चालू शैक्षिक सत्रको विद्यालय तहको पढाइ चैत मसान्तसम्म नै सञ्चालन गर्ने र ०७९ वैशाखमा मात्रै परीक्षा हुने भएको छ । शिक्षा मन्त्रालयले औपचारिक निर्णय गर्न बाँकी रहे पनि यस्तो शैक्षिक कार्यतालिकाको तयारी गरेको छ ।शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आइतबार गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैत मसान्तसम्म विद्यालयमा पठनपाठन गर्ने र वैशाखमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम गर्न उपयुक्त हुने देखिएको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्– चैत मसान्तसम्म पढाइ सञ्चालन गर्ने, वैशाखमा परीक्षा लिने र नतिजा प्रकाशन गर्नुपर्ने देखिएको छ । वैशाखमा स्थानीय तहको चुनावसमेत भएकाले अर्को शैक्षिक सत्रको पठनपाठन जेठबाट मात्रै सुरु हुने सम्भावना छ ।
एक महिनापछि विद्यालयमै पढाइ
विद्यालयहरूले एक महिनापछि आइतबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु गरेका छन् । ओमिक्रोनले कोरोना संक्रमण बढेसँगै २६ पुसदेखि भौतिक उपस्थितिमा पढाइ बन्द गरिएको थियो । स्वास्थ्य जोखिम बढेपछि सरकारले १५ माघसम्मका लागि विद्यालय बिदा गर्ने निर्णय गरेको थियो । केही पालिकाले भने सिसिएमसिसीको निर्णयअघि नै विद्यालय सञ्चालनको निर्णय गरेका थिए ।
१२ वर्षमाथिका विद्यार्थीले खोप लगाइसकेकाले भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन हुने र १२ वर्षभन्दा कम उमेरका विद्यार्थीले खोप नलगाएकाले आलोपालो सञ्चालन हुँदै छ । विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भने आलोपालो गर्नुपर्ने अवस्था छैन ।