सहिद स्मारक ए डिभजिन लिगको दशौँ चरणको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज क्लबमाथि ५–२ को सानदार जित निकालेको छ । लिगको नवौँ चरणसम्म जितविहीन रहेको फ्रेन्ड्सले शुक्रबार दशरथ रंगशालामा स्पष्ट तीन अंक बटुल्दै रेलिगेसन क्षेत्र छाडेको छ । हारपछि ब्रिगेड भने रेलिगेसन जोनमा परेको छ । फ्रेन्ड्स ६ अंकका साथ १२औँ स्थानमा पुगेको छ । फ्रेन्ड्सले दुई स्थान सुधार गरेको हो ।
नवौँ चरणसम्म पनि लिगको पुछार (१४) औँ स्थानमा फ्रेन्ड्स रहेको थियो । च्यासल क्लब भने पाँच अंकका साथ १४औँ स्थानमा झरेको छ । ब्रिगेडको पनि ६ अंक नै छ । फ्रेन्ड्ससँग समान अंक भए पनि गोलअन्तरमा ब्रिगेड १३औँ स्थानमा सीमित भएको हो । फ्रेन्ड्सको सानदार जितमा जमोल एन्थोनी पउल र सुशील शाहले समान दुई गोल गरेका थिए । श्यामबाबुले फ्रेन्ड्सका लागि थप एक गोल गरे ।
दशौँ चरणअन्तर्गत शुक्रबार दोस्रो खेलमा साविक उपविजेता त्रिभुवन आर्मी हारबाट जोगिएको छ । खेलको अन्तिम इन्जुरी समयमा सुमन अर्यालले गोल गरेपछि आर्मीले जावलाखेल युथ क्लबलाई १–१ को बराबरीमा रोकेको हो । आर्मी १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ ।