उपराष्ट्रपति नन्दबहादुर पुनले एमसिसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु उचित हुने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसिसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखेका हुन्।
उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए। राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्द्वकाे खतरा हुने उनले उल्ल्लेख गरे।
‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा छलफल र मतभिन्नताहरू प्रकट भइरहेका छन्। दुरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ। राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुन सक्ने खतरा हुन्छ। र, यसले देशलाई राम्रो गर्दैन। यसमा हामीले विगतबाट पाठहरू पनि सिक्न सक्नुपर्दछ। म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उपराष्ट्रपति पुनले भने।