मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Thursday, 19 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ माघ १६ आइतबार १२:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अझै खुलेन जग्गा कारोबारीहरूको हत्या रहस्य 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार १२:२७:oo

मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीभित्र खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको दुईजना जग्गा कारोबारीहरूको हत्याकाे रहस्य अझै पत्ता लाग्न सकेको छैन । १२ र १३ माघमा उखुबारीभित्र अलगअलग तीस मिटरको दूरीमा खाल्डो खनेर नुन हालेर झन्डै सात फुट गहिरो खाल्डोमा शव गाडेको अवस्थामा फेला परेका जग्गा कारोबारी धरान उपमहानगरपालिका- ३ का ४९ वर्षीय राजेन्द्रकुमार  श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका- ४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या रहस्य अझै पत्ता लाग्न नसकेको हो । 

घटना सुनियोजित भएको ठानेर प्रहरीले गम्भीरतासाथ सूक्ष्म अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । उनका अनुसार उखुबारीभित्र मृत फेला परेका श्रेष्ठ र चौधरी कारोबारमा साझेदार हुन् । श्रेष्ठ  भक्तपुरमा र चौधरी काठमाडौं क्षेत्रपाटीमा बस्दै आएका थिए । 

प्रहरीका अनुसार दुवैजनाको हत्या के कारणले भएको भन्ने अझै खुलिसकेको छैन । एसपी जिसीले भने, ‘कारोबारको शत्रुताले गर्दा हो कि पैसा लुट्नका लागि मात्रै हत्या भएको भन्ने अझै टुंगो लागिसकेको छैन, तर हामी दुवैजनाको नियोजित हत्या नै भएको हो भनेर गहन अनुसन्धान गरिरहेका छौँ ।’ उनका अनुसार दुवैजना जग्गा कारोबारको कारोबार मिलाउन भन्दै केही दिन अघि पूर्व आएका थिए । पूर्व आएको केही दिनदेखि दुवैजना एकैचोटि परिवारसँग सम्पर्कविहीन भएका थिए । 
कृषि मजदुरहरूले काम गर्ने क्रममा उखुबारीभित्र मान्छे गाडेकोजस्तो आलो खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले १२ माघमा उत्खनन गर्दा खाल्डोभित्र पहिले राजेन्द्र श्रेष्ठको शव फेला परेको थियो । लगत्तै तीस मिटर पर अर्को पनि उस्तै खाल्डो देखिएपछि प्रहरीले १३ माघमा उत्खनन गर्दा शम्भु चौधरीको शव फेला परेको थियो । 

शवसँगै भेटिएको ड्राइभिङ लाइसेन्स र परिचयपत्रले गर्दा श्रेष्ठको शव भोलिपल्टै परिवारले सनाखत गरेका थिए । चौधरीको शव भने चार दिनपछि लत्ताकपडा र शवको हुलियाका आाधारमा पहिचान भएको थियो । सो घटनाबारे मोरङ प्रहरी र प्रदेश १ प्रहरीको विशेष अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।