गौशाला नगरपालिका– १२ को एघार नम्बर गाउँनजिकै सागरनाथ वन परियोजनाअन्तर्गतको लक्ष्मीनिया वनमा गत बुधबार एक महिलाको शव फेला परेको थियो । उनको आफ्नै श्रीमान्ले हत्या गरी फालेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलनमार्फतन हत्यामा संलग्न तीनमध्ये दुईजना आरोपी सार्वजनिक गरेको छ । प्रहरीले राधा भन्ने अफसानाको हत्या आरोपमा उनका दोस्रो श्रीमान् ३७ वर्षीय भारतको सीतामढी ग्राम पञ्चायत भासर मघहा–७ अनारवन गाउँका अजय महतो कोइरी र सर्लाही मलंगवा–३ का ३४ वर्षीय प्रमोद राउतलाई सार्वजनिक गरेको हो । महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले हत्यामा तीनजना संलग्न रहेकोमा एकजना अझै फरार भएको बताए । उनले ती व्यक्तिसमेत पहिचानमा आइसकेकाले चाँडै पक्राउ पर्ने बताए । प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ ।
यसरी भयो महिलाको हत्या
भारतको उत्तर प्रदेशमा पहिलो विवाह भएकी २८ वर्षीया राधा भन्ने अफसाना खातुनको पहिलो श्रीमान्बाट दुई छोरा छन् । पहिलो श्रीमान्सँग विवाद भएपछि सीतामढीस्थित भैरवकोठी माइती बस्दै आएकी अफसानाको सीतामढी भासर मघहा–७ का अजय महतो कोइरीसँग प्रेम बस्यो । पछि दुवैले विवाह गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । मृतक महिला मुस्लिम र अजय हिन्दू भएकाले उनीहरूलाई गाउँसमाजले स्वीकार गरेन । समाजले दण्ड–जरिवाना तिराएपछि उनीहरू नौ महिनादेखि सर्लाहीको मलंगवामा बस्दै आएका थिए । गर्भवती रहेकी अफसानाले कोर्ट म्यारिज गर्न, अंश र अधिकार माग गर्न थालेपछि राज मिस्त्री काम गर्दै आएका घरधनी प्रमोद राउतको सल्लाहमा अफसानाको हत्या गरेको अजयले प्रहरीलाई बयान दिएका छन् ।
हत्याको योजनाअनुरूप मेला घुम्न प्रस्ताव गरी अजयले सर्लाहीको मलंगवाबाट १६ सय रुपैयाँमा टेम्पो भाडामा लिई अफसाना र उनका चार र डेढ वर्षीय दुई छोरा लिएर गएका थिए । मोटरसाइकलमा आएका प्रमोद राउतले दुईजना बच्चालाई हेरेर बसे । उता अजय र फरार आरोपीले अफसानालाई जंगलमा लगी घाँटीमा गम्छाले कसेर हत्या गरे । गम्छाले बेरेर, कन्चट, मुख र छातीमा थिची हत्या गरेको अजयले प्रहरीलाई बयान दिएका छन् । प्रमोद भने दुईजना बच्चालाई मोटरसाइकलमा राखेर दिलबहादुर योन्जनको पसलमा छाडेर भागेका थिए ।