१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रामकृष्ण ढकाल
२o८१ बैशाख २२ शनिबार १५:३२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लता मंगेशकरलाई रुद्राक्ष उपहार दिएँ

Read Time : > 3 मिनेट
रामकृष्ण ढकाल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३२:oo

करिब ११ वर्षअघि लता मंगेशकरसित गायक रामकृष्ण ढकालले गीत रेकर्ड गराउने अवसर पाए। त्यतिवेला मुम्बईस्थित स्वरलता स्टुडियोमा ‘फूल भन्छ फुलिरहुँ...’ गीत रेकर्ड भयो।  यो गीत निकै चर्चित र सदावहार बन्यो। भारतीय चर्चित गायिका मंगेशकरको निधनपछि गायक ढकालले उनीसँग गीत गाउँदाका अनुभव र सम्झना यसरी साटेका छन् :   

उहाँसँग गीत गाउन मुम्बई जानुपूर्व मेरो आवाजमा डमी रेकर्ड गरेर सहयोगीमार्फत पठायौँ। उक्त गीत उहाँलाई मन परेछ। कसले गाएको भनेर सहयोगीलाई सोध्नुभएछ। गीत पठाउँदा मैले मेरो केही सिडी र आफ्नो बायोडाटा पनि पठाएको थिएँ। शब्द र लय मन परेपछि उहाँले गीतको अर्थ सोध्नुभयो। गीतको सबै अर्थ हामीले उहाँलाई बतायौँ। त्यसपछि एक दिन मलाई उहाँको सहयोगीले फोन गरे।  उनले फोन लता मंगेशकरलाई दिए। त्यतिवेला म गाडी चलाइरहेको थिएँ। लता मंगेशकरको अचानक फोन आएकोले के बोल्ने होला मेसो पाइनँ। म बोल्न नपाउँदै उहाँले फोनमा भन्नुभयो, ‘तपाईंले गाएर पठाउनुभएको गीत राम्रो छ, म त्यस्तो राम्ररी त गाउन सक्दिनँ होला, तर राम्रो गाउने कोसिस गर्छु।’ उहाँको कुरा सुन्दाबित्तिकै म अचम्मित भएँ। किनकि मसँग यति सजिलै कुरा गर्नुहुन्छ र मैले गाएको मन पराउनुहुन्छ होला भनेर सोचकै थिइनँ। 

तर, फलेको हाँगो झुकेको हुन्छ भन्ने व्यवहार उहाँले मलाई फोनबाट नै देखाउनुभयो। म निकै खुसी भएँ। कहिले भेटेर गीत गाउँझैँ लाग्यो। फोनमा त्यसरी कुराकानी हुँदा आफूलाई भाग्यशाली ठानेँ पनि। कैयौँ भारतीय कलाकारले उहाँसित गीत गाउने अवसर पाएका छैनन्, तर मैले त्यो मौका पाउनु चानचुने कुरा थिएन। त्यसपछि गीत रेकर्ड गराउन मुम्बई जाने निर्णय भयो हाम्रो। उहाँलाई भेट्न जाँदाको अघिल्लो दिन मलाई निद्रा नै लागेको थिएन, किनकि म धेरै नै खुसी थिएँ। मनमा एक किसिमको डर पनि थियो। कस्तो तयारी गरेर जाने होला ? उहाँसँग कसरी बोल्ने होला ? कसरी गाउने होला ? 

‘फूल भन्छ फुलिरहुँ...’ गीतका संगीतकार शिखर सन्तोष र म लता मंगेशकरले दिएको समयअनुसार मुम्बईतिर लाग्यौँ। उहाँले मुम्बईको स्वरलता स्टुडियोमै बोलाउनुभएको थियो। उक्त स्टुडियो उहाँकै हो। त्यहाँ जाँदा मैले लता मंगेशकरलाई पशुपतिनाथको फोटो र रुद्राक्षको माला लगिदिएको थिएँ। त्यो फोटो दिँदाबित्तिकै उहाँले ओहो ! पशुपतिनाथ भन्नुभयो। फोटो ढोग्नुभयो। उहाँलाई नेपालबारे धेरै थाहा रहेछ। पशुपतिनाथको दर्शन गर्ने इच्छा पनि उहाँले व्यक्त गर्नुभएको थियो त्यतिवेला। तर बाथको समस्याले उहाँ यात्रा गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। 
०००
हामी नेपालबाट जानुअघि नै लता मंगेशकरलाई भेटेकै दिन गीत गाउने योजनामा थियौँ। त्यो दिन केहीबेरको कुराकानीपछि हामी गीत रेकर्ड गर्न तर्फ लाग्यौँ। गीत रेकर्ड गर्ने क्रममा निकै रमाइलो भयो। उहाँले मेरो निकै तारिफ गर्नुभयो। स्वर मन पराएको प्रतिक्रिया दिनुभयो। उहाँजस्तो अन्तर्राष्ट्रिय छवि बनाएकी गायिकाले यसो भनिदिँदा म निकै नै प्रफुल्लित भएँ। 

दुई घन्टामा रेकर्ड 
दिउँसोको समयमा उक्त गीत रेकर्ड गर्न करिब दुई घन्टा लाग्यो। सुरुमा उहाँले गाउनुभयो त्यसपछि मैले गाएँ। गाउँदाखेरि म सपनामा छु कि विपनामा छु भनेर आफूलाई चिमोटेको थिएँ। किनभने मैले त्यहाँ लता मंगेशकरसँगै गीत गाइरहेको थिएँ। अरुबेलामा गीत रेकर्ड गर्दा सुर, गितार र आवाज बढाउन भन्नुपर्दथ्यो, तर लता मंगेशकरको त्यो भ्वाइस नै हरेक सुरका लागि काफी थियो। उहाँको स्वरभित्र सुर र ताल सबै मिलेको थियो। 

दुईपटक रेकर्ड गराएँ
मैले पहिलोचोटि गाएँ, तर मलाई आफूले गाएको चित्तै बुझेन। लता मंगेशकरको स्वरमा कुनै त्रुटि थिएन। मेरो स्वर अलि नमिलेको महसुस भएपछि मैले भोलिपल्टको फ्लाइट सारेरे गीत फेरि रेकर्ड गराएँ। त्यतिवेला मेरो स्वर अलि कमजोर होला भन्ने डर लागेको थियो। उहाँले धेरै पहिला माइतीघरमा पनि एउटा गीत गाउनुभएको थियो– ‘तिमीलाई शुभकामना...’। र, त्यसपछि महेन्द्र सरकारको पालामा एउटा गीत गाउनुभएको थियो– ‘आकाशैका तिर्मिरे तारा म गन्न सक्दिनँ...।’ त्यसकारणले पनि त्यतिवेला ‘फूल भन्छ फुलिरहुँ...।’ गीत गाउँदा त्यति अप्ठेरो महसुस गर्नुभएन। गीत गाउँदा उहाँले निकै नै स्पष्ट स्वरमा गाउनुभएको थियो। रेकर्ड गर्नेवेला उहाँले पहिले पनि नेपाली गीत गाएको अनुभव सुनाउनुभएको थियो 

त्यतिवेला रेकर्ड सकेर हामी नेपाल फर्किएपछि स्टुडियोमा पनि उहाँले मेरोबारेमा पनि केही तारिफ गर्नुभएको रहेछ। यो केटाले समयमै यहाँ आएर गाएको भए धेरै राम्रो गायक हुन्थ्यो भनेर भन्नुभएको रहेछ। शिखर सन्तोषको कम्पोजिसनबारे पनि उहाँले तारिफ गरेको कुरा मलाई रेकर्डिस्टले सुनाएका थिए। भारतीय सुपरस्टार गायिकासँगको गीत गाएको अनुभव निकै नै मिठो सम्झना बन्यो। मेरा लागि त्यो गीत रेकर्ड गर्नु जीवनको सार्थकता भेट्टाउनु झैँ हो। त्यो गीतपछि उहाँले कुनै नेपाली गीत गाउनुभएको छैन। 

उक्त गीत मंगेशकरलाई नै लक्षित गरेर बनाएका थियौँ
उक्त गीतको कम्पोज गर्दाखेरि नै मंगेशकरलाई गाउन दिने उद्देश्य थियो। शिखर सन्तोष र मैले सल्लाह गरेर उहाँलाई गाउन दिने गरी तयारी पनि गरेका थियौँ। गीतको शब्द, संगीत र लय पनि सदावहादर खोज्यौँ। गीतका शब्द र लय सबैलाई मनपर्ने किसिमका बनायौँ। यो गीत शुभकामनाजस्तो पनि छ। कमजोर किसिमको गीत भए उहाँले गाउनुहुन्थेन होला। सदावहार र निकै मिठो गीत भएरै उहाँले गाउने इच्छा गर्नुभएको थियो। उहाँलाई सुहाउने गरी शब्द, संगीत र लय बनाउने प्रयास गरेका थियौँ। 

त्यसपछि भेट भएन...
गीत रेकर्ड गराएपछि मेरो उहाँसँग भेट भएन। अप्रत्यक्ष रूपमा उहाँबारे सोध्ने र कुराकानीचाहिँ भएको छ। केही समयअघि मैले पशुपतिनाथमा गएर उहाँको लागि प्रार्थना पनि गरेको थिएँ। 

एकमुखे रुद्राक्ष पठाएँ
गीत रेकर्ड गर्न जाँदा पशुपतिनाथ र रुद्राक्षको माला लगिदिएका थियौँ। त्यतिवेला उहाँले एकमुखे रुद्राक्ष खोज्नुभएको थियो। नेपालमा नै एकमुखे रुद्राक्ष पाइने उहाँलाई थाहा रहेछ। पूजा गर्न उहाँले आफूलाई रुद्राक्ष चाहिएको बताउनुभएको थियो। मैले त्यतिवेला हुन्छ, म पठाइदिन्छु भनेको थिएँ। त्यो एकमुखे रुद्राक्ष निकै महत्वपूर्ण र महँगो पर्ने रहेछ। लता मंगेशकरले रुद्राक्ष माग गरेकोबारे मैले अन्तर्वार्ताहरूमा बोलेको थिएँ। 

त्यो सुनेर धेरै शुभचिन्तकले फोन गर्नुभयो। तपाईंले बोलिसकेपछि दिनुपर्छ भनेर धेरैले भनुभयो। रुद्राक्ष खोजी गर्ने क्रममा एकजना वरिष्ठ गीतकार सिन्धु रानाले त्यो रुद्राक्ष मंगेशकरलाई पुर्‍याइदिनुस् भन्दै मकहाँ ल्याइदिनुभयो। त्यो मैले लता मंगेशकरलाई पठाएँ। उहाँले रुद्राक्ष पाएपछि खबर पनि गर्नुभएको थियो। प्रसिद्ध गायिकालाई रुद्राक्ष पठाउन पाउँदा मलाई आत्मसन्तुष्टि मिलेको छ। 
शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित  

ad
ad