Skip This
लक्ष्मीनारायण मन्दिरमा बतास समूहको व्यापार, जिल्ला प्रशासनद्वारा छानबिन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २१ शुक्रबार १o:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लक्ष्मीनारायण मन्दिरमा बतास समूहको व्यापार, जिल्ला प्रशासनद्वारा छानबिन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १o:४६:oo

टंगालस्थित लक्ष्मीनारायण मन्दिरको जग्गा र घर बतास समूहलाई लिजमा दिएको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन थालेको छ । विनाप्रतिस्पर्धा घर र जग्गा लिजमा दिएर अनियमितता गरेको भन्दै स्थानीयले उजुरी दिएपछि प्रशासनले छानबिन थालेको हो । 

काठमाडौं महानगरपालिका– ५ का स्थानीयले जनप्रतिनिधिसमेतको सहभागितामा बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । प्रशासनले मन्दिर लिजसम्बन्धी निर्णयसहित सात दिनभित्र उपस्थित हुन बिहीबार नै लक्ष्मीनारायण देवस्थान सेवा समितिलाई पत्र काटेको छ । गत २३ पुसमा नयाँ पत्रिकामा प्रकाशित समाचारलाई आधार बनाई स्थानीयले उजुरी दिएका हुन् । उजुरी गर्नेमा वडाध्यक्ष रमेश डंगोल तथा सबै पार्टीका अगुवाहरू छन् । 

‘नयाँ पत्रिकाकै समाचारका आधारमा उजुरी दिएका हौँ,’ डंगोलले भने, ‘जिल्ला प्रशासनले यसमा छानबिन अघि बढाएको छ, संस्थाको उद्देश्यविपरीत र नियमविपरीत लिजमा जग्गा दिइएको विषयमा छानबिन अघि बढेको छ ।’ 

बतासले मन्दिरको २४ हजार स्क्वायर वर्गफिटको चारतले घर र पाँच रोपनी १० आना जग्गा ३५ वर्षका लागि ठाडो निर्णयका आधारमा लिजमा लिएको हो । राणा प्रधानमन्त्री भीमशमशेरको परिवारले मन्दिर स्थापनाका लागि दान गरेको सो जग्गामा हाल व्यापार गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । भीमशमशेरकी नातिनी बुहारी विद्यादेवी राणाले आफूहरूले कुल पूजा गर्ने लक्ष्मीनारायण मन्दिर त्यहाँ स्थापना गरी गुठीको नाममा जग्गा दान गरेकी थिइन् । 

२ साउन ०५८ मा लक्ष्मीनारायण देवस्थान समितिलाई गैरसरकारी संस्थाका रूपमा दर्ता गरी मन्दिर सञ्चालन हुँदै आएको छ । विद्यादेवीको मृत्युपछि सो मन्दिरमा व्यापारिक गतिविधि सुरु भएको हो । त्यसविरुद्ध आन्दोलित स्थानीयमध्ये एक रमेश घिमिरे भन्छन्, ‘सम्पदा भनेका पुर्खाले भावी सन्तानलाई छाडेका सम्पत्ति हुन्, त्यसमा व्यापार हुुनु गलत हो, त्यसको संरक्षणका लागि हामी वडावासी एकजुट भएर संघर्षमा लागेका छौँ ।’ 

८ फागुन ०७६ मा मन्दिर र बतास अर्गनाइजेसनबीच लिजसम्बन्धी सम्झौता भएको थियो । जसअनुसार प्रतिमहिना १२ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ३५ वर्षका लागि लिजमा दिइएको छ । मन्दिरले नै चन्दा उठाएर बनाएको भवनमा अहिले बतास समूहको कर्पाेरेट कार्यालय छ । खाली जग्गामा थप संरचना बनाएर उसले व्यापारको तयारी गरिरहेको छ । धार्मिक प्रयोजनका लागि दानबापत प्राप्त जग्गामा स्थापना भएको मन्दिरमा व्यापार गरेपछि वडा कार्यालयले थप संरचना बनाउन रोक लगाएको छ । लिजसम्बन्धी सम्झौतामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परमानन्द गिरी र बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले हस्ताक्षर गरेका छन् ।