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको छ,’ एर्दोगनले भनेका छन् ।
राष्ट्रपति पुटिनका कटु आलोचक मानिने एलेक्सी नाभाल्नीले रुसी आक्रमणको विरोध गरेका छन् ।
रुसको एक अदालतमा बयान दिने क्रममा नाभाल्नीले रुसका समस्याहरूबाट नागरिकलाई भड्काउन युक्रेनमाथि आक्रमण गरेको बताएका छन् । ‘युक्रेनसँगको युद्ध रुसी नागरिकमाथि गरिएको ठगी र अत्याचार ढाकछोप गर्न साथै अर्थतन्त्रको पतनजस्ता देशका आन्तरिक समस्याहरूबाट नागरिकको ध्यान हटाउनका लागि सुरु गरिएको हो,’ नाभाल्नीले भनेका छन्, ‘म यो युद्धको विरुद्धमा छु ।’
इरानले युक्रेनमाथि रुसले आक्रमण गर्नुमा नेटो जिम्मेवार भएको प्रतिक्रिया दिएको छ । इरानका परराष्ट्रमन्त्री होसेन अमिराब्दोल्लाहले युद्ध समस्याको समाधान नभएको बताउँदै भनेका छन्, ‘यसको राजनीतिक र कूटनीतिक रूपमा यसको समाधान गर्नुपर्छ ।’
सन् १९९१ मा सोभियत संघको विघटनसँगै युक्रेन स्वतन्त्र भएको थियो । स्वतन्त्र भइसकेपछि युक्रेन पश्चिमा देशहरूसँग नजिक हुन पुगेको थियो । त्यसैका आधारमा उत्तर एटलान्टिक सन्धि संगठनको सदस्यता लिने युक्रेनको योजना छ । युक्रेनले नेटोको सदस्यता लिनुलाई रसियाले आफ्ना लागि सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
सो आक्रमणबाट भएको क्षतिबारे प्रस्ट रूपमा बाहिर आइसकेको छैन ।
(एजेन्सीकाे सहयाेगमा)