मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १२ बिहीबार o९:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा ५९८ मेगावाट विद्युत् ग्रिडमा जोडियो, एक लाख १२ हजार ग्राहक थपिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार o९:oo:oo

पछिल्लो ६ महिनामा एक लाख १२ हजार सात सय ८६ विद्युत् खपत गर्ने ग्राहकहरू थपिएका छन् । यससँगै विद्युत् खपत गर्ने ग्राहकको संख्या ४६ लाख ४२ हजार सात सय ८६ पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्ष ०७७/७८ (असार)सम्म कुल विद्युत् खपत गर्ने ग्राहकको संख्या ४५ लाख ३० हजार रहेको थियो । समग्रमा अहिलेसम्म कुल ९० प्रतिशत जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको प्राधिकरणको भनाइ छ । 

 पाँच सय ९८ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडियो 
पछिल्लो ६ महिनामा देशमा पाँच सय ९८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ । त्यसरी ग्रिडमा जोडिने आयोजनाका संख्या ११ वटा रहेका छन् । त्यसमध्ये सबैभन्दा ठूलो माथिल्लो तामाकोसी चार सय ५६ मेगावाट रहेको छ भने सबैभन्दा सानो अपि पावर र छ्याङ्दी जलविद्युत् आयोजना रहेका छन् । यी आयोजनाको क्षमता चार मेगावाट रहेको छ । 

त्यसबाहेक सिंगटी हाइड्रोपावर २५ मेगावाट, रिचेत जलविद्युत् ४ दशमलव ९८ मेगावाट, सामलिङ पावर कम्पनी ९ दशमलव ५१ मेगावाट, मनाङ ट्रेड लिंक २० मेगावाट रहेका छन् । त्यस्तै, सोलार फार्म पाँच मेगावाट, एसियन हाइड्रोपावर ६ दशमलव २ मेगावाट, ग्रिन भेन्चर ५२ दशमलव ४ मेगावाट र युनिभर्सल पावर ११ मेगावाटको निर्माण कार्य सम्पन्न भई प्रणालीमा जोडिएका छन् । 
 
 तीन सय ५२ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा 
नेपाल विद्युत् प्राधिकरणले माघसम्ममा तीन सय ५२ दशमलव पाँच किलोमिटर तार जडान गर्ने काम सम्पन्न गरेको छ । यो अवधिमा सम्पन्न भएका आयोजनमध्ये सबैभन्दा लामो कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइन एक सय पाँच किलोमिटर रहेको छ । यो प्रसारण लाइन २ भदौदेखि ३३ केभीमा चार्ज भई सञ्चालनमा आएको हो । त्यस्तै, बर्दघाट सर्दी एक सय ३२ केभी प्रसारण लाइन (४० सर्किट किलोमिटर)को निर्माण कार्य सम्पन्न भई २८ मंसिरदेखि सञ्चालनमा आएको हो । 

सोलु करिडोरको ८९ दशमलव ५ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण कार्य ९ पुसमा सम्पन्न भइसकेको छ । त्यस्तै, नयाँ मोदी लाहाचोक दुई सय २० केभी प्रसारण लाइन (४२ सर्किट किलोमिटर)को निर्माण कार्य सम्पन्न भइसकेको छ । यसको सञ्चालन २१ पुसदेखि थालिएको हो । यस्तै, मोतीपुर सन्धिखर्क एक सय ३२ केभी प्रसारण लाइन (७६ सर्किट किलोमिटर)को निर्माण कार्य सम्पन्न भई चार्ज हुने क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ । 

 दुई सय ९६ एमभिए क्षमताका सबस्टेसन चार्ज भई सञ्चालन 
नेपाल विद्युत् प्राधिकरणले ६ महिनाको अवधिमा दुई सय ९६ एमभिए क्षमताका सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको छ । त्यसरी सञ्चालनमा ल्याएको सबस्टेसनमा नयाँ बुटबल २२०/१३२ केभी (१०० एमभिए) सबस्टेसनको निर्माण कार्य सम्पन्न गरी २२ असोजदेखि सञ्चालनमा ल्याएको छ । त्यस्तै, लाहाचोक १३२/३३ केभी (३० एमभिए) सबस्टेसनको निर्माण कार्य सम्पन्न गरी २२ असोजदेखि सञ्चालनमा ल्याएको छ । नवलपुर १३२ केभी (७९ एमभिए) सबस्टेसन २ कात्तिकदेखि सञ्चालनमा ल्याएको छ भने नयाँ मोदी एक सय ३२ केभी स्विचिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न गरी ६ कात्तिकदेखि सञ्चालनमा ल्याएको हो । यसबाहेक मोतीपुर १३२/३३ केभी (३० एमभिए) सबस्टेसन निर्माण कार्य सम्पन्न भई ११ पुसदेखि र मोतीपुर ३३/११ केभी (१६ एमभिए) सबस्टेसन ११ पुसदेखि सञ्चालनमा आएको हो ।