चारदेशीय टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पेभेलियन फर्किनुअघि ३३ बलमा पाँच चौका प्रहार गरे । यसैगरी, ओपनर आसिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । पहिलो विकेटका लागि आसिफले ज्ञानेन्द्रसँग ६ ओभरमा ५३ रनको साझेदारी गर्दै सुरुवात राम्रो बनाए पनि नेपालले त्यही लयलाई अन्तिमसम्म निरन्तरता दिन सकेन ।
ज्ञानेन्द्रले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । यसबाहेक, राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोकेश बम ३३ रन बनाई आउट हुँदा शरद भेषवाकर १० रनमा अविजित रहे । लोकेशले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । युएईका कासिफ दाउद र रोहन मुस्तफाले दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
यसबाहेक युएईका मुहम्मद वसिमले २२ र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए । यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको यो पहिलो खेल हो । नेपालले सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।